तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै खुमराज

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै खुमराज

सल्यान :  भनिन्छ जहाँ इच्छा शक्ति, सीप र जाँगर भए पैसा कमाउन विदेश जानु पर्दैन। आफ्नै गाउँघरमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् सल्यान बागचौर नगरपालिका -३ रातपहराका खुमराज भण्डारीले ।

विगत १५ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका भण्डारीले वार्षिक १२ लाख भन्दा बढी आम्दानी गर्दै आइरहेका छन्। परम्परागत अन्नबाली भन्दा चार गुणा बढी व्यवसायिक तरकारी खेतीबाट आम्दानी गर्दै आइरहेका छन्।

१० रोपनी क्षेत्रफलमा व्यवसायिक मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका उनको तरकारी खेतीबाट नै बागचौर नगरपालिकाको केन्द्र थारमारेमा ८ रोपनी जमिन र एक घर बनाएका छन्।

उनले भने, ‘वर्षमा विभिन्न तरकारी ती सिजन लगाउने गरेको छु, महिनामा एक लाखसम्म आम्दानी हुने गरेको छ।’

रोजगारीकै लागि धेरै युवा विदेश पलायन भइरहँदा थोरै लगानीमा व्यवसाय गरे धेरै आम्दानी गर्न सकिने उनी सुनाउँछन्। परम्परागत खेतीबाट भन्दा तरकारी खेतीबाट आम्दानी बढी हुने गरेको उनको अनुभव छ। ‘गरे के हुँदैन र यही मनग्य आम्दानी हुन्छ,’ उनले थपे।

उत्पादन भएको तरकारी बिक्रीका लागि खासै समस्या नभएको बताउँदै उनले खेतीबाट आएको आम्दानीबाट जग्गा, घर मात्र नभएर एक भाइ र छोराछोरीलाई काठमाडौंमा पढाइरहेको बताउँछन् । यहाँ उत्पादन भएको तरकारी स्थानीय बजार, थारमारे, बागचौर, श्रीनगरलगायत दाङसम्म पुग्ने गरेको भण्डारीले सुनाए।

उर्वर माटोमा गाईभैँसी मलबाट किटनाशक औषधि प्रयोग नगरी उत्पादन गरिएको टमाटर, काउली, बन्दा, साग लगायतका तरकारी उत्पादन गरी नजिकैको बजारमा लगेर राम्रो भाउमा बिक्री वितरण भइरहेको उनको बुझाइ छ।

 

प्रतिक्रिया