महिनावारीको रगत अपवित्र हुँदैन्, छाउ बार्नु गलत हो

महिनावारीको रगत अपवित्र हुँदैन्, छाउ बार्नु गलत हो

दैलेख : महिनावारी बार्ने अर्थात छाउपडी प्रथा समाजमा जरो गाडेर बसेको छ । महिनावारी बार्ने चलन अर्थात ‘छाउपडी प्रथा’ ले महिलाको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । महिनावारी भएको अवधिमा महिलालाई बहिष्कृत गर्ने, छाउगोठ, गाई भैसीँ बाँध्ने गोठमा राख्ने, विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गरेको घटनाहरु थुप्रै छन् । यो मानव अधिकारको उल्लंघन हो ।

संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु¥याइरहेको देखिन्छ । ‘छाउपडी प्रथा’ अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायहरुबाट थुप्रै प्रयासहरु समेत भएका छन् । सरकारले केहि वर्षअघि छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । यद्धपी व्यवहारिक रुपमै अन्त्य भने हुन सकेको छैन् । सोच परिवर्तन अर्थात मनको छाउगोठ नभत्काएसम्म छाउगोठ मात्रै भत्काएर छाउपडी पर्था अन्त्य हुने देखिदैन् ।

ज्वाला सन्देश डटकम अनलाइनमार्फत महिनावारी बार्ने चलन (छाउपडी प्रथा) व्यवहारिक रुपमै अन्त्य गर्नका लागि सचेतना फैलाउने उदेश्यसहित सानो प्रयास स्वरुप साप्ताहिक स्तम्भ ‘कुरा महिनावारीका’ सुरु गरेका छौ । यस स्तम्भ अन्तरगर्त पहिलो श्रृंखलामा ४० वर्षीया मनसरा विस्टसँग कुराकानी गरेका छौ । सोसेक नेपालमा सामाजिक परिचालकको रुपमा कार्यरत विस्ट ठाटीकाँध गाउँपालिका–२ हुईता निवासी हुन् । प्रस्तुत छ, उहाँसँग ज्वाला सन्देश अनलाइनका कार्यकारी सम्पादक हिक्मतबहादुर नेपालीले गरेको कुराकानीको सम्पादित अंश :

महिनावारीलाई कसरी बुझ्नुहुन्छ ?

महिनावारीलाई मैले महिलामा आउने सामान्य र शारिरिक प्रकृया हो भन्ने बुझेको छु । पुरुषमा दाह्रीजुंगा आएजस्तै महिलामा आउने प्राकृतिक र शारिरिक प्रकृया नै महिनावारी हो भन्ने मैले बुझेको छु । हरेक महिनामा पालो आउने भएकाले पनि यसलाई महिनावारी भनिएको हुनुपर्छ । यसलाई गलत नभई सकारात्मक रुपमा हामीले बुझ्नुपर्छ । महिनावारीको रगतलाई अपवित्र र अशुद्ध मान्ने गरिएको छ । यो मान्यता सरासर गलत छ ।

तपाईको पहिलो महिनावारीको अनुभव अवस्था कस्तो थियो ?

मेरो पहिलो अनुभवको अनुभव भन्नुपर्दा, म पनि त्यहि समाजमा जन्मिएको हुर्किएको हुँ । पहिलो पटक महिनावारी हुँदा एकान्तमा बस्नुपर्ने, दाजुभाईबाट लुक्नुपर्छ भन्ने मेरो घर परिवारको दबाव थियो । पहिलो पटक महिनावारी भएको पहिलो दिन म पनि बाहिर बसेको थिएँ । मेरो दाई सुर्खेतमा बसेर पढ्नु हुन्थ्यो । म पहिलो पटक महिनावारी भएको दिनमा दाई घरमा आउने मौका पर्यो । म बाहिर बसेको थाहा पाएर दाईले मलाई लतारेरै ल्याएर घरभित्र राख्नुभएको थियो । मलाई दाईले लतारेर घरमा ल्याउँदा म आफैलाई अफ्ठेरो लागि रहेको थियो । घर भित्र आउनु हुँदैन्, घरको धुरी हेर्नु हुँदैन, दाजु भाईको मुख हेर्नु हुँदैन् भन्ने कुराहरु परिवारका आमाबुबाबाट भईरहेको थियो । दाईले यस्तो कुरामा विश्वास गर्नु हुँदैन् भनेर घरमा बस्नका लागि लैजानुभएको थियो । त्यसपछि म घरमै बसेँ ।

महिनावारी हुँदा बार्ने चलन कस्तो र अहिले कस्तो पाउनुभयो ?

पहिलाको तुलनामा केहि परिवर्तन भएको छ । पहिला छाउगोठ वा गाई भैसी बाँध्ने गोठमा नै बस्नु पथ्र्यो । त्यो पनि ९ दिनसम्म बस्नुपथ्र्यो । कुनै ठाउँमा ७ दिनसम्म बस्नुपर्ने नियम थियो । हाम्रो ठाउँमा ९ दिनसम्म बस्नुपथ्र्यो । त्यो ९ दिनबाट घटेर अहिले पाँच दिनमा झरेको छ । कतिपय महिलाहरु अहिले पनि महिनावारी हुँदा गोठमै बस्नुहुन्छ । कतिपय गोठ देखि नजिकै घरको एउटा कोठामा बस्नुभएको छ । गोठ नभएका कतिपय महिलाहरु अहिले पनि झुप्राहरुमा बस्नुहुन्छ । पहिला घरको आँगनसम्म टेक्न नदिने मान्छेहरुले अहिले घरको आँगनसम्म आउन दिनुभएको छ ।

महिनावारी हुँदा कस्ता खानेकुरा खानुपर्छ ?

महिनावारी भएको रगत नै अपवित्र हुन्छ भन्ने मान्यता छ । यो त सरासर गलत नै हो । महिलाहरु महिनावारी हुँदा कमजोर बन्नुहुन्छ । पोषण युक्त खानेकुरा खानुपर्ने अवस्थामा गाउँघरका महिलाहरुले पोषणयुक्त खानेकुरा खान दिईएको छैन् । महिनावारी भएको समयमा शरिरको केहि मात्रामा रगतहरु खसेर कमजोर हुन्छन् । महिनावारी भएको समयमा प्रमुखत् पोषिलो खानेकुराहरु आवश्यक पर्छ । सुरक्षित बासको आवश्यकता हुन्छ । महिनावारी हुँदा बास बस्दा पनि ढुक्क मनले निदाउने गरी सुरक्षित ठाउँको आवश्यकता पर्छ । ओड्ने ओच्छ्याउने कपडा पनि सफा र सुग्घर हुनुपर्छ । नियमित शारिरिक सरसफाई पनि उत्तिकै जरुरी पर्छ ।

महिनावारीलाई मर्यादित बनाउन के गर्नुपर्छ ?

महिनावारीलाई मर्यादित बनाउन बुझाईमा परिवर्तन गर्न जरुरी छ । सोच परिवर्तन गर्नुपर्छ । बुढापाकालाई त बुझाउन र सोच परिवर्तन गर्न गाह्रो नै छ । अहिलेको नयाँ पुस्ता, किशोरी र पछिल्लो पुस्ता बालबालिकाहरुलाई सोच परिवर्तनका लागि चेतनामुलक कार्यक्रमहरु ठोस रुपमा अभियानकै रुपमा सञ्चालन गर्नुपर्छ । किशोर किशोरी तथा बालबालिकाहरुलाई विद्यालय तहबाटै महिनावारी भनेको महिलामा हुने प्राकृतिक प्रकृया हो भनेर बुझाउनुपर्छ । महिनावारीको रगत अपवित्र होइन, पवित्र हो भनेर सिकाउनुपर्छ । महिनावारीको रगत अशुद्ध होइन्, यो शुद्ध रगत हो भनेर सिकाउनुपर्छ । गाउँघरमा महिनावारी हुने आमा दिदिबहिनीहरुलाई नियमित तालिम दिनुपर्छ । उहाँहरुको मानसिकता परिवर्तन हुनेगरी सिकाउनुपर्ने आवश्यकता देखिन्छ ।

अन्त्यमा, महिनावारी हुँदा छाउगोठ बस्नै पर्छ त ?

छाउ बार्नुपर्छ, महिनावारी हुँदा छाउगोठमा बस्नुपर्छ भन्ने मान्यता सरासर गलत छ । महिनावारी भएको पाँच दिनको दिनमा घर भित्र जान नपाएको कारण मैले घर परिवार त्यागेर म आफै बजारमा बस्ने गरेको छु । महिनावारी भएको पाँच दिनको दिनमा म घरभित्र पस्न खोज्दा पस्न पाइन् । जुन म माथी भएको विभेद थियो । म महिनावारी बार्दिन् । चार वर्ष अघि म महिनावारी भएको दोस्रो दिनमा नेपालगंज जाने मौका मिलेको थियो । म सँगै केहि जनप्रतिनिधीहरु पनि हुनुहुन्थ्यो । त्यहाँ बागेश्वरी मन्दिरमा जाँदा उहाँहरुले मलाई मन्दिरमा नआउनु भन्नुभयो । तर, म मन्दिरमा गएँ । मन्दिरमा दुई फन्को घुमेर आएँ । तर, मलाई अहिलेसम्म केहि भएको छैन् । महिनावारी बार्नुपर्छ भन्ने मान्यता बनावटी कुरा हो । पहिला पहिलाका चलाख मान्छेहरुले बनाएको नियम मात्रै हो ।

छाउपडी बार्नु राम्रो हो त ?

महिनावारी बार्नु राम्रो होइन् । हाम्रो शरिरको रगत सबै एउटै हो । बग्ने ठाउँमात्रै फरक हो । हामीले ओठबाट आउने रगत बग्दा पवित्र भनेर निल्छौँ, अनी योनीबाट बग्ने रगत अपवित्र कसरी हुन्छ ? महिनावारीको रगत कुनै पनि कारणले अपवित्र छैन् । महिनावारीको रगत पवित्र हो, त्यसैले महिनावारी बार्नु आवश्यक नै छैन् ।

प्रतिक्रिया