कर्णाली भित्रिने मुख्य नाका बबईमा पीसीआर परीक्षण

कर्णाली भित्रिने मुख्य नाका बबईमा पीसीआर परीक्षण

सुर्खेत भदौ १३ गते । प्रदेश सरकारले भदौ १ गतेदेखि कर्णाली भित्रिने मुख्य नाका बबईमा पीसीआर परीक्षण सुरु गरेको छ । प्रदेश सरकारले अन्य प्रदेश, भारत तथा तेस्रो मुलुकबाट भित्रिनेहरुको पीसीआर रिपोर्ट अनिवार्य गरेपछि नाकामै परीक्षण थालिएको हो ।

पीसीआर रिपोर्टको म्याद नाघिसकेको वा रिपोर्ट नभएकाहरुको हकमा परीक्षणका लागि स्वाब संकलन गर्न थालिएको हो । बबईमा संकलन गरिएको स्वाब प्रदेश अस्पताल पठाउने गरिएको बबईस्थित हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट शरदचन्द्र लवतले बताए । ‘हामीले पीसीआर रिपोर्टको म्याद एक हप्ता राखेका छौँ,’ उनले भने, ‘रिपोर्ट नै नलिएर कर्णाली प्रवेश गर्नेहरुका लागि स्वाब संकलन अनिवार्य गरिएको छ ।’

भदौ १ गतेदेखि बबई नाकाबाट कर्णाली प्रवेश गरेका १ हजार १ सय १ जनाको स्वाब संकलन गरिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । त्यसमध्ये साढे ८ सय स्वाब परीक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले बताए । उनका अनुसार यसअघि बबई नाकाबाट भित्रिनेहरुको आरडीटी मात्रै गरिन्थ्यो । बीचमा आरडीटी पनि रोकिएपछि उनीहरु सरासर स्थानीय तहका क्वारेन्टाइन जाने गरेका थिए । तर अहिले जोखिम बढ्दै गएपछि पीसीआर परीक्षणपछि मात्रै नाकाबाट प्रवेश गर्न अनुमति दिइएको हो ।

बबईमा स्थापना गरिएको हेल्थ डेस्कमा ४ जना एचए र २ जना अनमी गरी ६ जना स्वास्थ्यकर्मी कार्यरत छन् । उनीहरुले ४/४ सिफ्ट विभाजन गरी १२ घण्टा काम गर्छन् । सुरक्षाका कारण राति काम गर्न समस्या भएको एचए लवतले बताए । उनका अनुसार कर्णाली प्रवेश गर्नेहरु अधिकांश कामदार छन् ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार हालसम्म कर्णालीमा संक्रमितको संख्या २ हजार ३ सय ६३ छ । जसमा सक्रिय कोरोना संक्रमित ३ सय १७ जना छन भने संक्रमणका कारण अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया