बेराजगार युवालाई गाउँमै रोजगारी

बेराजगार युवालाई गाउँमै रोजगारी

दैलेख बैशाख २८-यहाँको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ लाँकुरीका पूर्णबहादुर वि.क. ज्याला मजदुरीका लागि सानै उमेर देखि १७ बर्ष सम्म भारत धाए । ज्याला मजदुरीका लागि भारतको गुजरात’ जाने पूर्ण बहादुर सधैंजसो एक बर्ष सम्म भारत बसेर घर परिवारका लागि लत्ताकपडा, भाँडाकुँडा र नुनतेलको जोहो गरेर फर्किन्थे । घरपरिवार छोडेर भारत बसेका पूर्ण बहादुरले घरपरिवार जेनतेन चलाएकै थिए ।

भारतको गुजरातमा बसेर हाउस वाइरिङ्गको काम गर्ने पूर्ण बहादुरको गुजारा चलाउन धौ धौ परेपछि उनि नेपाल फर्किए । भारत छाडेर नेपाल फर्किएका पूर्ण बहादुरले वडा कार्यालयमा हाउस वाइरिङ्गको तालिम संचालन हुन लागेको थाहा पाए । भारतमा बस्दा पनि हाउस वाइरिङ्गको काम गरेका पूर्ण बहादुर थप सिप सिकेर गाउँमै रोजगार बन्ने योजना बनाए । वडा कार्यालयमा गएर सबै कुरा जानकारी पाए । घरेलु तथा साना उद्योग विकास समितिले बेरोजगार युवाहरुलाई लक्षित गर्दै संचालन गरेको २ महिने हाउस वाइरिङ्ग सम्बन्धि तालिम लिएर प्रमाण पत्र बुझ्दै पूर्ण बहादुरले भने “अब गाउँमै बसेर काम गर्छौ ।”
गुजगातको एक कम्पनीमा १७ बर्ष हाउस वाइरिङ्गको काम गरेको अनुभव सुनाउदै पूर्ण बहादुरले भने “प्रमाणपत्र पाएको थिएन्, प्रमाण पत्र पनि हातमा प¥यो, अब गाउँमा बसेर काम गर्छु ।” जुनसुकै काम गर्दा प्रमाण पत्रको आवश्यकता पर्छ, उनले भने त्यसैले तालिम लिएको हुँ ।
सोहि ठाउँका रेशम नेपाली प्लस टु पासको प्रमाण पत्र लिएर रोजगारीका लागि भौतारिएका बर्षौ बित्यो । शैक्षिक योग्यताको प्रमाणपत्र बाहेक अन्य व्यवसायीक सिप नपाएका नेपालीले दुई महिने हाउस वाइरिङ्गको तालिम लिए । “अहिले सम्म बेरोजगारनै बसे, हातमा सिप थिएन्, पहिलो पटक तालिम लिएको हुँ, अब गाउँमै बसेर हाउस वाइरिङ्गको काम गर्ने आँट बढेको छ, नेपालीले भने ।”
नेपाली जस्तै ३ बर्ष विदेशमा मजदुरी गरेर फर्किएका जय बहादुर विष्ट अब नेपालमै रोजगार बन्ने सपना सुनाए । तालिममा सहभागि सोहि ठाउँका टिकाराम थापाले भारतमा बस्दा घर परिवारलाई सघाउन सुनाउदै अब गाउँघरमा बसेर काम गर्ने योजना रहेको बताए । जिल्लाको घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा डुङ्गेश्वर गाउँपालिका वडा नं. २ लाँकुरीका दश जना युवाहरुलाई हाउस वाइरिङ्ग सम्बन्धि तालिम प्रदान गरेको थियो । तालिममा सहभागि अर्का युवा कृष्ण बहादुर विकले हाउस वाइरिङ्ग तालिम पश्चात रोजगारीको बाटो खुलेको बताए ।
तालिममा सहभागि अन्य युवाहरुले समेत सिप सिकेपछि गाउँमै रोजगारी गर्ने बताएका छन् । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार चालु आर्थीक बर्षमा जिल्लामा ५ सय भन्दा बढी युवाहरुलाई विभिन्न सिप मुलक तालिम प्रदान गरेको छ । उद्योग प्रबद्र्धन, उद्योग विकास, दलित लक्षित तथा गरिबी निवारण अन्तरर्गत लद्यु उद्यम विकास कार्यक्रमबाट जिल्लाका ११ वटा स्थानीय तहका बेरोजगार युवाहरुलाई सिप विकास तालिम प्रदान गरेको बरिष्ठ उद्योग अधिकृत परशुराम आचार्यले बताए । घरेलु विकास समितिले विशेष गरि सिलाई कटाई, हाउस वाइरिङ्ग, ढाका बुनाई, सिस्नो प्रशोधनको तालिम प्रदान गरेको आचार्यले बताए । उनका अनुसार समुदाय स्तरको मागका आधारमा सिप मुलक तालिम प्रदान गरिरहेको छ ।
डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष राजु कुमार खत्रीले वडामा रहेका युवाहरुलाई विदेश जानबाट रोक्ने अभियान अन्तरगत वडामा विभिन्न सिप मुलक तालिम प्रदान गरेको बताए । उनका अनुसार युवाहरुको रोजगारी सृजनाका लागि कार्ययोजना बनाएर काम गर्ने बताए । युवाहरुले कस्ता खालका काम गर्न सक्छन् भन्ने सर्वेक्षण गरेरै युवाहरुलाई रोजगारी सृजना अध्यक्ष खत्रीको भनाई छ । बेरोजगार युवाहरुलाई ख्याल गर्दै युवा मैत्री वडा बनाउने तयारी थालेको अध्यक्ष खत्रीको भनाई छ ।

प्रतिक्रिया