सामुदायिक गस्ती गर्दै प्रहरी

सामुदायिक गस्ती गर्दै प्रहरी

हिक्मत बहादुर नेपाली
दैलेख माघ २९ ।

नेपाल प्रहरीले दैलेखका ११ वटै स्थानीय तहमा गस्ती गर्ने भएको छ । प्रहरीले आगामी फागुन देखि जिल्लाको ११ वटै स्थानीय तहमा सामुदायिक प्रहरी गस्ती गर्ने भएको हो । नेपाल प्रहरीले भर्खरै मात्र सुरु गरेको ‘समुदाय –प्रहरी साझेदारी’ अवधारणा अनुरुप सामुदायिक प्रहरी गस्ती गर्न लागिएको हो । जिल्ला प्रहरी कार्र्यालय दैलेखद्धारा आज यहाँ आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रमका बारेमा जिल्लाका स्थानीय तहका प्रमुखहरुसंग गरिएको समिक्षामा यस्तो जानकारी दिइएको हो ।

अवधारण अनुसार आगामी रणनीतिबारे जानकारी गराउनुहुँदै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक ठाकुर प्रसाद पोखरेलले ११ वटै स्थानीय तहमा गरिने प्रहरी गस्तीको टोलीसँग मोटरसाइकल, ह्याण्ड सेट र सियूजी फोन रहनेछ । सोहि कार्यक्रम अन्तरर्गत दैलेखका ११ वटा स्थानीय तहमा ११ वटा मोटरसाइकल र २ जना प्रहरी कर्मचारी २४ सै घण्टा खटिनेछन् । एक मोटरसाइकल सहितको दुई जना प्रहरी कर्मचारीको टोलीले प्रत्येक दिन २४ सै घण्टा समुदायमा गस्ती गर्नेछन् । प्रत्येक ६÷६ घण्टामा प्रहरी कर्मचारीहरु फेरबदल हुने प्रहरी नायब उपरिक्षक पोखरेलको भनाई छ ।
सामुदायिक प्रहरी गस्तीका लागि दैलेखका सबै स्थानीय तहले मोटरसाइकल खरिद गरि सहयोग गर्ने भएका छन् । फागुनमा संचालन हुने गतिवीधीबारे जानकारी गराउँनुहुँदै प्रहरी नायब उपरिक्षक पोखरेलले जिल्लाका सबै माध्यामिक विद्यालयमा स्कुल सम्पर्क कार्यक्रम गर्ने जानकारी दिनुभयो । ‘मानव बेचबिखन, बाल विवाह, बहु विवाह र साईवर अपराध सम्बन्धि कार्यक्रम संचालन गर्छौ,’ उहाँले भन्नुभयो ‘यि कार्यक्रम कक्षा ९ देखि १२ सम्म संचालन हुनेछ ।’ प्रहरीले समाजमा हुने अपराधलाई न्यूनीकरण गर्न स्थानीय तहको सहयोगमा सिसीटिभी जडान कार्य गर्ने उहाँको भनाई छ । प्रहरी उपरिक्षक पोखरेलका अनुसार जिल्लाका विभिन्न नाका र मुख्य राजमार्गमा सिसीटिभी जडान गर्ने कार्यक्रम तय गरिएको छ ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा प्रहरी’ भन्ने मुल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष राखेको प्रहरीले जिल्लाका सबै क्षेत्रमा समिति निर्माण गरेको छ ।
‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा अनुसार जिल्ला समिति, ११ वटा पालिका समिति गठन गरिसकेको छ । यस्तै ९० वटा समुदाय वडा समिति, ८२ वटा माध्यामिक बिद्यालयमा प्रहरी बिद्यालय सम्पर्क समिती र ३ सय ६० टोल मध्ये ३ सय ३० वटा टोल समिती गठन गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल सम्म १३ सय ६५ लिटर अवैध घरेलु मदिरा वरामद तथा नष्ट गरेको छ भने बाल विवाह न्यूनिकरण लगाएत ८ सय ३६ पटक जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । सोहि अबसरमा प्रहरी नायब उपरिक्षक ठाकुर प्रसाद पोखरेलले समाजमा घट्ने विभिन्न किसिमका अपराधिक घटनाहरु न्युनिकरण गर्ने, अपराधिक घटनाहुने स्थानको पहिचान गर्ने, अपराधिक मनोवृत्तिका मानिसहरुको पहिचान गर्ने जस्ता सात बुँदे सुरक्षा योजना सार्वजनिक गर्नुभयो ।

गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे ‘गृह प्रशासन सुधार योजना’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा कात्तिक ११ देखि सुरू भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तह र गाउँसम्म पु¥याउने लक्ष्य लिइएको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक पोखरेलको भनाई छ । सोहि अबसरमा दैलेखका स्थानीय तहका प्रमुखले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणाले समाजमा हुने अपराध ठूलो मात्रामा कमी आउने बताउनुभयो । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास लिएको बताउनुभयो । चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्य बहादुर शाहीले प्रहरी सुरक्षित, सम्मानित हुनुपर्ने बताउँदै शान्ति सुरक्षा कायम गर्न समुदायको सहयोग आवश्यक पर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया