दैलेखमा सडकको विषयमा विवाद, प्रहरीमाथि आक्रमणपछि हवाई फायर

दैलेखमा सडकको विषयमा विवाद,  प्रहरीमाथि आक्रमणपछि हवाई फायर

प्रतिकात्मक तस्बिर

हिक्मतबहादुर नेपाली
दैलेख वैशाख २८ ।
जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा सडक बनाउने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप भएको छ। नगरको वडा नम्बर ४ सातटाकुरामा सडक खन्ने क्रममा शनिबार साँझ भएको विवादले झडपको रुप लिएको हो। झडपका क्रममा एक प्रहरी र २ स्थानीय घाइते भएका छन्।

कर्णाली प्रदेश सरकारको २५ लाख र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ५ लाखमा बजेटमा धनपायाबाट सातटाकुरा–नाव सालडाँडा हुँदै जंगलसम्म १३ किलो सडक निर्माण हुँदै थियो। सडक निर्माणका लागि रमेश शाहीको अध्यक्षतामा गठित उपभोक्ता समितिको सट्टा अर्को उपभोक्ता समिति पनि नगरपालिकामा दर्ता गराउन ल्याएको विषयमा विवाद सुरु भएको थियो। विवाद चर्काउन स्थानीय जग्गा धनी कमल शाहीले जग्गा नदिन खोजेका थिए। उनलाई समेत सहमत गराएर सडक खन्न डोजर लगाइरहेका बेला केही उश्रृङ्खल व्यक्तिले विवाद निकालेको नगरपालिका उपप्रमुख तारा शाही खत्रीले बताइन्।

विवादपछि प्रहरी बोलाइएको र उश्रृङ्खल  समूहले प्रहरीमाथि नै आक्रमण गर्दा झडप भएको खत्रीले जानकारी दिइन्। झडपमा २५ वर्षीय प्रहरी जवान भीमबहादुर सुनार, चामुण्डाविन्द्रासैनी नगरपालिका–४ सातटाकुराका २८ वर्षीय कमल शाही र ५५ वर्षीय रमेश शाही घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। हवाई फायर पछि मात्रै स्थिति नियन्त्रणमा आएको प्रहरीको भनाइ छ। 

घाइते मध्ये कमल शाहीको उपचार दैलेख जिल्ला अस्पतालमा भइरहेको छ भने  रमेश शाही र प्रहरी जवान सुनारको उपचार दुल्लू अस्पतालमा भइरहेको छ। ४०–४५ जनाले प्रहरीमाथि नै आक्रमण गरेपछि इलाका प्रहरी कार्यालय दुल्लूका प्रहरी निरीक्षक हिक्मत बोहोराको नेतृत्वमा गएको थप प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। प्रहरी हवल्दार चन्द्रबहादुर रेउलेको कमाण्डमा रहेको प्रहरी चौकी जम्वुकाँधमा शनिबार रातिदेखि असई प्रेमप्रसाद शर्मालाई खटाइएको छ। 

सुरक्षाका लागि गएको प्रहरीमाथि आक्रमण भएको घटनाको अध्ययन र मुद्दा प्रक्रियाका लागि आफू परामर्शमा जुटेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए। नगरपालिकाको माग अनुसार सामाजिक दूरी कायम राखी काम सञ्चालन गर्न अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी कटेलले बताए। 

प्रतिक्रिया