निजामति ट्रेड यूनियनमा संगठनलाई अग्रता

निजामति ट्रेड यूनियनमा संगठनलाई अग्रता

दैलेख, जेठ १९ – निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको आज सम्पन्न निर्वाचनमा दैलेखमा एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले ५७ दशमलव ८२ प्रतिशत मत प्राप्त गरेको छ । खसेको कुल मत ३ सय ३९ मध्ये १ सय ९६ मत लिन सफल भएको छ ।
संगठनको निकटतम प्रतिस्पर्धी काँग्रेस निकट नेपाल निजामति कर्मचारी यूनियन संघले ३४ दशमलव ८१ प्रतिशत अथवा १ सय १८ मत पाएको छ । तेश्रो स्थान लिएको माओवादी समर्थक नेपाल राष्ट्रिय कर्मचारी संगठन निमामतिले ५ प्रतिशत पनि लिन सकेन, उसले कुल १६ मत प्राप्त गरेको छ । IMG_4279
श्रम दर्ता भएका ६ वटा निजामति कर्मचारीको संगठनहरु मध्ये नेपाल मधेशी निजामति कर्मचारी मञ्चले २ मत, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र राष्ट्रिय कर्मचारी संगठनले चाहिं १–१ मत मात्र प्राप्त गरेका छन् ।
पाँच वर्षे कार्यकालका लागि नेतृत्व छान्न पहिलो पटक भएको यो निर्वाचनमा संगठनले पाएको मतका आधारमा जिल्लामा अध्यक्ष, सचिव, कोषाध्यक्ष पाउने भएको छ भने दोश्रो स्थान हासिल गरेको संघले पदाधिकारी तर्फ उपाध्यक्ष मात्र पाउने छ ।
अहिले संगठनका नाममा पाएको मतका आधारमा तत्तत् कर्मचारी संगठनहरुको पदीय जिम्मेवारी सहित नामावली निर्वाचन समितिलाई उपलब्धी गराउने र त्यही नामावली अनुरुपका व्यक्तिलाई निर्वाचित घोषणा गरिने निर्वाचन निर्देशिकाले व्यवस्था गरेको छ ।
दैलेखमा कुल ३ सय ८२ मतदाता मध्ये ३ सय ३९ मत खसेकामा ५ मत बदर भएको निर्वाचन अधिकृत जिल्ला सहन्यायाधिवक्ता बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया