त्यो माघ १९ कालो प्रतिगमन भएको दिन, यो माघ १९ रातो प्रतिगमन विरुद्धको प्रदर्शन

त्यो माघ १९ कालो प्रतिगमन भएको दिन, यो माघ १९ रातो प्रतिगमन विरुद्धको प्रदर्शन

काठमाडौं : संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले सोमबार पनि देशभर प्रदर्शन गर्दैछ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार कांग्रेसका १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गर्दैछन्। पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंबैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ। 

नेपाली कांग्रेसको पुस १३ गते  बसेको कांग्रेस केन्द्रिय समितिको बैठकले अहिलेको राजनीतिक संक्रमणको सबैभन्दा उत्तम समाधान संसद पुनर्स्थापना भएको निश्कर्षसहित आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो। तेस्रो चरणको आन्दोलनअन्तर्गत माघ १९ गते कांग्रेसको भातृसंगठनले विरोध प्रदर्शन गर्ने, २४ गते कांग्रेसको शुभेच्छुक संस्थाहरूले प्रदर्शन गर्ने र ३० गते जिल्ला कार्यसमितिहरुको नेतृत्वमा  मुलुकभर प्रदर्शन गर्ने गरी आन्दोलनका कार्यक्रम तय भएका छन्।

पूर्व राजाले शासनसत्ता लिएको दिन माघ १९ मा आयोजना गरिएको प्रदर्शन वर्तमान ओली नेतृत्वको रातो प्रतिगमनविरुद्ध भएको कांग्रेसले जनाएको छ। कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले भनेका छन्, ‘ त्यो `माघ १९ कालो प्रतिगमन भएको दिन, यो माघ १९ रातो प्रतिगमन विरुद्धको प्रदर्शन। रंग प्रतिगमनको जुन भएपनी ढंग उही। अन्ततः बहिर्गमन हरेक प्रतिगमनको नियति उही।’

कांग्रेसले यसअघि प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै वडा तहसम्म विरोध प्रदर्शनका कार्यक्रम गरिसकेको छ । ‘संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने प्रदर्शनमा सहभागी बन्न आग्रह गर्दछौं,’ १३ वटै भ्रातृसंस्थाका प्रमुखले आइतबार संयुक्त अपील गरेका छन्। 

कांग्रेसले आन्दोलनमा व्यापक जनसहभागिताका लागि सबै भ्रातृसंस्थाका पदाधिकारीसँग छलफल पनि गरेको थियो ।आन्दोलनलाई सशक्त बनाउन कांग्रेसले केही दिन अघि बसेको केन्द्रीय समिति बैठकले समयावधि सकिएका ११ भ्रातृसंस्थाको म्याद थप गरेको थियो । नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघले आन्दोलनमा सहभागी हुन संयुक्त अपील गरेका हुन्। 

त्यस्तै नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजसहित सबै भ्रातृसंस्थाको आइतबार पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । 

प्रतिक्रिया