दैलेखमा औधोगिक प्रदर्शनी सुरु

दैलेखमा औधोगिक प्रदर्शनी सुरु
सुन्नुहोस्

दैलेख - उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले आजदेखि सञ्चालन गरेको दुई दिने औधोगिक प्रदर्शनी प्रतियोगिता सुरु भएको छ । जिल्ला स्तरीय उद्योग प्रवद्र्धन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले एक समारोहबीच उद्घाटन गर्नुभयो । 

दैलेख सदरमुकामको काँडाचौरस्थित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हातामा प्रदर्शनी उद्घाटन गर्दै प्रमुख शाहीले स्थानीय सीप, कला र ज्ञानको बजार प्रवद्र्धन गर्न औधोगिक प्रदर्शनी प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख नृपजंग शाहीको अध्यक्षतामा भएको प्रदर्शन उद्घाटन कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, साना तथा मझौना उद्योग संघका अध्यक्ष गणेशप्रसाद कोइराला लगायतले औधोगिक प्रदर्शनी प्रतियोगिताको महत्व बारे प्रकाश पार्नुभएको थियो ।  

प्रदर्शनीमा राखिएका बस्तु तथा उत्पादनको मूल्यांकन गर्न जिल्ला स्तरीय उद्योग प्रवद्र्धन समितिले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका शाखा अधिकृत पप्रर्शुराम आचार्यको संयोकत्वमा सात सदस्यीय मूल्यांकन समिति गठन गरेको छ । 

प्रतियोगितामा सहभागीहरु मध्ये प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीय हुने उद्यमीलाई १० हजार रुपैंयाँ पुरस्कार दिइने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख नृपजंग शाहीले जानकारी दिनुभयो । 

प्रतियोगितामा सहभागी हुनलाई उद्योग दर्ता, नबीकरण र करचुक्ताको प्रमाणहरु संलग्न हुनुपर्ने अनिवार्य सर्त राखिएको छ । उद्यमहरुका हस्तकला, सीप र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न आयोजित प्रतियोगिताका बिजेताहरुलाई भोलि समापन कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र दिइने जनाइएको छ । 
 

प्रतिक्रिया