घरेलु हिंसाले निम्त्याएको दुखान्त : जसले चार छोराछोरी सहित कर्णाली नदिमा हाम फालिन

घरेलु हिंसाले निम्त्याएको दुखान्त : जसले चार छोराछोरी सहित कर्णाली नदिमा हाम फालिन

पतिको हिंसा सहन नसकी कर्णाली नदिमा हाम फालेर चार छोराछोरी सहित ३५ बर्षीया सुकी बडुवालले आत्महत्या गरिन् ।

कर्णाली नदि किनारमा महिला र बालबालिकाको शव भेटिएपछि शोकमग्न बनेका स्थानीयहरु ।

दैलेख : पति मानबहादुर बडुवाल, पत्नी सुकी बडुवाल र चार छोराछोरी सहित ६ जनाको परिवार । आठबीस नगरपालिका–३ निमाइल गाउँमा मध्ययम वर्गिय परिवारको रुपमा परिचित थियो यो परिवार । उनिहरुले कृषि पेशा र मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका थिए । छोराछोरी स्थानीय सरकारी स्कुलमा अध्ययनरत थिए । छोरीहरु १४ बर्षीया कल्पना बडुवाल कक्षा ७, १२ बर्षीया सरिता बडुवाल कक्षा ५ र ५ बर्षीया रजनी बडुवाल कक्षा एकमा अध्ययनरत थिए । छोरा १० बर्षीया ललित बडुवाल कक्षा तीनमा अध्ययनरत थिए । उनिहरु सबै गाउँकै नेरा मावीमा अध्ययनरत थिए । पति मानबहादुरमा मदिराको लत थियो । यो परिवारलाई नजिकबाट चिन्नेहरु भन्छन् ‘मदिराकै कारण यो परिवारमा बेला–बेला झै–झगडा भईरहन्थ्यो ।’
आइतवार (फागुन २३ गते) पति मानबहादुर गाउँकै लाटीकाँध बजारको एक होटलमा मदिरा सेवन गरिरहेको सुकीले थाहा पाइन् । स्थानीयका अनुसार सुकीले पति मानबहादुरलाई धेरै मदिरा नपिउन आग्रह गर्दै घर पु¥याइन् । घर पु¥याएपछि उनिहरु दुईबीच सामान्य झगडा समेत प¥यो । लगत्तै सुकी छोराछारीलाई साथमा लिएर घाँस काट्नलाई जाक्सी गाउँ नजिकै रहेको खेतमा जान्छु भन्दै घरबाट निस्किइन् । त्यसपछि उनिहरुको अवस्था अज्ञात रह्यो ।
भोलीपल्ट (सोमवार) मार्च ८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । देशव्यापी थुप्रै कार्यक्रमहरु सञ्चालन भईरहेका थिए । मुलुकका उच्च पदस्थ व्यक्तित्वहरु, जनप्रतिनीधि र गाउँदेखि शहरसम्मका अगुवा महिलाहरु महिला अधिकारबारे आवाज उठाईरहेका थिए । महिला हिंसा अन्त्य हुनुपर्छ भन्दै नारा घन्किरहेको थियो । आठबीस नगरपालिकामै पनि नगरपालिकाकै आयोजनामा महिला जनप्रतिनीधि र अभियान्ता महिलाहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम सञ्चालनकै क्रममा एकाएक सन्नटा छायो । कारण थियो, कर्णाली नदिमा दुई जना नाबालिकाको शव फेला पर्नु ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ बेलखेत स्थित कर्णाली नदिमा माछा मार्ने पासोमा फेला परेको शव अपरिचित थियो । लगत्तै जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरीको टोली घटनास्थलमा खटियो । नदिमा भेटिएका शवको सनाखतका लागि विभिन्न क्षेत्रमा खोजतलास र हुलिया परिपत्र भयो । अन्तत उनिहरुको पहिचान खुल्यो । नदिमा शव भेटिएका बालिकाहरु आठबीस नगरपालिका–३ निमाइलका मानबहादुर बडुवालका छोरीहरु १४ बर्षीया कल्पना बडुवाल र १२ बर्षीया सरिता बडुवाल रहेको पुष्टि भयो । अर्थात आइतवारदेखि मानबहादुरका पत्नि सुकीसँगै अज्ञात रहेका चार मध्ये दुई छोरी । उनिहरुको शव नदीको किनारामा डोरीले हात बाँधिएको अवस्थामा फेला परेको थियो । त्यस लगत्तै बाँकी तीन जना पनि कर्णाली नदिमै हाम फालेको आशंका गर्दै प्रहरी र स्थानीयले उनिहरुको खोजी कार्य सुरु गरे ।
तीन जनामध्ये दुई जनाको शव मंगलवार कर्णाली नदिमै फेला परेको प¥यो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठका अनुसार बेलखेतस्थित दैलेख र अछाम जोड्ने पुल नजिकैको कर्णाली नदिमा दुई जनाको शव फेला परेको हो । मंगलवार दिउँस ३५ बर्षीया सुकी बडुवाल र उनका छोरा १० बर्षीया ललित बडुवालको शव फेला परेको डिएसपी श्रेष्ठले बताए । अवस्था अज्ञात रहेका मध्ये दुई जनाको शव पनि कर्णाली नदिमै भेटिएपछि पाँचै जनाले कर्णाली नदिमा हाम फालेको पुष्टि भएको छ । सुकीका कान्छि छोरी ७ बर्षीया रजनी बडुवालको अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य भईरहेको डिएसपी श्रेष्ठले बताए । उक्त घटनामा अनुसन्धान र खोजतलासका लागि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्त समेत घटनास्थल पुगेका थिए । यता सुकीका पति मानबहादुर बडुवाल प्रहरी हिरासतमा छन् । उनलाई पक्राउ गरेर घटनाको विस्तृत अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताए ।
सुकीले पति मानबहादुरसँग झगडा परेको र निरन्तरको हिंसा सहन नसकी छोराछोरी सहित कर्णाली नदिमा हाम फालेर हात्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ । स्थानीय बासिन्दा र जनप्रतिनीधिहरुले समेत पतिले पटक–पटक गरेको हिंसा सहन नसकेर छोराछोरी सहित आत्महत्याको बाटो रोजेको बताउँछन् । आठबीस नगरपालिका–३ का वडाध्यक्ष प्रयागबहादुर शाही भन्छन् ‘पतिले पटक–पटक हिंसा गर्ने गरेको हामीले सुनेका छौ, श्रीमानको थिचोमिचो सहन नसकेर सुकीले बालबच्चा सहित मृत्युको बाटो रोजेको हुनसक्छ, बाँकी अनुसन्धानपछि पत्ता लाग्ला ।’ यो हृदय–विदारक घटनाको मूल कारक सुकीकै पति बनेको स्थानीय बताउँछन् ।
यता प्रहरीले भने अहिलेनै घरेलु हिंसाकै कारण यस्तो घटना भएको हो भन्न नसकिने बताउँछ । दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठ भन्छन् ‘हामी घटनाको विस्तृत अनुसन्धान प्रक्रियामै छौं, समाजमा बुझ्दा पहिलेदेखि नै पति पत्निबीच झगडा हुने गरेको बुझिएको छ, पोस्टमार्टम रिपोर्टपछि हत्या या आत्महत्या के हो भन्नेबारे पुष्टि हुन्छ ।’
सामाजिक अभियान्ताहरु भने दुर्गमका महिलाहरु घरपरिवार र समाजकै कारण आत्महत्याको बाटो रोज्ने गरेको बताउँछन् । आठबीस नगरपालिका उपप्रमुख दिपा बोहरा भन्छिन् ‘समाजमा हुने घटनाको कारक घर परिवार र समाज नै हुने गरेको देखिन्छ ।’ समाजले हिंसा सहेर बसिरहेका महिलाहरुलाई न्यायलयसम्म पुग्न बाटो छेक्ने गरेको उपप्रमुख बोहराको बुझाई छ । ‘पछि पनि यही समाजमा बस्नु पर्छ, श्रीमान यही हो, लगायतका कुराहरू समाजले सुनाउने गरेकाले महिलाहरूले न्यायभन्दा पनि हिंसाको पीडा सहन नसकेर अन्तिम विकल्पको रुपमा आत्महत्याको बोटो रोज्ने गर्छन्,’ उप–प्रमुख बोहोरा भन्छिन् ‘महिलाहरुले सहन सक्ने जति सम्पुर्ण विकल्प अपनाउँछन्, अन्तमा केही विकल्प देख्दैनन् र देह त्याग गर्छन्, यो असाध्यै सानो र निरासाजनक सोच हो ।’
एकैघरका चार बालबालिका सहित पाँच जनाको ज्यान जाने भएको घटनाले अहिले निमाइल गाउँ शोकमग्न बनेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै दिन घटेको यो घटनाले समाजमा महिला माथी हिंसाको रुप कहालीलादो रहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

प्रतिक्रिया