अछाममा गर्भपतन गर्नेको तथ्यांक – ३ बर्षमा २ हजार ६ सयले गराए गर्भपतन

अछाममा गर्भपतन गर्नेको तथ्यांक – ३ बर्षमा २ हजार ६ सयले गराए गर्भपतन

गीता कुंवर, अछाम । अछाममा थुप्रै महिलाले सुरक्षित गर्भपतन बारेको कानुनी ज्ञानको अभाव तथा सुरक्षित गर्भपतन सेवा प्रदायक संस्थासंगको सहज पहुँचको अभावमा असुरक्षित गर्भपतन गराइरहेका छन् । जसको पुष्टी अछामको बयलपाटा अस्पतालमा मात्र १० महिनाको अवधिमा आएका एकसय ५० महिलाको तथ्यांकले गर्दछ । अस्पतालमा आएका ति एकसय ५० महिलाको संख्या भनेको गाउँमा मेडिकलले गैरकानुनी रुपमा गर्भपतन गर्नका लागि औषधी खुवाउँदा असफल भएपछि अन्त्यमा अस्पताल पुगेकाहरुको हो ।
बयलपाटा अस्पतालका मेडिकल अधिकृत डाक्टर विकास गौचनले गाउँमै मेडिकलको औषधी सेवन गरेर राम्रोसँग गर्भपतन नुहँदा तथा स्वास्थ्यमा अन्य समस्या परेर अन्तिम अवस्थामा मात्र महिला अस्पताल आउने गरेको जानकारी दिनुभयो । ‘पहिलो कुरा त मेडिकलले गर्भपतन गराउने औषधी बिक्री गर्न नै पाउँदैनन् त्यसैमा औषधीले काम गर्ने भनेको नौ हप्तासम्मको मात्र गर्भ हो उनीहरु ननापेर अनुमानको भरमा औषधी दिन्छन्’ गौचनले भन्नुभयो ‘मेडिकलले सेवा भन्दा पनि औषधि बेचेर पैसा कमाउने सोचले कम गुणस्तरको औषधी दिने गरेको भेटिएको छ ।’
गाउँको औषधीले राम्रोसंग काम नगरेपछि अस्पतालमा आएका महिलाहरुको तथ्यांक हेर्दा उनीहरु प्रायस् जिल्लाका दुर्गम गाउँका छन् । जहाँ सरकारले सुरक्षित गर्भपतन सेवाको पहुँच सहज रुपमा पुर्याउन नसकेको देखिन्छ । एकातर्फ सुरक्षित गर्भपतन सेवा बारेमा ग्रामिण भेगका सबै महिलामा जानकारी नहुनु तथा अर्कोतर्फ सेवाप्रदायक सस्थासंग सहज पहुँच नहुनु जस्ता कारणले महिलाले गाउँकै निजी मेडिकलहरुबाट औषधी सेवन गर्नुपर्ने बाध्यता सृजना भएको देखिन्छ । अनिच्छित रुपमा गर्भ रहेर समस्यामा परेका महिलाको मजबुरीको फाईदा उठाउँदै निजी मेडिकल संचालकहरुले त्यसलाई पैसा कमाउने राम्रो अवसरका रुपमा लिने गरेको देखिन्छ ।
गैरकानुनी रुपमा मेडिकलमा गर्भपतन गराउने औषधीको बिक्री वितरण भइरहेको देखिए पनि राज्यका निकायबाट प्रभावकारी अनुगमन हुन सकेको देखिँदैन । गैरकानुनी रुपमा गुणस्तरहीन औषधी बेचेर गर्भपतन गराउने महिलाको जीउ ज्यानसँग जोडिएको महत्वपूर्ण बिषयमा पनि राज्यले खासै ध्यान नदिएको डा। गौचनले गुनासो गर्नुभयो । अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनुका साथै सेवा प्रदायक सस्थाको संख्या बढाउँदै लग्नुपर्नेमा उहाको जोड छ ।
हाल जिल्ला अस्पताल मंगलसेन, बयलपाटा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौ र कमलबजार, स्वास्थ्य चौकीहरु मेल्लेख, बिनायक, जयगढ, दुनी, हिच्मा, जुपु, शान्तडा, तुर्माखाँद र बारलामा सुरक्षित गर्भपतन सेवा सुचारु छ । सुरुमा जिल्ला अस्पताल र बयलपाटा अस्पतालमा मात्र सुरु गरिएको सुरक्षित गर्भपतन सेवा अहिले विस्तार भएर जिल्लाका बिभिन्न १३ वटा स्वास्थ्य संस्थाहरुबाट संचालित छ । जसमध्ये जिल्ला अस्पताल, बयलपाटा अस्पताल, प्राथमिक केन्द्र चौरमाण्डौ र कमलबजारमा नौ महिनासम्मको औषधि तथा १२ हप्तासम्मको भ्याकुमको माध्यमले गर्भपतन गर्ने सेवा छ भने बाँकी नौवटा स्वास्थ्य संस्थामा नौ महिनासम्मको गर्भ औषधीको माध्यमले पतन गर्ने सेवा सूचारु छ । ७५ वटा स्वास्थ्य संस्था रहेको अछाममा जम्मा १३ वटा संस्थामा मात्र सुरक्षित गर्भपतन सेवा सुरु हुँदा भौगोलिक विकटताका कारणले अधिकांश महिलाहरुको ति सूचिकृत स्वास्थ्य संस्थाहरुमा सहज पहुँच हुन सकेको छैन । जसका कारण उनीहरु गर्भ रहेमा पतन गर्नका लागि निजी मेडिकलकै औषधीको प्रयोग गर्न बाध्य छन् ।
बयलपाटा अस्पतालमा यी वाहेक १८ हप्तासम्मको गर्भपतन गर्ने सेवा पनि सुरु भएको छ । बच्चा बिकलांङ्ग जन्मिन सक्ने, आमाको ज्यानै जोखिममा रहेको, हाडनाता करणी तथा जर्वजस्ती करणीबाट रहेको गर्भलाई मात्र यस्तो अवस्थामा पतन गर्न मिल्ने कानुनी व्यवस्था छ । हालै मात्र सुरु भएको यो सेवाबाट पनि तीन महिला लाभान्वित भइसकेको अस्पतालले जानकारी दिएको छ । पछिल्लो करिव तीन बर्षको अवधिमा अछाममा करिव दुई हजार छ सयले सुरक्षित गर्भपतन सेवा लिईसकेका छन् ।

प्रतिक्रिया