पछिल्लो समय लोप हुने खतरामा परम्परागत पञ्चेवाजा

पछिल्लो समय लोप हुने खतरामा परम्परागत पञ्चेवाजा

जाजरकोट :  बीस वर्ष पहिले जाजरकोटका गाउँगाउँमा पञ्चेवाजा विना कुनै पनि खुसीयालीका उत्सवमा काम हुँदैन्थे भने हाल बिहेवारीमा समेत प्रयोग हुन छाडेका छन् ।

पञ्चेवाजा संरक्षणका लागि जिल्लाका सात वटै स्थानीय तहले चासो देखाएको पाइँदैन । कुनै स्थानीय तहले बाजा संरक्षणका लागि भनेर बजेट विनियोजन गर्ने तर अर्कै काममा प्रयोग गर्ने गरेका छन् । नाममा पञ्चेवाजा, काममा अर्कै खर्च गर्ने प्रवृत्तिले पञ्चेबाजाको अस्तित्व मेटिन्छ कि भन्ने चिन्तामा रहेको लामो समयदेखि बाजा बजाउने समूहका जानकारहरु बताउँछन् ।

जिल्लाका संस्कृतिमा जानकार राख्ने राजुराजा सिंह नेपाली लोकसंस्कृति झल्किने प्रसिद्ध पञ्चेवाजा लोप हुने खतरामा परेको बताउँछन् । उनले आधुनिकतासँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसकिँदा अहिले यो बाजा लोप हुने अवस्थामा पुगेको उल्लेख गरे । दुई दमाहा, दुई टयाम्को, नरसिंहा, सहनाई, मजुरा, झ्यालीसँगै राखेर बाजाहरु मिलाएर कम्तीमा पनि १०÷११ जनाको समूहले बजाउने बाजाहरु निकै आकर्षक मानिन्छ । एकै किसिमका पोशाक लगाएर बाजाको तालसँगै लामबद्ध तरिकाले नाचिने हुनाले जिल्लामा बाजाको रौनक तथा नाच निकै रमाइलो मानिन्छ ।

यो बाजा बजाउने समूहमा एकजना मुख्य नाइके हुन्छन् भने अन्य दश जना सहयोगीका रुपमा रहन्छन् । भेरी नगरपालिकाका मनिराम परियारले बाजा लोप हुँदै जान थालेपछि संरक्षणमा कसैले पनि पहल नगरेको गुनासो गरे । विगतमा कुनै शुभ साइतमा यो बाजा पर्याप्त मात्रामा खोज्ने गरिन्थ्यो । आधुनिक बाजाका कारण लोप हुन लाग्दा यसमा आश्रित व्यक्तिहरुको जीवनयापनमा समेत समस्या परेको उनको भनाइ छ ।

पञ्चेबाजा लोप हुँदै जान थालेपछि बाजा बजाउनेहरु पनि अन्य पेशा अँगाल्न थालेको स्थानीय बुढापाकाहरु बताउँछन् । जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले पुरानो चिनारीका रुपमा रहेको बाजा लोप हुन थालेकाले यसको संरक्षण गर्नुपर्ने बताए । बजारमा भित्रिएका आधुनिक बाजा तथा संस्कृतिका कारण अहिलेका पुस्ताले पञ्चे तथा नौमति बाजा अँगाल्न नखोज्दा यसले प्राथमिकता नपाएको उनको भनाइ छ ।

प्रतिक्रिया