जिल्ला प्रहरी कार्यालय दैलेखमा बाल निगरानी कक्ष

जिल्ला प्रहरी कार्यालय दैलेखमा बाल निगरानी कक्ष

सेवा प्रवाहमा सहजता ल्याउन ‘ठाडो उजुरी शाखा’

दैलेख : सेवा प्रवाहमा सहजता ल्याउन जिल्ला प्रहरी कार्यालय दैलेखमा ठाडो उजुरी शाखा सञ्चालनमा ल्याईएको छ । प्रहरीको मुद्धा शाखामा उजुरीको चाप उच्च छ । सामान्य विवाद जस्ता उजुरीकै कारण जगन्य प्रकृतिको मुद्धा अनुसन्धान र कानुनी प्रक्रिया प्रभावित नहोस् भन्नका लागि ठाडो उजुरी शाखा स्थापना गरि सञ्चालनमा ल्याईएको हो ।

मेलमिलापबाटै टुंगिने खालका मुद्धाहरुलाई लक्षित गरि ठाडो उजुरी शाखा स्थापना गरिएको प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । ‘मुद्धा शाखाबाट जगन्य र फौजदारी अपराधका मुद्धाहरुको कानुन बमोजिम जाहेरी लिने र अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडी बढ्छ,’ डिएसपी श्रेष्ठले भने ‘ठाडो उजुरी शाखामा सामान्य प्रकृतिका मुद्धा नचल्ने र मिलमिलाप गर्न सकिने खालको उजुरीहरु आउने गर्छ ।’


सामान्य विवाद, गाली बेइज्जती, झै–झगडा जस्ता उजुरीहरु ठाडो उजुरी शाखाबाटै समाधान भईरहेको डिएसपी श्रेष्ठले बताए । उक्त शाखाबाट जनशक्ति अनुसार छिटो छरितो ढंगले सेवा प्रदान गरिरहेको उनको भनाई छ । स्थानीय तहको न्यायिक समितिमा आउने मुद्धाहरु पनि प्रहरीमै आउने गरेको छ । प्रहरीले हिरासत कक्षलाई समेत व्यवस्थित गरेको छ भने नागरिक सहायता कक्ष र प्रहरी कण्ट्रोललाई व्यवस्थापकीय सुधार गरिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय दैलेखमा बाल निगरानी कक्ष समेत स्थापना गरिएको छ । ‘महिला र पुरुष हिरासतलाई व्यवस्थित बनाएका छौ, डिएसपी श्रेष्ठले भने ‘बालबालिकाको विशेष अधिकारलाई संरक्षण गर्नका लागि छुट्टै बाल निगरानी कक्ष समेत स्थापना गरिएको छ ।’

प्रहरीको सेवा प्रवाहमा सुधार ल्याउन प्रयत्न गरिरहेको डिएसपी श्रेष्ठ बताउँछन् । ‘नागरिक मैत्री बनेर प्रहरीले सेवा प्रवाह गरिरहेको छ,’ उनले भने । ठाडो उजुरी शाखा सर्वसाधारण नागरिककै हितका लागि प्रभावकारी हुने डिएसपी श्रेष्ठले उल्लेख गरे ।

प्रतिक्रिया