दैलेखमा कोरोनाबाट १६ जनाको मृत्यु

दैलेखमा कोरोनाबाट १६ जनाको मृत्यु

हिक्मतबहादुर नेपाली
दैलेख : दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत् दुई जना कोरोनाका बिरामीको मृत्यु भएको छ । जिल्ला सदरमुकामस्थित अस्पतालको आइसोलेसनमा उपचाररत ठाँटीकाँध गाउँपालिकाका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । बुधवार साँझ जिल्लाको पश्चिममा पर्ने ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ३२ बर्षीया युवकको मृत्यु भएको हो । युवकलाई अस्पताल पु¥याएको एक घण्टा नबित्दै मृत्यु भएको हो । उनलाई दैलेख अस्पतालको आइसोलेसनमा ल्याईपु¥याए लगत्तै उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको आइसोलेसन अस्पतालमा कोरोनाका बिरामीहरुको उपचारमा खटिएकी डा. सुशिला कटुवालले जानकारी दिइन् ।
स्वास्थ्यमा समस्या देखिएपछि परिवारको सहयोगमा उनलाई बुधवार विहान ठाँटीकाँध गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पु¥याईएको थियो । त्यहाँ गरिएको एन्टिजेन परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य केन्द्रले रिफर गरेपछि दैलेख अस्पतालको आइसोलेसनमा ल्याई पु¥याएको मृतकका आफन्तले बताए ।
यस्तै बुधवार राती नै ठाँटीकाँध गाउँपालिका–३ विशालाका ५२ बर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । कोरोना संक्रमित भएर श्वासप्रश्वासमा समस्या भएर चारदिनदेखि आइसोलेसन उपचाररत ती महिलाको मृत्यु भएको हो ।
यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । यस्तै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार १ सय ७० पुगेको छ । बुधवार थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।
निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीका अनुसार हालसम्म १ हजार ७ सय ६६ जना कोरोेनाका बिरामी निको भईसकेका छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ८८ जना छ । ती मध्ये दैलेख अस्पतालको आइसोलेसनमा ३३ जना कोरोनाका बिरामी उपचाररत छन् भने ३ सय ५५ जना कोरोनाका बिरामी घरमै छन् ।

प्रतिक्रिया