शैक्षिक सुधारका लागि विद्यालय अनुगमन

शैक्षिक सुधारका लागि विद्यालय अनुगमन

रूकुम पश्चिम : जिल्लाको मुसीकोट नगरपालिकाले विद्यालय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय अनुगमनलाई निरन्तरता दिएको छ । सोमबार देखि अनुगमन सुरु गरेको मुसीकोट नगरपालिका सामाजिक विकास समितिले विद्यालय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अनुगमनलाई निरन्तरता दिएको हो । समितिले आज नगरपालिकाको २ वटा वडाका ३ सामुदायिक विद्यालयमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा वडा नम्बर ८ मा रहेको चेतना आधारभुत विद्यालय लसुनवारि विद्यालय खुल्ला हुने समयमा पनि बन्द भेटिएको मुसीकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक एक्क बहादुर पाण्डेले बताए । उनका अनुसार वडा नम्बर ८ को आधारभुत विद्यालय घोरखानी, चेतना आधारभुत विद्यालय लसुनवारि र ७ नम्बर वडाको जनप्रिय माद्यमिक विद्यालय साँखमा अनुगमन गरिएको छ ।

अनुगमन गरेका वडा नम्बर ८ का २ विद्यालय आधारभुत विद्यालय घोरखानी र चेतना आधारभुत विद्यालय लसुनबारीमा बृहत रुपमा शैक्षिक सुधार गर्नुपर्ने अवस्था देखिएको छ । ७ नम्बर वडाको साँखमा रहेको जनप्रिय माद्यमिक विद्यालयमा शैक्षिक अवस्था राम्रो तर भौतिक संरचनाको अभाव रहेको पाइएको संयोजक पाण्डेले बताए ।

अनुगमन गरिएका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिती, शिक्षकहरुको उपस्थिति, आवस्यक भौतिक संरचना निर्माण लगाएतका विषयमा पनि अनुगमन गरिएको सामाजिक विकास समितिका सदस्य समिरजङ मल्लले बताए ।
शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मुसीकोट नगरपालिकाका १४ वटै वडामा रहेका सामुदायिक विद्यालयहरुमा अनुगमन गर्ने र देखिएका समस्या, सुधार गर्नुपर्ने कुराहरूको प्रतिवेदन तयार गरि नगरमा पेश गर्ने सदस्य मल्लले जानकारी दिए ।

प्रतिक्रिया