औधोगिक प्रदर्शनीको तयारी पूरा

औधोगिक प्रदर्शनीको तयारी पूरा
सुन्नुहोस्

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले भोलि र पर्सि सञ्चालन गर्ने दुई दिने औधाेगिक प्रदर्शनी प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । उद्यमीले उत्पादन गरेका बस्तुहरु आज चैत २७ गते अपरान्ह दर्ता गराइसक्ने कार्यालय जनाएको छ । 

जिल्ला स्तरीय उद्योग प्रवद्र्धन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीको अध्यक्षतामा हिजो बसेको बैठकले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हातामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रदर्शनीमा राखिएका बस्तु तथा उत्पादनको मूल्यांकन गर्न जिल्ला स्तरीय उद्योग प्रवद्र्धन समितिले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका शाखा अधिकृत पर्शुराम आचार्यको संयोकत्वमा सात सदस्यीय मूल्यांकन समिति गठन गरेको छ । 

प्रतियोगितामा सहभागीहरु मध्ये प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीय हुने उद्यमीलाई १० हजार रुपैंयाँ पुरस्कार दिइने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख नृपजंग शाहीले जानकारी दिनुभयो । 

प्रतियोगितामा सहभागी सबैलाई दुई दिनको दैनिक भत्ता दिइने बताइएको छ । प्रतियोगितामा सहभागी हुनलाई उद्योग दर्ता, नबीकरण र करचुक्ताको प्रमाणहरु संलग्न हुनुपर्ने अनिवार्य सर्त राखिएको छ । कार्यालयले उद्यमीहरुका हस्तकला, सीप र स्थानीय उत्पादन हुनुपर्ने जनाएको छ । 

जिल्ला स्तरीय उद्योग प्रवद्र्धन समितिले दुई महिना अघि गरेको निर्णय अनुसार औधोगिक प्रदर्शनी प्रतियोगितामा सहभागी हुन उद्यमीहरुलाई सार्वजनिक सूचना मार्फत आह्वान गरेको छ । कार्यालयको सूचना पार्टी, पत्रिका र स्थानीय रेडियोबाट सूचना प्रसारण गरिएको थियो । 

प्रतिक्रिया