दैलेखमा चुनिए माओवादी, दुई पालिकाको नेतृत्व माओवादीको पोल्टामा

दैलेखमा चुनिए माओवादी, दुई पालिकाको नेतृत्व माओवादीको पोल्टामा

दैलेख : दैलेखमा कुनै पनि निर्वाचन जित्नु नेकपा माओवादी केन्द्रका लागि ‘फलामको चिउरा’ चपाउनु सरह थियो । अर्थात् सशस्त्र संघर्षबाट संसदीय राजनीतिमा आएपछि माओवादी दैलेखी जनमतबाट अनुमोदन हुन सकेको थिएन । यसपालिको निर्वाचनबाट पहिलोपटक माओवादीलाई स्थानीयले पत्याएका छन् । माओवादीले यसपालि बल्ल वडा र पालिकाको नेतृत्वसमेत हात पार्न सफल भएको हो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि यसअघि सम्पन्न दुईवटा संविधानसभाका निर्वाचनमा सहभागी भयो । तर, जिल्लामा जित हासिल गर्न सकेन । यस्तै यसअघि २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि माओवादी दैलेखमा शून्य नै हुन पुग्यो । त्यसबेला जिल्लामा एउटा पनि वडा र पालिका जित्न नसकेको माओवादीले यसपटक वडा र पालिकामा जित हासिल गरेको हो । दैलेखमा माओवादीले पहिलोपटक जनमतबाट प्रत्यक्ष चुनिएका जनप्रतिनिधि पाएको छ ।

माओवादीले जिल्लाका ११ वटा स्थानीय तहमध्ये मंगलवारसम्म दुई वटा स्थानीय तह र पाँचवटा वडामा जित हात पारिसकेको छ । मतगणना जारी रहेकाले अन्य स्थानमा पनि विजयी हुने सम्भावना कायमै छ । जिल्लाको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका छविराम सुवेदी विजयी भएका छन् । उनले ३ हजार २ सय मत ल्याउँदै कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् । यद्यपि, उनलाई एकीकृत समाजवादीको साथ थियो । यस्तै काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै भगवतीमाई गाउँपालिकाको अध्यक्षमा गणेशबहादुर थापा निर्वाचित भएका छन् । उनलाई पनि उनलाई एकीकृत समाजवादीको साथ थियो ।

माओवादीको तर्फबाटै जिल्लाको डुंगेश्वर गाउँपालिका–१ मा श्यामबहादुर राना, महाबु गाउँपालिका–५ दिपबहादुर शाही र६ मा रेशमबहादुर थापामगर, दुल्लु नगरपालिका–२ मा फारमसिंह थापा र वडा–३ मा कुलबहादुर कार्की वडाध्यक्षमा विजयी भइसकेका छन् ।

नेकपा (माओवादी केन्द्र) दैलेखका संयोजक प्रेमबहादुर कटुवाल क्षेत्रीले जनयुद्ध ताका पार्टीको आधार इलाकामा जनप्रतिनीधि चुनिएको बताए । ‘हामीले नेकपा एकीकृत समाजवादी पार्टीसँग नजिकबाट गठबन्धन गरेका छौँ, दुई वटा पार्टी फरक फरक भएपनि हामीलाई फरक पार्टी भएको अनुभूति भएको छैन्,’ उनले भने ‘जिल्लामा माओवादी केन्द्र नयाँ ढंगबाट स्थापित हुने क्रममा रहेको छ ।’

माओवादी केन्द्रका लागि जिल्लामा स्थापित हुन चुनौतीका चाङ्ग रहेको संयोजक क्षेत्री बताउँछन् । ‘समायानुकल नयाँ नेतृत्व चयन गर्दै पार्टीको संगठन विस्तार गर्ने एकमात्र पार्टी भनेको माओवादी केन्द्र नै हो, यो निर्वाचनमा हामीले निकै ठूलो मेहनत गरेका छौँ, जनतासँग हाम्रा एजेण्डा र हाम्रो पार्टीले मुलुकमा गरेको योगदानबारे जनतासमक्ष लिएर गएका थियौँ, हाम्रो जीतको यात्रा त्यसैको परिणाम हो ।’ अघिल्लो स्थानीय तह निर्वाचनमा आफुहरु शुन्य सरह भएपनि यो निर्वाचनबाट दैलेखमा पनि माओवादीको उदय भएको उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रबाट नौमूले गाउँपालिकाको अध्यक्षमा निर्वाचित छविराम सुवेदीले चुनावी लडाईँमा थुप्रै चुनौती झेल्नु परेको बताए । ‘जिल्लामा पार्टीको संगठन कमजोर छ, हामीले एकीकृत समाजवादीसँग तालमेल गरेर निर्वाचनमा गयौ,’ उनले भने ‘निर्वाचनका दौरान प्रतिस्पर्धी पार्टीहरुले हाम्रो बारेमा जनतासमक्ष भ्रम सृजना गर्ने जस्ता कामहरु समेत गर्नुभयो, त्यसलाई हामीले चिर्न सफल भयौ ।’ उनले तत्कालिन द्धन्द्धको प्रभाव विस्तारै घट्दै गएको समेत बताए । ‘नयाँ पिढीलाई द्धन्द्धको सकारात्मक र नकारात्मक प्रभावबारे खासै जानकारी छैन्, हामीले उहाँहरुलाई हामीले अघि सारेको नयाँ एजेण्डाहरु राख्यौ, मतदाताले हामीलाई विस्वास गरेर भोट दिनुभयो र जित्यौ, हामी जनताको भोटको अबमुल्यन गर्दैनौ ।’

शान्ति प्रक्रियापछि २०६४ र २०७० मा सम्पन्न भएका दुवै संविधानसभा निर्वाचनमा दैलेखमा माओवादीका उम्मेदवारहरू पराजित भए । पाँच वर्षअघि सम्पन्न स्थानीय निर्वाचनमासमेत माओवादीलाई दैलेखीले पराजित गरिदिएका थिए । त्यसबेला जिल्लाका ९० वटा वडाहरूमध्ये एउटा वडाध्यक्ष पनि माओवादीले जित्न सकेको थिएन । यसअघिको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेको सहयोगमा नेता धर्मराज रेग्मी माओवादी केन्द्रको तर्फबाट दैलेख निर्वाचन क्षेत्र नंं. प्रदेश सभा १ बाट निर्वाचित भएका थिए । उनि अहिले एमालेमा छन् ।

हरेक निर्वाचनमा जिल्लामा हार बेहोर्दै आएको माओवादीका लागि यसपटकको स्थानीय निर्वाचन भने फापेको छ । कर्णालीलाई आफ्नो आधारक्षेत्र मान्दै आएको माओवादी दैलेखमा भने जनमतबाट अनुमोदित हुन सकेको थिएन ।
जनयुद्धका क्रममा ज्यादती गरेको भन्दै दैलेखीले माओवादीविरुद्ध प्रतिकार अभियान नै चलाएका थिए ।

२०६१ मंसिरमा स्थानीय महिलाहरूको नेतृत्वमा दैलेखको दुल्लुमा सञ्चालन भएको प्रतिकार अभियानपछि यहाँको जनमत माओवादीविरोधी बनेको थियो । स्थानीयको प्रतिकारपछि माओवादीले जिल्लामा आफ्नो उपस्थिति बलियो बनाउन सकेको थिएन ।

यस्तै, जिल्लाका पत्रकार डेकेन्द्र थापाको हत्या भएपछि पनि स्थानीयहरू माओवादी विरोधी बने । जसले गर्दा माओवादी जिल्लामा निकै कमजोर बनेको थियो । माओवादी विरोधी जनमतका कारण माओवादीले जिल्लामा कुनै पनि निर्वाचनमा जित हात पार्न सकेको थिएन ।

प्रतिक्रिया