सल्यानमा लम्पी स्किन रोगले मर्न थाले पशु चौपाय

सल्यानमा लम्पी स्किन रोगले मर्न थाले पशु चौपाय

सल्यान – सल्यानमा घरपालुवा पशुमा लम्पी स्किन रोग देखिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका, कालिमाटी गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकामा यो रोग देखा परेको हो । विगत केही महिनायता फैलिएको यस रोगबाट २४ भन्दा बढी पशुचौपाय मरेका छन् भने एक सय बढी विरामी भएका छन् । हाल बन्गाड कुपिण्डे नगरपालिकामा १४ वटा अहिले बन्गाड कुपिण्डे नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९, कालिमाटी गाउँपालिकाको वडा नं। ४, ५ र ६ तथा सिद्ध कुमाख गाउँपालिकाको ४ नम्बर वडामा यो रोग देखा परेको छ । मैदु, पाखापानी, सागिने आसपासका क्षेत्रमा रोगका कारण गाइगोरु मर्नथालेपछि किसान चिन्तामा परेका छन् ।

नाकबाट सिँगान वग्ने, टाउको सुनिने, शरिरमा गिर्खा आउने, पिसाव नलि सुनिने र एक/दुई दिनमा मर्ने गरेको स्थानीय जयराम बुढाथोकीले जानकारी दिनुभयो । ‘यस्तो लक्षण देखिएपछि गाईगोरुले दानापानी खादैँनन्, औषधि गर्दा निको हुदैन्, मेरो गोरु पनि विरामी छ’ उहाँले भन्नुभयो ‘यो रोगको औषधि यही हुन्छ भन्ने थाहा पाएको भए उपचार गर्न हुन्थ्यो, खेतीपातीको सिजन आउन थालेको छ, गोरु विरामी हुदा चिन्ता लाग्यो ।’ यो रोग अहिले गाउँभरी नै फैलिने क्रममा रहेको उहाँको भनाइ छ ।

अर्का स्थानिय कमलचरण धितालले रैथाने रूपमा गाईगोरुमा खोरेँत, भ्यागुते जस्ता रोग र परजीवीजन्य समस्याले सताइरहेको बेलामा लम्पी स्किन रोगले झन् समस्या निम्त्याएको बताउनुभयो । ‘खेतबारी जोत्न गोरुको प्रयोग गरिन्छ, बालकदेखि वृद्धसम्मको एक प्रमुख पौष्टिक आहारा दूध भएको हुँदा घरायसी खाद्य सुरक्षामा समेत गाईभैंसीपालनको ठूलो योगदान छ, तर बेलाबखतमा आउने रोगका कारण ठुलो आर्थिक क्षति भइरहेको छ’ उहाँले भन्नुभयो ।

बन्गाड कुपिण्डे नगरपालिका पशु सेवा शाखा प्रमुख विनाराम विसीले नेपालमा यस रोगको भ्याक्सिन नै नभएको बताउनुभयो । यो रोग आफैमा सरुवा रोग भएकाले पशुलाई सुरक्षित राख्नुपर्ने उहाँको भनाइ छ । विशेषगरी लामखुट्टे, झिँगा, किर्ना आदिको टोकाइबाट यो रोग सर्ने गर्छ । सो बाहेक संक्रमित गाईगोरुको ओसारपसार, लसपस र संक्रमित गाईगोरु र स्वस्थ गाईगोरुको उपचारमा एउटै सुई प्रयोग गरेमा पनि यो रोग सर्नसक्ने सम्भावना हुन्छ ।-सल्यानटुडे

प्रतिक्रिया