पहिरो पीडितको गुनासो : कहिले पाइएला सुरक्षित बास ?

पहिरो पीडितको गुनासो : कहिले पाइएला सुरक्षित बास ?

हिक्मतबहादुर नेपाली
दैलेख भदौ २६ गते ।
एक सय बढी घरहरु रहेको बस्ती हो, गैरागाउँ । पहिरोले नराम्ररी थला परेको यो गाउँलाई अहिले शोकसँगै भोकले गाँज्न थालेको छ । गाउँ वरपर सग्लो जमिन छैनन् । सबैतिर पहिरोले क्षतविक्षत छ । ठाटीकाँध गाउँपालिका–४ गैरागाउँका दानबहादुर कठायत पहिरोले बगाएको आफ्नै गाउँ हेरेर बेलाबेला आँसु खसाल्छन् ।

पहिरोमा छोरा गुमाएका कठायत भन्छन्, ‘बाँच्न त बाँचियो, तर न बस्ने बास रह्यो, न त खेतबारी, गाउँनै रहेन, अब कहाँ जाने के गर्ने ?’ उनीमात्र होइन, स्थानीय बलबहादुर नेपाली भन्छन्, ‘घरसहित परिवारको सपना पहिरोले पुरयो ।’ सिलाइकटाइ गरेर परिवारको गर्जो टार्दै आएका नेपाली अहिले परिवार पाल्ने जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् । पहिरोमा बस्ने बास गुमाएका नेपाली भन्छन्, ‘सहयोगी निकायहरुले पाल, केही भाँडाकुडा त दिनुभएको छ, त्यतिले मात्रै कसरी जीवन धानौला ।’ उनले सुरक्षित बासको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन् । ‘अर्काको जग्गामा पालमुनीको बसाई कहिलेसम्म हो थाहा छैन्, गाउँ जाउँ, बस्न सक्ने अवस्था छैन्,’ उनले भने ।

उनीजस्तै पहिरोले घरबारी गुमाएका स्थानीय मामसरा विक भन्छिन्, ‘अहिलेसम्म कमाएको सबै सम्पती पहिरोले लग्यो ।’ सरकारी तथा गैरसरकारी निकायबाट पाएको सहयोग पर्याप्त नभएको उनी बताउँछन् । ‘खेती गरेको बारीमा पहिरो पसेको छ, मकै उत्पादन बढ्ला भन्ने लागेको थियो, ‘विक भन्छिन्, ‘मकैबाली समेत बगरमा परिणत भयो, अब पेट भर्ने चिन्ता छ ।’

पहिरोले बस्तीसँगै बारीमा लगाएको धान र मकैबाली सखाप पारेको छ । उक्त गाउँमा भदौ २ गते परेको अबिरल वर्षातका कारण पहिरो गएको थियो । पहिरोमा परी दुई बालक जनक कठायत र लोकेश कठायतको मृत्यु भयो । पहिरोमै परी ७ जना घाइते भए । घाइतेमध्ये दुईजना उपचारकै क्रममा छन् ।  पहिरोले ७ घर पूर्ण रुपमा ध्वस्त भएको वडाध्यक्ष रमेशबहादुर सिजापतीले बताए । ‘पहिरोले ९० घरका नागरिक विस्थापित भएका छन्, गाउँका ८१ घर पहिरोको उच्च जोखिममा परेको छ,’ वडाध्यक्ष सिजापतीले भने ।

पहिरोले सर्वस्व गुमाई विस्थापित भएकाहरु अहिले डाडाँमा पाल र आफन्तको घरमा शरण लिइरहेका छन् । ‘पहिरोले करोडौको क्षति भएको, स्थानीयले बास उजाडिएको छ, वडाध्यक्ष सिजापती भन्छन्, ‘पहिरोले विस्थापित नागरिकलाई कहाँ राख्ने भन्ने समस्या छ, सरकारले एकिकृत बस्ती बसाल्न पहल गर्नुपर्छ ।

प्रतिक्रिया