नातिनी कुट्ने बज्यै प्रहरी हिरासतमा !

नातिनी कुट्ने बज्यै प्रहरी हिरासतमा !

दैलेख – चार वर्षकी नातिनी गीता बुढालाई कुटपिट गरेको आरोपमा दैलेखमा एक बज्यैलाई प्रहरी हिरासतमा राखेको छ । भगवतीमाई गाउँपालिका–६ चिपिन भन्ने गाउँकी ४२ वर्षीया लालसरा बुढालाई बालबालिका बिरुद्धको कसूर मुद्दामा हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

बुबा विदेश गएका र आमाले अन्यत्र विवाह गरिसकेको अवस्थामा बालिकाको संरक्षण गरिरहेकी बज्यैले कुटपिट र दुव्र्यवहार गरिहेकी भन्ने उजुरीको आधारमा अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकसिंह बिष्टले जानकारी दिनुभयो ।

विवाह भई अर्को ठाउँ गइसकेकी बुहारीलाई पनि लिन नदिएकी, बालिकाको मावलीमा पनि राख्न नदिएकी तर बालिकालाई जोखिमयुक्त काम लगाउने, पेटभरी खान नदिने र कुटपिट गर्ने गरेको भनी परेको उजुरी सम्वन्धमा भगवतीमाई गाउँपालिकाको स्थानीय न्यायिक समितिले समेत सचेत गराउँदा पनि अटेर गरेको कारण पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो ।


बुहारीले लैजान खोज्दा पनि लिन नदिई आफैसंग राखेकी नातिनी गीतालाई एक वर्षदेखि कुटपिट गरेको भन्दै स्थानीयले प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र, सोसेक नेपालको बाल हेल्पलाइन, भगवतीमाई गाउँपालिकाको स्थानीय न्यायिक समितिमा पटक पटक गुनासो गरेका थिए ।

‘लालसराको कुटपिटबाट बालिकाको निदार, ढाड, कम्मर, पिठ्यू लगायतका शरीरभर घाउचोट छन् । कोही कोही पुराना घाउहरु देखिएपछि सहनसकिने जस्तो भएन उजुरी गरियो’ पीडित पक्षले भन्यो । बालिकालाई दैलेख अस्पतालमा उपचारपछि सोसेक नेपालका बाल हेल्पलाइनमा संरक्षणका लागि राखिएको छ ।

जेठो छोरा दिपकबहादुर बुढाले त्यही गाउँछिमेकी खगिसरा खत्रीसंग पाँच वर्ष अघि विवाह भएयता ससाना कुराले विवाद गरिहेका कारण छोराबुहारीको सम्वन्ध राम्रो हुन नसकेकोपछि खगिसराले एक वर्ष अघि अन्यन्त्र विवाह गरेकी र छोरा विदेश गएका छिमेकीहरुको भनाई छ ।

बालबालिकालाई कुटपिट, दुव्र्यवहार गरिएको घटनामा प्रहरीमा उजुरी दर्ता भएको दैलेखमा यो पहिलो घटना हो । ‘बालबालिकाहरुलाई सबै अभिभावकले राम्रो संरक्षण गर्नू अभिभावकको दायित्व हुन्छ’ भन्ने सचेतनाका निम्ति पनि मुद्दा चलाइएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताउनुभयो ।

प्रतिक्रिया