टोल टोलमा प्रहरी अभियान सुरु

टोल टोलमा प्रहरी अभियान सुरु

दैलेख असार १ – दैलेख जिल्लामा प्रहरी टोल टोलमा अभियान सुरु भएको छ । नागरिक र प्रहरीको सहयोग र सहकार्यमा अपराध र अपराधजन्य समस्याहरुको पहिचान र समाधानको माध्ययमबाट अपराध रोक्ने उदेश्यले अभियान सुरु भएको हो । सामुदायिक प्रहरीको अवधारणा अनुरुप नागरिक मैत्री प्रहरीको रुपमा छवी विस्तारमा तिब्रता दिनुका साथै प्रत्येक जनताको घरदैलोमा प्रहरी पुगी सुरक्षा र सरोकारका विषयमा जनताहरुलाई सुसुचित गराउने तथा बस्तुगत स्थितीको विषयमा जानकारी लिने पद्धतीको विकास गर्न गृहमन्त्रीबाट जारी गृह प्रशासन सुधार कार्यक्रम अनुसार टोल टोलमा प्रहरी अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी प्रमुख सरोज पौडेलले जानकारी दिएका छन् ।
अभियान अन्तरगत पहिलो चरणमा जिल्ला सदरमुकाम स्थित नारायण नगरपालिकाको ११ वटा वडालाई ३३ वटा टोलमा विभाजन गरि अभियान संचालन गरिने प्रहरी प्रमुख पौडेलले जानकारी दिए । शुक्रवार जिल्ला प्रहरी कार्यालय दैलेखमा गरिएको पत्रकार भेटघाटमा कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै टोल विभाजन गर्दा वडा भित्रको जनसंख्या, जनघनत्व, सामुहिक बस्ती, सडक खानेपानी, सिसिटिभी जडान, स्थानीय युवा क्लब, टोल सुधार समिति, तथा अपराधको स्थितीलाई आधार बनाइने बताए । टोल विभाजन गर्दा नगरपालिकाका एक वडामा तिन वटा टोल र गाउँपालिकाको एक वडामा २ वटा टोलमा विभाजन गरिने प्रहरी प्रमुख पौडेलको भनाई छ । अभियानका लागि एक टोल एक प्रहरी छनौट गरिने उनले बताए ।
पत्रकार भेटघाटमा बोल्दै सामुदायिक प्रहरी सेवा केन्द्र दैलेखका अध्यक्ष प्रेम थापाले नेपाल प्रहरी प्रत्येक नागरिकको घरदैलोमा पुगी सुरक्षा सरोकारका विषयमा जानकारी दिनुका साथै समुदायमा सुरक्षा सचेतना अभिबृद्धी हुने बताए । यो अभियानले अपराध रोकथाम, शान्ति सुरक्ष कायम तथा अपराध अनुसन्धान लगाएत प्रहरी सेवामा प्रभावकारीता आउने विश्वास व्यक्त गरे । उनले प्रहरी हामी सबैको साथी भएकाले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए । अभियान शनिवार देखीनै सुरु भएको थापाले जानकारी गराए ।

प्रतिक्रिया