आज अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस,एघारै तहमा विचार विमर्श

आज अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस,एघारै तहमा विचार विमर्श

दैलेख चैत ७ । हरेक वर्ष मार्च २१ तारिकका दिन मनाइने ‘अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस’ यस पटक दैलेखका ११ वटै नगरपालिका र गाउँपालिकाकै आयोजनामा सम्वन्धित स्थानीय तहमा मनाइने भएको छ । स्थानीय तह दलित जनप्रतिनिधि मञ्चको आग्रहमा भोलि चैत ७ गते एकै दिन सबै स्थानीय तहमा मनाउन लागिएको हो ।
जिल्लामा जातीय विभेदको समस्या अझैं समाधान नभएको, स्थानीय तहहरुले यो सवाललाई प्राथमिकतामा समेत नराखेको वस्थामा ‘अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस’ को अवसर पारेर छलफल गर्ने विषयमा केन्द्रित हुने गरी कार्यक्रम तय गरिएको मञ्चका कार्यवाहक संयोजक हर्कबहादुर नेपालीले बताउनुभयो ।
लक्षित समूहमा बिनियोजन गरिएको बजेटमा पनि दलित समुदायलाई बेवास्ता गरिएको सवाललाई समुदायले प्रश्न गर्ने र जवाफदेही अधिकारीहरुले जवाफ दिनुपर्ने गरी हाकाहाकी सवालजवाफ चलाउने गरी गर्न लागिको कार्यक्रमको नाम नै विचार विमर्श कार्यक्रम राखिएको छ ।
कार्यक्रमका लागि ५ जना कर्णाली प्रदेशसभाका सदस्यहरु जवाफदेही अधिकारी जानुहुने अधिकारकर्मी पत्रकार अमर सुनारले जानकारी दिनुभएको छ । उहाँका अनुसार गुराँस गाउँपालिकामा साँसद मीनासिंह रखाल, भैरबी गाउँपालिकामा हिमबहादुर शाही, भगवतीमाई गाउँपालिकामा धर्मराज रेग्मी, दुल्लू नगरपालिकामा सुशील थापा र नारायण नगरपालिकामा अम्मरबहादुर थापा हुनुहुनेछ । बाँकी स्थानीय तहमा दलित अधिकारकर्मी र राजनीतिक दलका दलित भातृसंगठनका नेताहरु पुग्नुहुने बताइएको छ ।
‘अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस’ सन्दर्भ र स्थानीय तहमा जातीय विभेद सवाल, स्थानीय सरकारको दायित्व विषय केन्द्रित विचार विमर्श कार्यक्रमको अलवा जिल्लाका ११ वटै स्थानीय तहमा दलित जनप्रतिधिधि मञ्च पनि भोलि नै गठन गठन हुने बताइएको छ ।
अघिल्लो वर्ष दलित नागरिक समाजको अग्रसतामा जिल्लाका ९० वडामा निर्वाचित दलित महिला सदस्य, खुला प्रतिस्पर्धाबाट जितेका ११ जना दलित सदस्य, जिल्लाभरका २६ जना कार्यपालिका सदस्य र २ जना वडाध्यक्ष समेतको जिल्ला स्तरीय भेला गरी ‘अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस’कै बेला स्थानीय तह दलित जनप्रतिनिधि मञ्च जिल्ला समिति गठन गरेको छ । दलित जनप्रतिधिहरुलाई संगठित गरिइएको नेपालकै यो पहिलो नमूना हो ।
जिल्लाका सबै स्थानीय तहको प्रतिनिधित्व गराइएको १३ सदस्यीय यो मञ्च गठन भए यता हरेक महिना बस्ने बैठकमा आआफ्ना स्थानीय तहमा गरिएका प्रयास, प्राप्त सफलता तथा सिकाई र समस्या विषयमा छलफल गर्ने र समाधानका निम्ति रणनीति बनाउन ठूलो सहयोग पुगेको स्थानीय तह दलित जनप्रतिनिधि मञ्चका जिल्ला संयोजक दिनेश बिकले बताउनुभयो ।

प्रतिक्रिया