सम्पदा संरक्षण गर्न सरकार गम्भीर छ : मन्त्री किराँती

सम्पदा संरक्षण गर्न सरकार गम्भीर छ : मन्त्री किराँती

बुटवल –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विभिन्न सम्पदाहरूको खोजी गरी संरक्षण गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।

लुम्बिनी विकास कोषको परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरूले जोगाएको सम्पदालाई मौलिक रूपमा नै संरक्षण गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका किराँतीले सम्पदाहरूलाई संस्कृति र प्रकृतिमैत्री रूपमा विकास गर्नुपर्ने बताउनुभयो । पुर्खाले छाडेर गएका सम्पदाहरूको खोजी गरेर सम्पदालाई सम्पदाकै रूपमा विकास गर्ने नीति सरकारले लिने मन्त्री किराँतीले रहेको बताउनुभयो ।

उहाँले मन्त्रालय सम्हालेको ६ महिनामा लुम्बिनीमा जति ध्यान दिनुपर्ने त्यति दिन नसकेको बताउनुभयो । ऐन नियमहरूलाई समयअनुकल बनाउन पुनर्लेखन र संशोधन गर्ने, मन्त्रालय मातहत रहेका ऐन कानुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बोक्न सक्ने गरी संशोधन गर्ने, मन्त्रालय मातहतका विभागहरूमा देखिनेसरि परिणाममुखी काम गर्ने र आधारभूत रूपमा भएका कामहरूको मसिनो गरी फलो अप गर्ने उहाँले बताउनुभयो ।

परिषद् बैठकको उद्घाटन सत्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई सुगन्धको रूपमा विश्वसामु चिनाउनुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी पवित्र स्थलका रूपमा विकास गर्नका लागि सबै पक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले कोषमा रहेका विभिन्न नीतिगत समस्याहरू हल भएको र गुरुयोजनाका कामहरू पूरा हुने चरणमा रहेको बताउनुभयो । उहाँले गुरुयोजनाको काम अबको ३ वर्षमा सम्पन्न हुने र त्यसका लागि ३ अर्ब बजेट आवश्यक पर्ने बताउनुभयो ।

प्रतिक्रिया