दैलेखको भोसो अर्थात भास्सी संस्कृति

        हिक्मतबहादुर नेपाली   |   प्रकाशित मितिः बुधबार, कार्तिक ९, २०७९     ::: 290 पटक पढिएको   |  

दैलेखको रावतकोट गाउँमा भोसोको कोठी बिसाईँदै । तस्बिर सौजन्य : विशाल सुनार

दैलेख : नारायण नगरपालिका-२ जाहरकोटका हिक्मतबहादुर थापा उमेरले ७० वर्ष नाघे। उनी मंगलबार बिहानै दौरा सुरुवाल, कोट र ढाका टोपीमा सजिएको भेटिए। दैलेखको लोकप्रिय संस्कृति भोसो खेल्न गाउँलेहरु जम्मा भएको ठाउँमा उनी आइपुगेका थिए। भोसो खेल्न र हेर्न बुढापाकादेखि अहिलेका युवापुस्ता सम्मका जम्मा भएका थिए।

‘हाम्रा पुर्खादेखि नै भोसो अर्थात भास्सी खेल्दै आएका हौँ,’उनी भने ‘भोसीमा भैलो, सिलंगेडाली, चुट्का, धमारी र मारुनी खेल पुरुषहरुले खेल्छन् र नाच्छन्, अनी महिलाहरुले मांगल र झोडा गाउँछन्।’उनले भोसी कहिलेदेखि सुरुवात भएको हो भन्नेबारे यकिन गर्न नसकिने बताए। भोसी संस्कृति बलि राजासँग सम्बन्ध जोडिएको भन्ने मान्यता रहेको थापा बताउँछन्।

भोसी कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट, जाजरकोट लगायतका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङ लगायतका जिल्लाहरुमा खेलिने लोक नृत्यको एक लोकप्रिय संस्कृति हो। दैलेख जिल्ला सदरमुकाम नजिकै रहेको जाहरकोट गाउँ लगायतका क्षेत्रमा भोसी अहिलेपनि खेल्ने गरिन्छ। दैलेखको जाहरकोट, रावतकोट, लाँकुरी, विन्धवासीनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लु लगाएतका क्षेत्रमा भोसो संस्कृति कायमै छ।
भोसो भिन्न–भिन्न नामले परिचित छ। भोसोलाई कतै भुओ, कतै भोसी त कतै भास्सी पनी भन्ने गरेको पाइन्छ। आदिकालदेखि नै यस खेललाई जस्ताको तस्तै (हुबहु) मान्दै आएको पाइन्छ। दैलेखका विभिन्न स्थानहरुमा भोसी खेल्ने समय फरक–फरक भएपनि तिथिका हिसाबले तिहारको समयमा अर्थात कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने प्रचलन रहेको छ।

 जाहरकोट गाउँमा भोसो अन्तरगत भैलेरी भौलो खेल्दै स्थानीय । तस्बिर : हिक्मतबहादुर नेपाली

वर्षदिनको एक पटक मात्र खेलिने खेल भएकाले पनि यस खेललाई ‘एक दिने खेल’पनि भन्ने चलन छ। यो मुलतः पुरुष प्रधान खेल हो। नारीहरुका लागि रत्यौली जस्तै भोसोमा पनि अश्लिल शब्दहरु प्रयोग गर्ने गरिन्छ। भोसोमा व्यक्त गरिने गाली गलौच विकृतिको रुपमा नभएर सुरुवातकाल देखिनै प्रचलनमा ल्याइएको मान्यता रहि आएको नारायण नगरपालिका–२ का लालबहादुर थापा बताउँछन्। उनले पछिल्लो वर्षहरुमा यस्तो अपशब्द बोल्ने चलन हदैसम्म कम भएको बताए। पुर्खादेखि सुरु भएको यो संस्कृति जस्ताको तस्तै संरक्षण गरेर अगाडि लैजान त्यति सजिलो नभएको उनको भनाई छ।

भोसो खेलाडीलाई भुआरा भन्ने चलन छ। भोसोमा कोठी बनाइन्छ, जसलाई जलाउने ठाउँलाई अधिकांश क्षेत्रमा भुवाखाडा भन्ने गरिन्छ। भोसो व्यवस्थापन गर्ने मुलीलाई नायक भन्ने चलन छ। त्यस्तै भोसो खेल्दा प्रयोग गर्न सल्लाको दियालोबाट निर्माण गरिने राँको बोक्ने पालकीलाई कोठी भन्ने चलन छ। पहिले पहिले भोसी खेल सप्ताहव्यापीरुपमा खेलिने गरेको भएपनि पछिल्लावर्षहरुमा भने छोट्याईएको छ।

यसरी हुन्छ भोसीको सुरुवात

गाउँका विभिन्न टोलहरुबाट छुट्टाछुट्टै भोसो निकाल्ने परम्परा छ। गाउँका भोसी खेल्ने भुआराहरु जम्मा भएर भोसीको सुरुवात गर्दछन्। भोसीका लागि बनाइने कोठीमा राख्न हप्तादिन अघिदेखि नै दियालोको (झोरो) को जोहो गरिएको हुन्छ। दियालो राख्न बनाइने कोठी साल वा बाँसको निर्माण गर्ने चलन छ। जसलाई पालकी जस्तो बनाएर चार जनाले काँधमा भोसी गाउँदै अघिपछि गर्ने गर्दछन्।

लक्ष्मी पूजाको बिहानी पख भोसी सेलाउने चलन हुन्छ। अथवा भोसी समापन गर्ने चलन हुन्छ। नदि वा धारा, मूल नजिक वा भोसो सेलाउने निर्धारित ठाँउ पहिले नै तोकिएको हुन्छ। नारायण नगरपालिका–२ जाहरकोट गाउँको हकमा भोसो सुरुवात गरेको झण्डै २ किलोमिटर टाढा रहेको भुवाखाडामा भोसो सेलाउने परम्परा रहेको स्थानीय लालबहादुर थापाले बताए। धार्मिक, सांस्कृतिक र सामाजिक मान्यता बोकेको भोसी, धमारी, चुट्कीला जस्ता खेलहरु विशुद्ध ठट्टा र भद्धा मजाक मात्र नभएर सामाजिक सद्भावको बन्धनलाई कसिलो बनाउने उनको भनाई छ।

कोठी सेलाएपछि सिलंगेडाली, चुट्का, धमारी र मारुनी गाउँदै नाच्दै घरघरमा भैलो खेल्ने, सिलिंगी डाली खेल्ने, भैली खेल्ले गरिन्छ। त्यसपछि भोसीको समापन हुन्छ। भोसीको कोठी सेलाई सकेपछि धमारी गाउने अर्को परम्परा रहेको छ। यस भाकाको पनि लोक संस्कृतिमा निकै महत्वपूर्ण स्थान रहेको छ। विशेष गरि विवाह, व्रतबन्ध लगायत शुभकार्यको बेलामा धमारी, चुट्किला, मांगल गाउने चलन छ। तर पुस्तान्तरण चुनौतीपूर्ण बन्दै गएको प्रति अगुवाहरुनै चिन्तित देखिन थालेका छन्।

भोसो संस्कृतिलाई जीवन्त राख्नको लागि पुस्तान्तरण आवश्यक रहेको अगुवाहरु बताउँछन्। वर्षदिनको एक पटक नाचेर वा गाएर पुरानै लयलाई हुबहु उतार्न नयाँ पुस्तालाई पनि सजिलो नभएको जाहरकोटकी लक्ष्मी थापा बताउँछिन्। ‘पुर्खादेखिको यो संस्कृतिलाई जगेर्ना गर्नुपर्छ, अनी पुस्तान्तरणमा पनि ध्यान दिनुपर्छ,’ थापाले भनिन्।

के छ भोसोको धार्मिक पक्ष ?

शास्त्र अनुसार अशुर राज बलीले स्वर्गलोक प्राप्तिको लागि अश्रमेध यज्ञ लगाए। अन्तिम यज्ञ लगाउने क्रममा देवताहरु भगवान विष्णुको शरणमा पुगेर बिलौना गर्न थाले, ‘अब अशुर राज बलीले स्वर्गलोक पनि कब्जा गर्ने भए, हामी देवताहरु कहाँ जाने त प्रभु ? बिष्णुको शरणमा पुगेपछि बिष्णु ब्राह्मणको रुप धारण गरि बलिको यज्ञस्थलमा पुगे।

अन्तिम यज्ञ पनि समापन हुँदै थियो। बलिराजा ब्राह्मणहरुलाई दान गर्ने क्रममा अन्तिम ब्राह्मणले भनेछन्, ‘म ब्राह्मणलाई दान गर्ने तिमीले के सकौँला र भनेर बलिराजालाई उपहास गरेछन्। तर बलि राजा दानी थिए। मागेको सबै दिन्छु, भन तिमी के माग्छौ ? भनेर बलिले ब्राह्मणलाई सोधेपछि उनले तिन पाईला राख्ने ठाउँ माग्छन्।

ब्राह्मणको रुपमा भगवान विष्णु स्वंयम आएको थाहा नपाएका बलिले तीन पाइला राख्ने ठाँउ त हो भनेर दिएछन्। एक पाइला धर्ती, दोस्रो पाइला आकाश र तेस्रो पाइला राख्ने ठाँउ नभएपछि बलिले आफ्नो शिर थापेछन्। तेस्रो पाइला शिरमा राख्दा बलिराजा पातालमा धसिन पुगेछन्। र बल्ल थाहा पाएछन् कि ब्राह्मणका रुपमा आएका अरु कोहि नभएर आफ्नै आराध्य भगवान बिष्णु हुन् भनेर।

त्यसपछि अनुनय विनय गर्न थाले, प्रभु मलाई पृथ्वी लोक हेर्ने रहर थियो। कृष्ण पक्षको चतुर्दशीको दिन बलि पृथ्वी हेर्न आउने भएकाले बलिसँगै अन्य राक्षसहरु पनि आउन सक्छन भनेर भास्सी रे भास्सी भन्दै विभिन्न गाली गलौच गर्ने, आगो बाल्ने, ढुंगा हान्ने लगायत काम गरी उनीहरुलाई यस लोकमा आउनै नदिने विश्वाससहित गाली गलौच गर्ने र अश्लिल शब्द बोल्ने प्रचलन रहेको धार्मिक मान्यता छ।



Leave a comment

Your email address will not be published.


*