वर्षा सुरु भएसंगै सडक अवरुद्ध, नागरिकलाई सास्ती

वर्षा सुरु भएसंगै सडक अवरुद्ध, नागरिकलाई सास्ती


रुकुम पश्चिम -  रुकुम पश्चिमका अधिकांस ग्रामिण सडक अवरुद्ध छन् । वर्षायाम सुरु भएसंगै जिल्लाका अधिकांश गाउँ गाउँ पुग्ने ग्रामिण सडक अवरुद्ध भएका हुन् । कतै सडकमा पहिरो झर्दा त कतै सडक नै भासिदा अवरुद्ध हुने गरेका छन् । जिल्लामा वर्षेनी वर्षायाममा ग्रामिण सडकहरु अवरुद्ध हुने गरेका छन् । 

वर्षातको सयममा यातायातका साधन सञ्चालन नहुँदा स्थानीयलाई आवातजावत गर्न, खाद्यान्न ढुवानी गर्न र बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समेत समस्या हुने गरेको छ । वर्षायाममा सडक बन्द हुँदा करिव डेढ घण्टा हिडेर झुलखेत बजारबाट खाद्यान्न बोकेर लिनुपर्ने बाध्यता रहेकोे मुसीकोट नगरपालिका वडा नम्बर ९ का सन्तोष बुढाले बताउनुभयो ।
 
हिउँदमा सडक सञ्चालन हुने तर वर्षातको समयमा अवरुद्ध हुने हुँदा सास्ति भोग्नु परेको उहाँको भनाई छ । आवतजावत गर्न, गाउँमा कोही बिरामी परेमा तत्काल स्वास्थ्य संस्थासम्म पुर्याउन निकै मुस्किल हुने गरेको उहाँले बताउनुभयो । ग्रामिण सडक बाह्रै महिना सञ्चालन नहुँँदा वर्षायाममा खाद्यान्नका सामग्री ढुवानी गर्न मुस्किल हुने गरेको त्रिवेणी २ की धनकुमारी ओलीले बताउनुभयो । 

सडक अवरुद्ध हुँदा दैनिक आवश्यक खाद्यान्न लगाएतका अन्य सामग्री लिन करिव दुई घण्टा बढी हिडेर बजारसम्म पुुग्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । वर्षात सुरु भएपछि बन्द हुने ग्रामिण सडक वर्षा सकिपछि मात्र खुल्ने भएका कारण लामो समयसम्म नागरिकहरुले सास्ती भोग्नुपरिरहेको छ । जथाभावि सडक खनिनु तर कुनैपनि सडक दिर्घकालिन नहुँदा जिल्लावासीले वर्षेनी वर्षायाममा सास्ती भोग्नुपरिरहेको छ । 

जिल्लाका सबै ठाउँमा सडक पुगेको छ । तर गुणस्तरीय सडक नहुँदा वर्षायाममा नागरिकहरुले सास्ती भोग्ने गरेका छन् । सरकारले सडक निर्माणमा ध्यान दिएपनि दिगोपनामा भने ध्यान दिन नसकेको नागरिक तथा अधिकारकर्मीहरुको गुनासो छ । सडकको ट्रयाकका हिशावले जिल्लालाई पुगिसकेको र अव ति सडकलाई बाह्रैमास संचालन योग्य बनाउन सरकार लाग्नुपर्नेमा उनिहरुको जोड छ । -कखरा

प्रतिक्रिया