महिनावारीलाई विभेद होइन्, सृष्टिकर्ताको रुपमा सम्मान गर्नुपर्छ

महिनावारीलाई विभेद होइन्, सृष्टिकर्ताको रुपमा सम्मान गर्नुपर्छ

सुर्खेत : महिनावारी बार्ने चलन अर्थात महिनावारी विभेद समाजमा जरो गाडेर बसेको छ । महिनावारी विभेदले महिलाको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । महिनावारी भएको अवधिमा महिलालाई बहिष्कृत गर्ने, छाउगोठ, गाई भैसीँ बाँध्ने गोठमा राख्ने, विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गरेको घटनाहरु थुप्रै छन् ।

यो मानव अधिकारको उल्लंघन हो । संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु¥याइरहेको देखिन्छ । महिनावारी विभेद अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायहरुबाट थुप्रै प्रयासहरु समेत भएका छन् । सरकारले कर्णाली, सुदुरपश्चिम लगाएतका क्षेत्रमा केहि वर्षअघि छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । यद्धपी व्यवहारिक रुपमै अन्त्य भने हुन सकेको छैन् । सोच परिवर्तन अर्थात मनको छाउगोठ नभत्काएसम्म छाउगोठ मात्रै भत्काएर महिनावारी विभेद अन्त्य हुने देखिदैन् ।

ज्वाला सन्देश डटकम अनलाइनमार्फत महिनावारी बार्ने चलन अर्थात महिनावारी विभेद व्यवहारिक रुपमै अन्त्य गर्नका लागि सचेतना फैलाउने उदेश्यसहित सानो प्रयास स्वरुप साप्ताहिक स्तम्भ ‘कुरा महिनावारीका’ सुरु गरेका छौ । यस स्तम्भ अन्तरगर्त चौधौँ श्रृंखलामा कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगर्त पर्यटन विकास शाखामा कार्यरत देव कुमारी शाहीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, शाहीसँग ज्वाला सन्देश अनलाइनका सुर्खेत प्रतिनीधि जितेन्द्र थापाले गरेको कुराकानीको अंश :

महिनावारी के हो ?

मेरो बुझाईमा महिनावारी निरन्तर चल्ने प्रक्रिया हो ।

तपाईको पहिलो महिनावारी कस्तो थियो, भोगाई कस्तो रह्यो ?

म गाउँमै जन्मेको हो । म १६ वर्षको उमेरमा पहिलो महिनावारी भएको हुँ । पहिलो महिनावारी पनि विभेदमै बित्यो । घरबाट टाढा नै बस्नुपर्ने हुन्थ्यो । आफ्नो घरमा नभएर अरुले नै बनाएको अलि टाढाको छाउगोठमा बस्नुपर्ने हुन्थ्यो । दुध दही, मही लगायतका खानेकुरा खान पाइन्थेन । खायो भने अनिष्ठ हुन्छ । भैँसीले दुध दिदैन । देउता रिसाउँछन् भन्ने हुन्थ्यो । गाउँघरको पृतिसत्तात्मक सोच र जति परिर्वतन गरौँ भन्दा पनि परिर्वतन हुँदैन । त्यस्का कारण पनि पहिलो पटक महिनावारी हुँदा अप्ठेरो महसुस भएको थियो ।

महिनावारी बार्ने चलन पहिलेको अवस्था र अहिलेको अवस्था कस्तो पाउनुभयो ?

महिनावारी हुँदा पहिले र अहिलेको अवस्थामा धेरै बद्लाब आएको छ । पहिले महिनावारी हुँदा महिनावारी भएको अनुहार हेर्न हुँदैन भन्ने थियो । अहिले त्यो परिर्वतन भएको छ । महिनावारी हुँदा प्याड समेत प्रयोग गर्न हुँदैन भन्ने सोच हुन्थ्यो । त्यो परिर्वतन भएको छ । सबैले लगायत मैले पनि प्याड प्रयोग गर्ने गर्छु । पहिले खानपिनमा पनि धेरै कुराहरु बार्ने चलन थियो अहिले खानेकुरा बार्ने हुँदैन । केही ठाउँहरुमा भएता भनि अहिले प्राय जसोले दुध दही लगायतका पोषिलो खानेकुरा खानुहुन्छ र म पनि खाने गर्दछु ।
ग्रामिण भेगहरुमा परिर्वतन हुन सकेको छैन् । दुध दही खान नदिए पनि अन्य पोषिलो खानेकुरा खान दिने चलन छ । महिनावारी भएकाहरुलाई विशेष हेरचाह गर्ने चलन छ । पहिलेको भन्दा अहिले धेरै परिर्वतन भएको छ । समाजमा जरा गाडेर बसेको महिनावारी विभेद अन्त्यको लागि सबैले आआफ्नो तहबाट पहल गर्न आवश्यक देखिन्छ । महिनावारी भनेको एउटा निरन्तर चल्ने प्रक्रिया भएकाले यस्लाई विभेदको रुपमा नहेरेर एउटा सृष्टिकर्ताको उदय भएको रुपमा लिनुपर्छ ।

तपाईले महिनावारी हुँदा कस्ता खानेकुरा खानुहुन्छ नी ?

म महिनावारी हुँदा पोषिलो आइरनयुक्त खानेकुरा खाने गर्छु । जस्ले गर्दा म स्वस्थ छु । पोषिलो खानेकुराले गर्दा मलाई कुनै समस्या छैन ।

मर्यादित महिनावारी बनाउन के गर्नुपर्ला ?

महिनावारीलाई मर्यादित बनाउन पहिले आफ्नो सोच परिवर्तन गर्नुपर्छ र पहिले म बाट सोच परिर्वतन गर्नुुपर्छ । गाउँघरमा अझै पनि जनचेतना पुगेको छैन । महिनावारी बारे राम्रोसँग सुझाईबुझाई गर्नुपर्छ । ग्रामिण भेगहरुमा चेतना स्तर बढाउनुपर्छ । सरकारले छाउगोठ भत्काएर हुँदैन । पहिले ग्रामिण स्तरका नागरिकलाई जनचेतना फैलाउनुपर्छ । अनि मात्र छाउगोठ आफै भत्किएर जान्छ । नत्र छाउगोठ भत्काए पनि पुन जरा हालेर माथि उठ्छ उम्रिन्छ ।

के तपाई छाउगोठ बस्नुहुन्छ ? अनि छाउगोठ पस्नैपर्छ ?

छाउगोठ बस्नु गलत हो । म छाउगोठ बस्दैन । र महिनावारी विभेद पनि गर्दैन् । छाउगोठ बस्नु हुँदैन । आफैमा हामी नेतृत्वदायी र शिक्षित वर्ग भन्नेहरुले नै महिनावारी विभेद गरे अरुले के सिक्छन् ? त्यसैले पनि हामीले महिनावारी विभेद गर्नु हुँदैन । जबसम्म ग्रामिण भेगका नागरिकहरुमा चेतना स्तर माथि उठ्दैन । यसको सबै जराहरु उप्किन सक्दैनन् । तर बिस्तारै उप्किन्छन् । महिनावारी विभेदका जराहरु नउप्किउन्जेल सुरक्षित तरिकारले घरको सुरक्षित कोठामा सफा भएर बस्नुपर्छ । चेतनास्तर उठेसँगै छाउगोठ र छाउपडिको जरा आफै हराएर जान्छ ।

 

प्रतिक्रिया