आन्तरिक व्यवस्थापनमा अब्बल डीएसपी श्रेष्ठ

आन्तरिक व्यवस्थापनमा अब्बल डीएसपी श्रेष्ठ

दैलेख : प्रहरीको गतिविधि र व्यवहार हेरेर राज्यप्रतिको धारणा बन्ने गर्दछ, यो जहाँतहीँको प्रचलन हो । कोही अन्यायमा प¥यो, कुनै असजिलो वा असुरक्षामा प¥यो त्यसबेला राज्यको उपस्थिति वा संरक्षण चाहिन्छ त्यस बेला प्रहरीको आवश्यकता खड्किन्छ ।

राणा शासनको बेला को–कसलाई ठीक पार्ने भनेर सत्ता प्रहरी परिचालन गर्दथ्यो, पञ्चायतका बेला व्यवस्था विरोधी अर्थात बहुदलका पक्षमा को–को छन् भनी जानकारी लिन प्रहरी खटाइन्थ्यो । प्रजातन्त्र पुर्नस्थापना पछि चाहि कानूनको पालन र शान्ति सुरक्षा कायम गराउनमा प्रहरी प्रयोग भएको छ । यद्दपी सत्ताधारीले आफूलाई अनुकूल हुने गरी सहयोगको अपेक्षा अहिले पनि गर्दछन् ।

पछिल्लो समयमा समाजमा भइरहेका झै–झगडा, घरेलु हिंसा, सामाजिक असमझदारी वा अशान्त रोक्न प्रहरीको अग्रसरता देखिएको छ । समग्रमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा प्रभावकारी बनाउनकै लागि प्रहरीले सामाजिक विकृति र विसंगतिको अवस्था निगरानी गरेको हुन्छ र गर्नुपर्छ ।

शान्ति सुरक्षा अमनचयन कायम राख्न प्रहरी कर्मचारीहरुको परिचालनको प्रभावकारिता चाहि प्रहरी प्रमुख को छन् ? कस्तो व्यवहार र कार्य कौशलता छ ? भन्ने कुराले अर्थ राख्छ । खासगरी प्रहरी प्रमुखले लिएको नीति र कार्यशैली जिल्लाभर अरु इकाई पनि परिचालन हुने गर्दछन् ।

१५ महिना लामो कार्यकाल सकेर फर्किन लागेका दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठको आन्तरिक कार्यव्यवस्थापन साह्रै उत्कृष्ठ रह्यो । पत्रकार भएको नाताले आफ्नो देखाईमा यो कुरा भन्छु, पत्रकारहरुले प्रहरीसंग समन्वयमा रहिरहने भएकोले प्रहरी प्रमुख बारे जानकारी हुन्छ नै इन्सेक जिल्ला प्रतिनिधि प्रहरीसंग दिनानुदिन सम्पर्कमा रहिरहनुपर्ने भएकोले प्रहरी इञ्चार्ज वा अरु अधिकृत र जुनियर कर्मचारीहरुको व्यवहार नजिकबाट बुझ्न, देख्न पाएको हुन्छ ।

डीएसपी श्रेष्ठ प्रहरी जिल्ला इञ्चार्जको रुपमा २०७७ भदौमा जिल्ला आएका बेला जिल्लामा निषेधाज्ञा छँदै थियो, कोरोना संक्रमणको चाप पनि उच्चतम् भएको बेला उनले कोरोना जोखिम कम गर्न तत्परतामा समय खर्च गरेका थिए । जिल्लो कोभिड संकट व्यवस्थापन समितिको निर्णय अनुसार मास्क अनिवार्य गराउनेमा अग्रसरता राम्रै देखियो ।

प्रहरी कर्मचारीहरुलाई पचास–पचास वटा मास्क, सेनीटाइजर लगायतका सुरक्षा सामग्री प्रबन्ध गरेर उनीहरुको हौसला बढाए । त्यही समयमा आफ्नो तलव र अधिकृत तथा जुनियरहरुको स्वच्छिक सहयोगमा रकम समेत लगाएर उनले दैलेख जिल्ला अस्पताललाई कन्सेटेटर लगायतका उपकरण सहयोग गरे ।

जिल्ला प्रहरी कार्यालयमा आएको बजेटको उचित सदुपयोग गर्दै उनले प्रहरी हिरासत कक्षमा काठको तख्ता बिछ्याए, प्रहरी हाताभित्रका प्रतीक्षालयहरु मर्मत सुधार, कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा प्रशासनिक भवनको माथि ट्रस थपेर सञ्चार शाखा व्यवस्थापन लगायतको भौतिक सुधारका काम उल्लेखनीय काम भए ।

भौतिक व्यवस्थापनको अलवा प्रहरी जुनियर कर्मचारीको भान्सा खानपिन सुधारसंगै गुणस्तरबारे नियमित सुझाव लिने र त्यस अनुसार परिमार्जन अनि नियमित गुनासो सुनाइको अवसर दिएको देखियो । दैलेखमा आएका प्रहरी इञ्चार्जहरुको तुलनामा उनले आन्तरिक व्यवस्थापनमा गरेको नयाँ काम हो, यसले प्रहरीका जुनियर कर्मचारीहरुको मनोवल बढाएको पाइयो ।
प्रहरी कर्मचारीहरुलाई मनोवल बढाउने कामसंगै गलत गर्नेहरुलाई सचेत गराउने काम थालेका छन् । उनी आएको एक महिना जस्तो समयमा नारायण नगरपालिका–१ नमूनावस्तीमा आत्महत्या गरेकी महिलाको प्रकृति मुचुल्का गर्न गएको टोलीको एक सिपाहीले आत्महत्या महिलाकी छोरीलाई यौनदुव्र्यवहार गरेको पुष्टि भएपछि निलम्बन गरेका थिए ।

जिल्ला ट्राफिक कार्यालयमा कार्यरत दुई जना जुनियर प्रहरी कर्मचारीले सदरमुकामदेखि केही टाढा गाउँमै बास बसी महिलाहरुसंग रात विताएको स्थानीयहरुको सिकायत पुष्टि भएपछि उनीहरुलाई निलम्बन गरेको घटनाले महिला माथि हुने शोषण तथा हिंसा विरुद्ध हुने सबै क्रियाकलापमा शून्य सहनसिलता देखाए ।

कोरोना संक्रमितको मृत्यू भएको बेला दाहसंस्कार गर्ने स्थानसम्म लैजान, कतिपय बेला दुर्घटनामा मृत्यू भएका व्यक्तिहरुको शव ल्याउन स्थानीयले गाडी दिन नमानेको बेला प्रहरीको गाडीमा बोकेर गन्तव्य स्थानसम्म पु¥याउने परोपकारी कामले डीएसपी श्रेष्ठको मानवता झल्कायो ।

समाजमा भएका सबैजसो अपराध घटनाका आरोपितहरु पक्रन सक्नु पनि डीएसपी श्रेष्ठको नेतृत्व सफल नै देखियो । डुंगेश्वर गाउँपालिका–६ लटालीकी २१ वर्षीया सुनिता बिक हत्या घटना लगायत कैयौं अपराध भएको घटनामा घटनास्थलमा पुगी उनले अनुसन्धान प्रभावकारी बनाए ।

डीएसपी श्रेष्ठको कार्यकालका आधा समय कोरोना संक्रमणको उच्च जोखिम रहेको अवस्थामा पनि २ सय ५० वटा मुद्दा दर्ता भएको थियो । यसबाट अपराध नियन्त्रणमा प्रयास गरेको देखियो । फौजदारी मुद्दा बाहेक अन्याय र असजिलोमा परेकाहरुले न्याय पाउन सजिलोको लागि जिल्ला प्रहरी कार्यालय र मातहतका इकाईहरुमा ठाडो उजुरी शाखा स्थापना गरेर पीडित र आरोपित वीच छलफलबाट समस्या समाधानमा पहल गरे ।

अपराध घटनामा मुद्दा चलाउने प्रहरीको दायित्व नै हो तर अपराध रोकथाम निम्ति जनचेतनामूलक कार्य पनि थालिएका छन् । बढ्दो आत्महत्या रोक्थाम गर्न जनचेतनामूलक भिडियो डकुमेण्टरी तयार पारे । उनले महिला, बालबालिका, जेष्ठ नागरिक र पिछडिएका जाति तथा समुदायको हक अधिकार बारे सचेतनामूलक कार्यक्रमहरुले पनि डीएसपी श्रेष्ठलाई एक असल प्रहरी इञ्चार्ज निर्वाह गर्न सघाएको हो ।

प्रहरी इञ्चार्जको रुपमा प्रहरी कर्मचारीको मन जित्ने, कुशल प्रशासक, कानूनको पालक रुपमा आन्तरिक व्यवस्थापन अब्बल मानिए पनि वाह्य जनसम्पर्क कम भएको भन्ने उनीप्रति गुनासो नभएको होइन । प्रहरीबाट सेवा लिन आएका सेवा सन्तुष्टी दिने आफ्नो स्वभावका कारण बाह्य जनसम्पर्क खास चासो नदिएको डीएसपी श्रेष्ठको भनाई थियो । आफू अन्तरगतका ३० वटा सबै प्रहरी इकाईमा पटक पटक पुगेपछि कसरी जनसम्पर्क कम भन्न मिल्छ ? उनी प्रश्न गर्छन् ।

बाजेको पुस्ताले जिल्ला छोडेर रुपन्देहीमा बस्तै आएका डीएसपी श्रेष्ठ दैलेख मेरो आफ्नो जिल्ला हो गौरवका साथ भन्थे । सदरमुकामका रैथाने उनका नातेदारहरुसंग समदूरीको व्यवहारले व्यवसायिकता देखायो । विशेष दखल र ज्ञान सीप अनुसार डीएसपी श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान महाशाखामा सरुवा गरेको छ । हालै सरुवा भएका डीएसपी अनुपम श्रेष्ठलाईका सबैजसो दैलेखीहरुले असल प्रहरी अधिकृतको रुपमा सम्झिरहनेछन् ।

प्रतिक्रिया