कृषकको उत्पादन बजारीकरण गर्दै सहकारी

कृषकको उत्पादन बजारीकरण गर्दै सहकारी


दैलेख भदाै १६ गते । ग्रामिण भेगमै सहकारीले किसानका उत्पादनको बजारीकरण गरिदिन थालेपछि उनिहरूको आम्दानी बढ्न थालेको छ । दैलेखको चामुण्डाबिनद्रासैनी नगरपालिका–२ मा रहेको सिर्जन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाले किसानहरूलाई उत्पादन र बजारसंग जोड्न सुरू गरेको हो । सहकारी संस्थाले पहिलो चरणमा गएको साउन २२ गतेदेखि स्थानीयस्तरमा उत्पादित किसानहरूको दुधको बजारीकरण सुरू गरेको छ । जसका लागि दुग्ध विकास कार्यक्रम संचालनमा ल्याइएको सहकारीले जनाएको छ । सहकारीले औषत ६० रूपैयाँ प्रतिलिटर किसानको दूध खरिद गरि प्रदेश राजधानी सुर्खेतमा ल्याएर विक्रि गर्ने जनाएको छ ।
अहिले प्रतिदिन करिब ५० जनाले आफ्नो दुध बिक्री गरिरहेको भएपनि सडक सुधार भएपछि नगरपालिकाका सबै वडाहरूमा दुध संकलन केन्द्र स्थापना गरि खरिद गरिने सहकारीले जनाएको छ । सहकारीले दुधमात्रै होइन किसानले उत्पादन गरेका नगदेबाली, फलफुल लगायतका कृषिजन्य बस्तुहरूको बजार व्यवस्थापन छिट्टै सुरु गर्ने जनाएको छ । सहकारीले ब्रोइलर दाना उद्योग, मसला उद्योग र अल्लो प्रसोधन उद्योग संचालनमा ल्याउने तयारीसमेत थालेको छ ।
राष्ट्रिय सहकारी बोर्डका सदस्य एवं उक्त सहकारीका अध्यक्ष भिमबहादुर रावतले किसानले अब उत्पादित बस्तुको बजारको चिन्ता लिन नपर्ने बताए । ‘गाउँमा सहकारीप्रतिको आम नागरिकको धारणा परिवर्तन हुन नसकेकोले कम मात्रामा सहकारी स्थापना हुन्छन्, भएका सहकारीहरूपनि बचत तथा ऋणमा मात्रै सिमित भई निष्कृय सरह हुने अवस्था छ,’ रावतले भने, ‘सहकारी नाफामुखी नभई सेवामूलक हुनुपर्छ, हामिले किसानहरूलाई बचत तथा ऋणमा मात्रै नभइ आयआर्जन गर्न पनि सहयोग गर्छौ, किसानहरूलाइ उत्पादनमा लगाई बजारसंग जोड्ने हाम्रो काम हो ।’ उनले किसानहरूलाई अनुदान, प्रोत्साहन र तालिमजस्ता क्रियाकलापमा पनि संग्लग्न गराइने बताउँदै स्थानीय, प्रदेश र संघ सरकारले सडक, कृषबस्तु संकलन केन्द्र स्थापना लगायतका काम गर्नुपर्ने बताए ।
किसानहरूको आयआर्जन बढाइ जिवनस्तर परिवर्तनका लागि सहकारीले काम गर्ने संस्थाका कोषाध्यक्ष मानबहादुर चन्दले बताए । सहकारीले सरकार, बजार र किसानबिच पुलको काम गरि नागरिकलाई आयआर्जन र व्यवसायमा सहज ल्याउन भुमिका खेल्ने संस्थाका सचिव रविन्द्र कंडेलले बताए ।
सहकारीले कर्णाली प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशु सेवा कार्यालय दैलेखले १ करोड रूपैयाँ अनुदान, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ३० लाख र सहकारीको ३० लाख लगानीमा नगरका एक सय जना किसानहरूलाई करिब एक लाख रूपैयाँ बराबरका एक÷एक वटा भैंसी वितरण गरेको संस्थाका व्यवस्थापक चिनबहादुर खत्रीले जानकारी दिए । सहकारीले आफ्नै गाडि खरिद गरेको छ । ‘सहकारीले युवाहरूलाई कृषि तथा पशुपालनमा उत्साहित गर्न भुमिका खेल्छ,’ खत्रीले भने ‘किसानहरूले जति उत्पादन गर्छन् त्यो विक्रि भएपछि उनिहरूलाई पनि हौसला थपिन्छ । थप उत्पादनमा जाँगर लगाउँछन् ।’
चामुण्डा माध्यमिक विद्यालयले कृषि प्राविधिक उत्पादन गर्छ । सहकारीले बाँझो जमिन भाडामा लगेर स्थानीय कृषक र कृषि प्राविधिकलाई उक्त जमिनमार्फत उत्पादनमा जोड्ने लक्ष्य पनि राखेको व्यवस्थापक खत्रीले जानकारी दिए । उनका अनुसार सहकारीले ब्रोइलर दाना उद्योग, मसला उद्योग र अल्लो प्रशोधन उद्योग संचालनमा ल्याउने तयारीसमेत थालेको छ । जसले गर्दा उद्योगमा केहिले रोजगारी पाउने, कच्चापदार्थको लागि स्थानीय उत्पादनको प्रयोग, स्थानीय उत्पादनको प्रयोगले सस्तो मुल्य आदि फाइदा स्थानीयलाई हुनेछ ।
सहकारीले थालेको यो अभियानमा कृषकहरू पनि निकै उत्साहित बनेका छन् । विगतमा आफुहरूले गरेको कृषिजन्य उत्पादनले बजार नपाएकोले आफुलाइ उत्पादनमा नैराश्यता आएको बताउँदै स्थानीय कृषक तिलक पौडेलले अब सहकारीले बजार व्यवस्थापन गरिदिए आफुहरू उत्पादनमा तत्पर रहेको बताए ।
चामुण्डाबिन्द्रासैनी–३ का तिलक तिमिल्सिनाले दैनिक पाँच लिटर दुध बेच्छन् । उनले मासिक ९ हजारभन्दा बढि कमाउँछन् । किसानहरू नरेश विक, टिकाराम आचार्य, धनिराम कंडेल, दिपक भट्टराई लगायतले स्थानीय तहले भन्दा आफुहरूको लागि सहकारीले राम्रो काम गरेको बताए । उनिहरूले सहकारीबाट भैंसी पनि पाएको बताउँदै आगामी दिनमा आफुहरूलाई कृषि तथा पशुपालन सम्बन्धी तालिम आवश्यक रहेको बताए ।

प्रतिक्रिया