विभेद हटाउन दलितको सचेतना जरुरी ः प्रजिअ

विभेद हटाउन दलितको सचेतना जरुरी ः प्रजिअ

दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जातीय विभेद सरकारवादी मुद्दा भएकोले दलित समुदायले सहनु नहुने बताउनुभएको छ । दैलेख सदरमुकाममा आज भएको समता फाउण्डेशनको आयोजना जातीय भेदभाव तथा छुवाछूत नियन्त्रण सम्वन्धी सरकारी नीति कार्यान्वयन अवस्था पुनरावलोकन कार्यक्रममा उहाँले सो कुरा भन्नुभएको हो ।

कार्यक्रममा भनाई राख्दै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री
कार्यक्रममा भनाई राख्दै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री

दलित समुदाय अधिकारका लागि सचेत हुने र गैरदलितहरुले चाहिं सहयोगी भूमिका खेल्न सके जातीय विभेद जस्तो सामाजिक कुसंस्कार छिटो निर्मूल गर्न सकिने उहाँको धारणा छ । त्यसबखत प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जिल्लामा जातीय विभेद हटाउन, दलित समुदायको आर्थिक, सामाजिक र शैक्षिक स्तर सुधार गर्न गठित दलित निगरानी केन्द्रलाई सशक्त बनाउदै लैजाने प्रतिवद्धता जनाउनुभयो ।
प्रहरी नायव उपरीक्षक बीरबहादुर ओलीले प्रहरी जातीय विभेद समस्यालाई गम्भीर रुपमा लिएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष रबिन्द्रराज शर्माले छुवाछूत समस्यालाई राजनीतिक दलहरुले पनि मूल एजेण्डामै राखेर विभेद निर्मूलमा जुटेको प्रष्ट्याउनुभयो ।
कार्यक्रममा जिविस स्थानीय विकास कोषका खमबहादुर थापा, राजमोका लक्ष्मी रेग्मी, राप्रपाका रामबहादुर थापा, अखण्ड नेपालका बीरबहादुर भण्डारी, जनअधिकार फोरमका पदम घर्ती, अधिवक्ता सर्वराज जोशी, प्रेमबहादुर थापा लगायतले दैलेखमा जातीय विभेदको अवस्था र समस्या समाधानका उपाय विषयमा विचार राख्नुभएको थियो ।
एनएनडीएसडब्लुओका सदस्य रत्नबहादुर बिकको अध्यक्षतामा Dalit Sachetana (1)भएको कार्यक्रममा समता फाउण्डेसनका गोपाल नेपाली, एनएनडीएसडब्लुओका कार्यक्रम संयोजक चित्रा बिकले जातीय भेदभाव तथा छुवाछूत नियन्त्रण सम्वन्धी सरकारी नीति कार्यान्वयन अवस्था पुनरावलोकन विषयमा प्रकाश पार्नुभएको थियो ।
अनुसन्धानकर्ता अधिवक्ता प्रकाश नेपालीले राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र जातीय भेदभाव तथा छुवाछूत नियन्त्रण सम्वन्धी सरकारी नीतिले जातीय विभेद न्यूनीकरणका निम्ति राखेका रणनीति र कार्यान्वयन संरचना तथा कार्य पद्धतिका विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया