आर्थिक समृद्धितर्फ उन्मुख छ ठाटीकाँध गाउँपालिका

आर्थिक समृद्धितर्फ उन्मुख छ ठाटीकाँध गाउँपालिका

 हिक्मत बहादुर नेपाली 
दैलेख-
विकट क्षेत्र अन्र्तगत पर्ने दैलेख पश्चिमको ठाटीकाँध गाउँपालिकासामु विकास र समृद्धिका थुप्रै्र चुनौतीहरु छन् । प्राकृतिक सम्पदामा सम्पन्न भएर पनि आर्थिक रुपले कमजोर रहेको ठाटीकाँध गाउँपालिका साविकका तीन गाविस मिलेर बनेको छ ।जल, जमीन, जङ्गल, जडीबुटी, जङ्गली जनावर एवं उर्वरभूमि रहेको यो गाउँपालिका पूर्व पश्चिम उत्तर दक्षिण गोलाकार भू–धरातल भएको र अनेकतामा एकता रहेको भए पनि आन्तरिक आम्दानी भने यो गाउँपालिकासँग छैन । भौगोलिक बनावट, स्रोत साधनको अभाव, नागरिकहरुमा चेतनामा कमी, रचनात्मक प्रतिपक्षको अभाव जस्ता विषयहरु गाउँपालिकाको लागि चुनौतीको विषय बनेको गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले बताए।

ठाटीकाँध गाउँपालिका–६ का वडाध्यक्ष मन बहादुर सिजापती गाउँपालिकामा मात्रै नभई वडा तहमा समेत चुनौतीहरु रहेको बताउछन्। उनका अनुसार आर्थिक स्रोतको कमी र नागरिकमा चेतनाको कमी नै प्रमुख चुनौतीहरु हुन् ।यिनै चुनौतीहरुका बीच सम्भावनाहरुको खोजी गर्दै आर्थिक विकास र समृद्धिको लक्ष्यसहित गाउँपालिकाले विभिन्न योजनाहरु तय गरेको छ । आर्थिक समृद्धिको पहिलो स्रोतको रुपमा रहेको वन जङ्गललाई व्यवस्थित गर्ने योजना गाउँपालिकाले बनाएको छ । गाउँपालिकाभित्रका ३३ वटा घनाजङ्गललाई व्यवस्थित बनाउने गाउँपालिकाको योजना छ ।

वन जङ्गललाई व्यवस्थित गरेर पशुपालनलाई पनि सँगसँगै जोडेर लग्ने अध्यक्ष शाहीको भनाइ छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले व्यावसायिक कृषकहरुलाई बाख्रा वितरण गर्ने गरी बजेट विनियोजनसमेत गरेको छ । बाख्रापालनका लागि गाउँपालिकाले तीन वटा वनमा नर्सरी बनाउन लागेको छ । बाख्रापालन व्यवसायले स्थानीय स्तरमै रोजगारी सिर्जना हुनाका साथै आर्थिक उर्पाजनसमेत हुने भएकाले बाख्रापालन पकेट क्षेत्र निर्धारण गरिँदै छ ।

“स्थानीय स्तरमै उत्पादन हुने बाख्रा स्वास्थ्यका दृष्टिकोणले उत्तम हुन्छ,” अध्यक्ष शाहीले भने, – “त्यो सँगै विकास, रोजगारी र आर्थिक उपार्जनको माध्यम बन्छ ।”गाउँपालिकाभित्रका हरेक नागरिकको जीवनयापनमा सहजता ल्याउन गाउँपालिकाले विभिन्न योजनाहरु अगाडि सारेको छ । तरकारी, फलफूल र नगदेबालीको विकासमा गाउँपालिकाले नै लगानी गर्ने अध्यक्ष शाहीको भनाइ छ । “कृषि क्षेत्रको पकेट क्षेत्र निर्धारण गरेर जनताको जीवनस्तर सुधार्ने हाम्रो प्राथमिकतामा छ,” अध्यक्ष शाहीले भने, – “कृषि क्षेत्रको विकासले पनि गाउँपालिकाको आर्थिक विकास र समृद्धिमा टेवा पु¥याउँछ ।”

आर्थिक समृद्धिको अर्को आधार स्तम्भको रुपमा रहेको जलविद्युत् आयोजना सञ्चालनका लागि गाउँपालिकाले पहल थालेको छ । गाउँपालिकाको मटेलाखोलामा झण्डै ४ मेगावाटसम्मको लघुजलविद्युत् आयोजना सञ्चालनमा ल्याउने गरी पहल थालेको अध्यक्ष शाहीले जानकारी दिए। त्यसका लागि कर्णाली प्रदेश सरकारसँग सहकार्य भइरहेको बताउँदै उनले अब केही महीनाभित्र त्यसको डिपिआर तयार गरिने जानकारी दिए।

सामुदायिक ग्रामीण विद्युतीकरण गर्ने गाउँपालिकाको अर्को महत्वाकांक्षी योजना हो । अध्यक्ष शाहीका अनुसार आगामी तीन वर्षमा ठाटीकाँध गाउँपालिकाका हरेक नागरिकको घरमा विद्युत् सेवा पुग्नेछ । “गाउँपालिकाको केन्द्र वरिपरिका स्थानीय नागरिकहरु वर्षौंदेखि खानेपानीको हाहाकारले कष्टपूर्ण जीवनयापन गर्न बाध्य थिए,” अध्यक्ष शाहीले भने, – “यो समस्या पनि आगामी तीन महिनामा समाधान भएर जान्छ ।” गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले काम गर्न शुरु गरेको डेढ वर्र्ष बितिसक्दा समेत बैंक पुग्न नसकेको ठाटीकाँध गाउँपालिकामा बैंक स्थापनाको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाको केन्द्रसम्मको सडक सञ्जाल फराकिलो र बाह्रै महिना सञ्चालनमा ल्याउने योजना छ । त्यति मात्र नभई गाउँपालिकाभित्रका सबै वडालाई सडक सञ्जालमा जोडेर त्यसको स्तरोन्नति गर्ने महत्वाकांक्षी योजना पनि छ । मटेलादेखि गाउँपालिकाको केन्द्रसम्म गत आर्थिक वर्षमा कुल ६० लाख रुपैयाँको लगानीमा चौडा सडक निर्माण भइसकेको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पनि गाउँपालिकाले विभिन्न योजनाहरु तय गरेको छ । शिक्षा क्षेत्रलाई विकास र व्यवस्थित गर्न गाउँपालिकाभित्र ६ वटा माध्यमिक विद्यालय बनाइने अध्यक्ष शाहीले बताए। स्वास्थ्यको क्षेत्रमा हरेक वडामा सामुदायिक इकाई स्थापना, सुरक्षित मातृत्व, हालको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने गाउँपालिकाको लक्ष्य छ । अध्यक्ष शाहीका अनुसार गाउँपालिकाभित्रका सबै वडामा यसैवर्षभित्र बर्थिङ्ग सेन्टर स्थापना हुँदैछ ।

गाउँपालिकाको उत्तरी क्षेत्रमा पानीका स्रोतहरु, जडीबुटी, जङ्गली जनावर तथा निलम ढुङ्गाको उपलब्धताका साथै स्याउ र अलैँची खेतीको सम्भावना गाउँपालिकाका लागि आर्थिक समृद्धिको दिशामा उन्मुख हुने आधारहरु भएको अध्यक्ष शाहीको बुझाइ छ । “त्यति मात्र नभई पशुपालन तथा विभिन्न तरकारी खेतीको पनि प्रशस्त सम्भावना रहेको छ,” अध्यक्ष शाहीले भने, – “यस गाउँपालिकाको मध्य भागमा धान, गहुँ, मकै, कोदो जस्ता अन्न बाली र तरकारी खेतीको प्रशस्त सम्भावना रहेको छ ।”

पूर्वमा रामगाड, उत्तरमा भूतगाड भएर बग्ने सिङ्गो रामगाड खोला, पश्चिमतर्फ बग्ने चिनेखोला निरन्तर बगिरहने यहाँका खोलाहरु हुन् । यी तीन वटै खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा जस्ता निर्माण सामग्रीहरु उपलब्ध गर्न र गराउन सके गाउँपालिकाको समृद्धि खोज्न अन्त कतै जानु नपर्ने अध्यक्ष शाहीको बुझाइ छ । “जलविद्युत्को प्रशस्त सम्भावना छ,” अध्यक्ष शाहीले भने, – “‘लेकाली क्षेत्रमा पाइने निलम ढुङ्गा र जौचौरमा भएको तामाखानी एवं तिरुवा टोलको फलाम खानीको उत्खनन गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।”आफ्नो कार्यकालभित्र देखिने र जनताले महसुस गर्ने गरी कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा आर्थिक विकास र समृद्धिका काम गर्ने गरी योजना निर्माण गरेको पनि उनले बताए।रासस

प्रतिक्रिया