विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

          |   प्रकाशित मितिः शुक्रबार, भदौ ३१, २०७९     ::: 47 पटक पढिएको   |  

सल्यान :  विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि सल्यानको एक विद्यालय बन्द गरिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ४ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयका ११ विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीमा ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिएपछि ९८ विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा ११ विद्यार्थीमा कोरोना भाइरस पोजेटिभ देखिएको विद्यालयका प्रधानाध्यापक गुमानसिहं विष्टले बताए । संक्रमित सबै विद्यार्थीहरुको अवस्था सामान्य रहेको उनको भनाई छ ।

परीक्षा सञ्चालन भइरहेको समयमा विद्यार्थीमा कोरोना पुष्टि भएपछि सम्पूर्ण परीक्षा स्थगित गरिएको उहाँको भनाई छ । अन्य विद्यार्थीहरुमा पनि कोराना संक्रमण नफैलियोस भनेर पाँच दिनका लागि विद्यालय बन्द गरिएको विष्टले बताए ।

केही समय अघि बनगाड कुपिण्डे नगरपालिका १२ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका २९ र त्रिवेणी गाउँपालिका ५ सिम्क स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना पोजेटिभ देखिएको थियो ।

गाउँघरमा कोरोनाको लक्षणसँग मिल्ने धेरै विरामी भएपनि पछिल्लो समय कोरोनालाई सामान्य रोगका रुपमा लिन थालिएको छ ।



Leave a comment

Your email address will not be published.


*