अपराध नियन्त्रणमा प्रहरीको सक्रियता

अपराध नियन्त्रणमा प्रहरीको सक्रियता

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले गत फागुन अन्तिम साता जबरजस्ती करणी मुद्धामा फरार एक अभियुक्तलाई पक्राउ ग¥यो । दैलेख जिल्ला अदालतले २०६७ जेठ ३० गते गरेको फैसला अनुसार जबरजस्ती करणी उद्योग मुद्धामा तीन बर्ष ११ महिना ३ दिन कैद सजाय तोकिएका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै प्रहरीले चैत्र अन्तिम साता बहुविवाह मुद्धामा फरार एक अभियुक्त पक्राउ ग¥यो । दैलेख जिल्ला अदालतले २०७३ फागुन ३० गते गरेको फैसला अनुसार ती अभियुक्तलाई एक बर्ष कैद सहित पाँच हजार रुपैयाँ सजाय तोकिएको थियो । प्रहरीको सक्रियतासँगै जिल्लामा विभिन्न किसिमका अपराधका फरार अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । गत साउन देखि चैत्रसम्ममा प्रहरीले १७ महिला सहित एक सय ६३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनका क्रममा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

प्रहरीमा आउने सेवाग्राहीमा बृद्धि

जिल्ला प्रहरी कार्यालय दैलेखमा आउने सेवाग्राहीको संख्यामा बृद्धि भएको छ । गत साउन देखि चैत्रसम्म प्रहरी कार्यालयमा विभिन्न सेवा लिन आउने सेवाग्राहीको संख्या ९ हजार ९ सय ६१ छ । साउनमा ७ सय २७, भदौमा ५ सय ५०, असोजमा एक हजार २०, कात्तिकमा ७ सय ४२, मंसिरमा ५ सय ३१, पुषमा एक हजार ५ सय ६४, माघमा एक हजार पाँच सय ४७, फागुनमा एक हजार ६ सय १५ र चैत्र महिनामा एक हजार ६ सय ६५ जना सेवाग्राही प्रहरीमा आएको डिएसपी अनुपम श्रेष्ठले बताए ।

दुई हजार एक सय ४० लिटर मदिरा नष्ट

प्रहरीले ९ महिनाको अवधीमा घरेलु मदिरा नियन्त्रण अभियान अन्तगर्त दुई हजार एक सय ४० लिटर मदिरा नष्ट गरेको छ । जिल्लाको विभिन्न स्थानीय तहमा गरी दुई हजार एक सय ४० लिटर तयारी मदिरा, ९ हजार ८ सय ९३ लिटर कच्चा पदार्थ र एक सय ३५ किलोग्राम औषध नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ । उक्त अभियान अन्तरगर्त प्रहरीले घरेलु मदिरा बनाउनका लागि चाहिने ४० थान भाँडा वर्तन नियन्त्रणमा लिएको छ ।

एक सय ९८ मध्ये एक सय ६ मुद्धा फस्र्यौट

प्रहरीमा ९ महिनाको अवधीमा एक सय ९८ मुद्धा परेका थिए । ती मध्ये एक सय ६ वटा मुद्धा फस्र्यौट भएको डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । ९२ वटा मुद्धा अझै अनुसन्धानकै क्रममा छन् । विभिन्न मुद्धामा एक सय ६१ जना प्रतिवादी पक्राउ परेका थिए । आर्थिक बर्ष २०७४/०७५ मा दर्ता भएका एक सय १९ मुद्धा मध्ये एक सय १४ फस्र्यौट भएको र पाँच वटा मुद्धा अनुसन्धानमै छन् । यस्तै आर्थिक बर्ष २०७५/०७६ मा दर्ता भएका एक सय ७८ मुद्धा मध्ये एक सय ६२ फस्र्यौट भएको र १६ वटा मुद्धा अनुसन्धानमै छन् । त्यसैगरी यस्तै आर्थिक बर्ष २०७६/०७७ मा दर्ता भएका एक सय ६८ मुद्धा मध्ये एक सय ८ फस्र्यौट भएको र १६ वटा मुद्धा अनुसन्धानमै छन् ।

न्यायिक समितिमा जानुपर्ने मुद्धा प्रहरीमा

संविधानले आफ्नो अधिकार क्षेत्रका विवाद निरुपण गर्न स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने व्यवस्था छ । जिल्लाका सबै स्थानीय तहमा न्यायिक छन् । यद्धपी स्थानीय तहका न्यायिक समितिको काम प्रभावकारी हुन सकेको छैन् । न्यायिक समितिमा कर्मचारीको अभाव, इजलासको अभाव र कानुनी सल्लाहकारको अभावमा प्रभावकारी काम हुन नसक्दा न्यायिक समितिमा जानुपर्ने मुद्धा प्रहरीमा आउने गरेका छन् । आपसी झैझगडा, कलह सामाजिक द्वन्द घरायसी झैझगडाका निवेदन पनि प्रहरीमा आउने गरेका छन् । साउन देखि चैत्रसम्म ९ महिनाको अवधीमा २ सय ६४ वटा ठाडो उजुरी प्रहरीमा परेको थियो । ती मध्ये २ सय ३४ मिलापत्र गरिएको छ भने ८ वटा मुद्धा दर्ता भएका छन् । जिल्लाको नारायण नगरपालिकाबाट सबै भन्दा बढि एक सय ३ वटा ठाडो उजुरी परेको थियो ।

स्थानीय तह र गैसससँग साझेदारी

प्रहरीले जिल्लाका स्थानीय तह र गैरसरकारी संघ संस्थासँग साझेदारी गरेर विभिन्न अभियान सञ्चालन गरेको जनाएको छ । स्थानीय तहसँगको साझेदारी मार्फत जनचेतना मुलक कार्यक्रम सञ्चालन, घरेलु मदिरा बिक्रि बितरण गर्ने ब्यक्तिलाई कानुनको दायरामा लिईएको, अबैध बिना लाईसेन्समा मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको, घरेलु मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लाई नष्ट गरिएको, बजारका पसल तथा भट्टीमा खानतलासी गरी घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको र घरेलु मदिरा नियन्त्रणको लागी माईकिङ गरिएको प्रहरीले जनाएको छ । बिभिन्न स्थानिय तहहरुमा घरेलु हिंसा, लागु औषध सेवन तथा ओसार–पसार, मानव वेचविखन तथा ओसार–पसार, बालविवाह, बहुविवाह, आत्महत्या बिरुद्धको अभियान तथा अवैध घरेलु मदिरा नियन्त्रण नियन्त्रणमा सम्वन्धी पाँच सय ३६ पटक कार्यक्रम गरिएको प्रहरीको भनाई छ । विभिन्न गैरसरकारी संघ संस्थाहरुसँगको सहकार्यमा महिला हिंसा विरुद्धको अभियान, विद्यालय स्तरिय अभियान सञ्चालन गरिएको छ । हालै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ‘आमा (महिला) हरुको लागी लागु औषध विरुद्धको परीक्षण’ गरिएको प्रहरीले जनाएको छ ।

नयाँ भौतिक पूर्वाधार निर्माण

जिल्ला प्रहरी कार्यालयमा नयाँ भौतिक पूर्वाधार निर्माणसँगै पुरानालाई मर्मत गरिएको छ । प्रहरीको मुल गेट नयाँ निर्माण गरिएको छ भने कन्ट्रोल रुप स्तरोन्ती गरिएको छ । यस्तै नागरिक सहायता कक्ष स्तरोन्ती, गोलघर बैठक कक्ष स्तरोन्ती, गोलपार्क निर्माण, हिरासत कक्ष निर्माण तथा स्तरोन्ती गरिएको प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले हाल छुट्टै ठाडो उजुरी शाखा स्थापना गरेको छ भने धारा, तातोपानी र मोटर जडानसँगै बहुउदेश्यीय सभाहल निर्माण गरिएको छ । प्रहरीले आत्महत्या बिरुद्ध अभियानको छोटो चलचित्रको निर्माणलाई सृजनशिल कार्य अन्तरगर्त राखेको छ । प्रहरीले नागरिक सेवा प्रवाहमा निरन्तर सुधार गर्ने योजना अघि सारेको छ । ‘स्थानिय तह, बिभिन्न संधसंस्थाहरु तथा अन्य सरोकारवाला निकायहरुसंग शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा व्यापक रुपमा सहकार्य गरिनेछ,’ डिएसपी श्रेष्ठले भने ‘प्रविधि व्यवस्थापन पक्षलाई निरन्तरता दिई जिल्ला भरि सिसिटिभि संजालको बिस्तार गरिनेछ भने जिल्लामा फरार प्रतिवादीहरुको संख्या शुन्य बनाउने योजना छ ।’

प्रतिक्रिया