रेडक्रसको भगवतीमाई उपशाखा भवन उद्घाटन

रेडक्रसको भगवतीमाई उपशाखा भवन उद्घाटन

दैलेख – नेपाल रेडक्रस सोसाइटीको भगवतीमाई उपशाखाको तीन कोठा र एक शौचालय समेत भएको कार्यालय भवन आठ महिनाको २५ लाख ४७ हजार पाँच सय ११ रुपैंयाँको लागतमा निर्माण सम्पन्न भएको छ । भवन बनाउन भगवतीमाई गाउँपालिकाले दुई सय वर्गमीटर जग्गा उपब्ध गराएको थियो । 

भगवतीमाई गाउँपालिकाको मुकाम बेस्तडा बजारमा रहेको उक्त भवन निर्माण गर्न नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाको २० लाख १७ हजार छ सय १९ र उपशाखाको पाँच लाख २९ हजार आठ सय ९२ रुपैंयाँ लागेको नेपाल रेडक्रस सोसाइटी उपशाखाका अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन नेपालले बेस्तडामा आज एक औपचारिक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । त्यसबखत उहाँले सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाको साझेदार ब्रिटिश तथा स्वीस रेडक्रस, भगवतीमाई गाउँपालिकाको सहयोग निम्ति धन्यवाद दिनुभयो । 

अध्यक्ष नेपालले ‘रेडक्रसप्रतिको विश्वासले यी सहयोगहरु पाइएको बताउदै यो विश्वासलाई थप अभिबृद्धि गर्दै मानवीय सेवामा सबै रेडक्रसकर्मीहरु इमान्दारी पूर्वक लाग्न आग्रह गर्नुभयो ।’ नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष बीरबहादुर बस्नेत, कर्णाली अध्यक्ष लिलाराम सुबेदी, दैलेख शाखा अध्यक्ष निर्जनकुमार खत्री लगायतका अधिकारीहरुको कार्यक्रममा उपस्थिति थियो ।   

प्रतिक्रिया