अरुलाई बेठीक देखाएर आफू असल बनिदैन : भण्डारी

अरुलाई बेठीक देखाएर आफू असल बनिदैन : भण्डारी
सुन्नुहोस्

कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका अध्यक्ष घनश्याम भण्डारीले अरुलाई बेठीक देख्ने प्रबृति गलत भएको टिप्पणी गर्नुभएको छ । बेस्तडामा साेमबार सम्पन्न नेपाल रेडक्रस सोसाइटीको पाँचौं कर्णाली प्रदेश दुई दिने सम्मेलनमा आफू ठीक ठाउँमा उभिएर अरुहरुलाई समेत सुधार गर्न सकिने बताउनुभयो । 

अध्यक्ष भण्डारीले भन्नुभयो ‘राजनीतिक नेतृत्वदेखि सार्वजनिक जिम्मेवारीमा भएकाहरुले कसैले प्रश्न गर्न नपाउने गरी निस्कलित रुपमा काम गर्न तत्परताले मात्र देश बन्ने सक्छ ।’ उहाँले थप्नुभयो ‘सबैको इमान्दारिताले देश बन्छ, हामी पनि सफल बन्न सक्छौं ।’

त्यसबखत कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्रीले रेडक्रस मानवता र निष्पक्ष सेवाको पर्यावाची भएको कारण रेडक्रसकर्मीहरुले लोभ वा मोह त्याग्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन नेपालले रेडक्रसमा आवद्धहरुले राजनीतिक भूमिका त्यागेर बिशुद्ध सामाजिक काममा लाग्न सुझाव दिनुभयो ।

नेपालले रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष बीरबहादुर बस्नेत, दैलेख शाखा अध्यक्ष निर्जन खत्री, जिल्ला मन्त्री लवराज शाही, भगवतीमाई उपशाखा अध्यक्ष कृष्णप्रसाद अधिकारी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले पनि बोल्नुभएको थियो । 

रेडक्रसको कर्णाली प्रदेश अध्यक्ष लिलाराम सुबेदीको अध्यक्षतामा भएको प्रदेश सम्मेलनमा कोषाध्यक्ष कटकबहादुर शाहीले प्रस्तूत गर्नुभएको अघिल्लो वर्षको खर्चको आयव्यय, आगामी वर्षको प्रस्तावित कार्यक्रम र रेडक्रसको कर्णाली प्रदेश महामन्त्री नरबहादुर नेपालीले प्रस्तूत गर्नुभएको साँगठनिक प्रतिवेदन पारित गरेको जानकारी दिइएको छ । 

त्यस अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा भगवतीमाई गाउँपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनामा उल्लेख्य काम गरेका कर्मचारीहरुलाई प्रशंसापत्र, त्यहाँ आएका पाहुनाहरुलाई मायाकाे चिनो र कदरपत्र दिइएको थियो । 

नेपाल रेडक्रस सोसाइटीको दैलेखको बेस्तडामा साेमबार सम्पन्न पाँचौं कर्णाली प्रदेश सम्मेलनमा कर्णाली प्रदेश क्षेत्रका १० जिल्लाका पदाधिकारी, प्रदेश समिति र यो प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय समितिका सदस्यहरु सहभागी रहेको रेडक्रसका केन्द्रीय सदस्य भेषराज थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया