प्रदेश ५ को राजधानी दाङको देउखुरी, नाम लुम्बिनी प्रस्ताव

प्रदेश ५ को राजधानी दाङको देउखुरी, नाम लुम्बिनी प्रस्ताव

बुटवल असोज १६ गते । पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । राप्ती नदी किनारमा रहेको खुला चौर देउखुरी उपत्यकालाई राजधानी बनाउने र लुम्बिनी नाम राख्ने प्रस्ताव सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेका हुन् । यसअघि प्रदेश मन्त्रीपरिषद् बैठकले दाङको राप्ती, गडवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर राजधानी बनाउने निर्णय गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले कार्यव्यवस्था समितिले तय गरेको कार्यसूचि हटाएर आफै तयार गरेको कार्यसूचि अनुसार प्रस्ताव पेश गर्न अनुमति दिएका थिए ।

प्रस्ताव पेश भएलगत्तै कांग्रेसका केही सांसदहरुले उठेर असहमति जनाए । उनीहरुले यसअघि बनेको राजधानी र नामाकरण सुझाव विशेष समितिको प्रतिवेदन लत्याएर सरकारले प्रस्ताव पेश गरेको बताए । राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव माथिको छलफल असोज १९ गतेबाट हुने गरी बैठक स्थगित गरिएको छ । राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाएको हो ।

नेकपा संसदीय दलले शनिबार विहान ८ बजे बैठक बसेर राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गर्नेछ । शीर्षतहमा निर्णय भइसकेकाले प्रदेश संसदीय दलले पनि प्रस्ताव पारित गर्न लागेको दलका सचिव भोजप्रसाद श्रेष्ठले बताए । राजधानी र नामाकरणका लागि दुईतिहाई मत चाहिन्छ । सो मत पुरा हुने देखिएको छ । विपक्षी दलले भने यस बारेमा केही बोलेको छैन। राजधानीका विषयमा सांसदहरु विभाजित थिए । शीर्ष तहमा निर्णय भएपछि भने सांसदहरु चुपचाप देखिएका छन् ।

प्रतिक्रिया