नेपालमा जातीय विभेद अन्त्य हुनुपर्छ : संयोजक सुनार

नेपालमा जातीय विभेद अन्त्य हुनुपर्छ : संयोजक सुनार

 

सल्यान –  नेपालमा सतिप्रथा जसरी नै जातीय विभेद अन्त्य हुनुपर्ने दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनारले बताउनुभएको छ । उहाँले दलित भएकै कारण सरकारको नीति निर्माण देखी कार्यान्वयन तहसम्म दलितको सहभागिता नगराउदा दलितहरु पछाडी परेकाले दलितमाथि गरिने विभेदलाई सतिप्रथा जसरी नै अन्त्य गर्नुपर्ने बताउनुभएको हो ।

शनिवार श्रीनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले लोकतन्त्रमा कोही माग्ने र कोही दिने नहुने भन्दै सबै समान हुनको लागि दलितमाथि हुने विभेद अन्त्य हुनुपर्ने बताउनुभयो । सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रममा दलित समुदायलाई उपेक्षा गरेको र दलितमैत्री बजेट ल्याउन नसकेको उहाँको भनाइ छ ।

‘संविधानमा राज्यले जनसंख्याका आधारमा, सीमान्तकृत दलित समुदायलाई प्राथमिकता दिने व्यवस्था गरेको छ, तर संविधानको त्यो व्यवस्थालाई कर्णाली सरकारले बेवास्ता ग¥यो, सधैं आउने बजेटमा हामीलाई उपेक्षा ग¥यो’ उहाँले भन्नुभयो ‘हामीले ८४ बुदेँ माग अघि सारेका छौँ, तीनै तहको सरकारले हाम्रा माग सम्वोदन गर्न आवश्यक छ, नत्र हाम्रो आन्दोलन निरन्तर अघि बढ्छ ।’

दलित आन्दोलनको सुरुवात कर्णालीबाट भएको उहाँको भनाइ छ । ‘कर्णालीको कुल जनसंख्या मध्ये दलितको जनसंख्या २९ प्रतिशत छ, दलित समुदायको ठूलो बसोबास कर्णाली प्रदेशमा छ, तर प्रदेश सरकारले नै बजेटमा सधैं उपेक्षा गर्दा आन्दोलन गर्नुपरेको छ’ उहाँले भन्नुभयो ‘बैशाख १ गतेदेखी आन्दोलन सुरु गरेका छौँ, संविधान दिवसका दिन प्रदेश राजधानीमा ५० हजार दलितका एक लाख हात र दश लाख औलाले राज्यलाई प्रश्न गर्ने छन् ।’

गएको बैशाखमा भएको सहमति बमोजिम प्रदेश सरकारले वजेटमा दलित समुदायका मागलाई सम्बोदन नगरेको र दलित समुदाय लक्षित कार्यक्रमहरु नहुँदा यो अवस्थाको सिर्जना भएको उहाँको भनाइ छ । उहाँले आफुहरुको आन्दोलन दलित समुदायको हकअधिकारको लागि मात्रै भएको बताउनुभयो ।

दलितका लागि दलित आन्दोलन नेपाल, सल्यानका संयोजक प्रेम नारायण विकको अध्यक्षतामा भएको सम्मेलनको सहजीकरण खेमराज सुनारले गर्नुभएको थियो । यसैविच दलितका लागि दलित आन्दोलन नेपालले श्रीनगरमा दलित अगुवाहरुसँग अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरेको छ ।

प्रतिक्रिया