कर्णालीमा उद्यम गर्न चाहनेलाई बार्षिक २ प्रतिशत व्याजदरमा एक करोडसम्म ऋण

कर्णालीमा उद्यम गर्न चाहनेलाई बार्षिक २ प्रतिशत व्याजदरमा एक करोडसम्म ऋण

सुर्खेत : कर्णालीमा अब उद्यम गर्न चाहानेले वार्षिक २ प्रतिशत व्याजदरमा १ करोडसम्म ऋण पाउने भएका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाका जो सुकै नागरिकले अब उद्यम गर्न चाहेमा पैंसाको कारण रोकिनुपर्ने छैन । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहानेका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश र कृषि विकास बैंकबिच भएको सम्झौता अनुसार उद्यम गर्न चाहाने व्यक्ति तथा फर्मलाई वार्षिक २ प्रतिशत (सस्तो) व्याजदरमा ऋण उपलब्ध गराइने छ । यसरी ऋण लिएर उद्यम गर्ने व्यक्ति तथा फर्मले १ लाख रकमको वार्षिक २ हजार मात्रै व्याज तिर्नुपर्नेछ । ऋण लिदाँ उनीहरुले धितो भने अनिवार्य राख्नुपर्नेछ । आफ्नो व्यवसायको प्रकृति र कार्ययोजना अनुसार १ लाखदेखि १ करोडसम्म ऋण लिन सकिने सम्झौतामा उल्लेख छ ।

कृषि विकास वैङ्क मार्फत १० वटा जिल्लाका १८ वटा शाखाबाट २ प्रतिशत वार्षिक व्याजदरमा ऋण उपलब्ध गराउने गरी बैंक र मन्त्रालयबिच सम्झौता भएको हो । कृषि मन्त्री विमला केसीले यो अवसरलाई प्रयोग गरी कर्णालीको कृषिमा क्रान्ती ल्याउन सबैमा अनुरोध गरेकि छन् । यस अवसरलाई सकारात्मक रुपमा प्रयोग गर्नसके कसैले बेरोजगार बस्न नपर्ने उनको भनाइ छ ।

रोजगारीको खोजीमा विदेश भौतारिनुको सट्टा सस्तो व्याजदरमा ऋण लिएर गाउँमै स्वरोजगार बन्न उनको सुझाब छ ।कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउनुका साथै व्यक्तिको आम्दानी बढाउन यस्ता कार्यक्रम ल्याईएको उनले बताइन् । उनका अनुसार कृषि तथा पशुपालन क्षेत्रमा लगानी गरी उद्यम गर्न चाहानेका लागि थप अनुदानका कार्यक्रम बनाईएका छन् ।

प्रतिक्रिया