बिना अनुमति मुसिकोटमा अटो संचालन

बिना अनुमति मुसिकोटमा  अटो संचालन

रुकुम – रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा अनुमति बिना नै अटो संचालन भइरहेको पाइएको छ । आइबार वडा नम्बर ५ को सेरिगाउँमा एउटा अटो दुर्घटना भएपछि नगरमा बिना अनुमति अटो संचालन भइरहेको पाइएको हो । नगरपालिकाले गत फागुन ११ गते सूचना जारी गर्दै नगरमा अटो संचालन हुने जानकारी गराएको थियो ।

नगरको अटो तथा इ–रिक्सा कार्यविधि अनुसार नगरका विभिन्न ६ वटा रुटमा २४ वटा अटोलाई संचालन अनुमति दिने र त्यसका लागि आवेदन दिन नगरपालिकाले सूचना जारी गरेको थियो । जसअनुसार १९ वटा अटोले संचालन अनुमति मागेपछि नगरपालिकाले फागुन २९ गते औपचारिक रुपमा अटो संचालनको अनुमति दिएको थियो ।

तर संचालनका लागि ल्याइएका २ वटा बाहेक अन्य सबै अटो २०२२ मोडल भन्दा अघिका भएको भन्दै नगरपालिकाले फिर्ता गरेको थियो । नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक उमेश केसीका अनुसार कार्यविधिमा २०२२ मोडलभन्दा माथिका अटो मात्र संचालन गर्न दिने व्यवस्था भएकोले बाँकी अटोलाई नगरपालिकाले फिर्ता गरेको हो ।

अटो सेवा उद्घाटन भएदेखि हालसम्म नगरपालिकामा २ वटा अटोले मात्र अनुमति लिएका छन् । संचालनका लागि नगरपालिकामा दर्ता हुनुपर्ने र एक वर्षका लागि १० हजार कर बुझाउनु पर्ने व्यवस्था रहेको छ । नगरमा २ वटा अटोले मात्र अनुमति लिएपनि अहिले मुसिकोटमा धेरै अटोहरु संचालन भइरहेको छन् ।

जसका कारण नगरवासीको ज्यान जोखिममा रहेको छ । यसको उदाहरण स्वरुप आइतबारको दुर्घटनालाई हेरे पुग्छ । नगरपालिकाले ६ वटा रुटमा संचालन अनुमति दिएपनि उक्त रुटमा संचालन भइरहेका अटोमाथि कडाई नहुँदा अनुमति बिना अटो संचालन भइरहेको र यसबाट दुर्घटनाको जोखिम उच्च छ । अनुमति बिना अटो संचालन भएको पाइएपछि नगरपालिकाले अब भने यसतर्फ चासो देखाएको छ ।

नगर प्रमुख महेन्द्र केसीले आजबाट अटो संचालनमा कडाई गरिएको बताउनुभयो । ट्राफिक प्रहरीसंग समन्वय गरी अनुमति नलिएका र कागजात नभएका अटोलाई रोक्न भनिएको उहाँले बताउनुभयो । अव अनुमति नलिएका र आवश्यक कागजात नभएका अटोलाई संचालन हुन नदिने उहाँको भनाई छ ।

उहाँका अनुसार अनुमतिका लागि चालकको लाइसेन्स हुनुपर्ने, अटोको ब्लुबुक हुनुपर्ने, सम्बन्धित व्यक्तिको नाममा भएको हुनुपर्ने, २०२२ मोडल भन्दा माथिको हुनुपर्ने, नगरवासी हुनुपर्ने हुन्छ । त्यसपछि १० हजार कर लिएर मात्र संचालन अनुमति दिने व्यवस्था रहेको नगर प्रमुख केसीले बताउनुभयो ।-कखरा

प्रतिक्रिया