राउटेलाई खाद्यान्न र पाल

राउटेलाई खाद्यान्न र पाल

दैलेख : लोपोन्मुख राउटे समुदायलाई राहत वितरण गरिएको छ । राउटे नागरिकहरु हाल कर्णाली प्रदेशको कालिमाटी गाउँपालिका–५ सल्यानमा बसोबास गरिहेका छन् । राउटे समुदाय बसोबास गरिरहेको बस्तीमै पुगेर खाद्यान्न र पाल सहयोग गरिएको हो । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, गुराँस गाउँपालिका, सोसेक नेपाल र राकेश इन्टरप्राइजेज काठमाडौंको सहयोग र समन्वयमा राहत सामग्री सहयोग गरिएको हो ।

कर्णाली प्रदेश सभाका उप–सभामुख पुष्पा घर्ती (बिष्ट), आन्तरिक मामिला तथा कानून मन्त्री सीता कुमारी नेपाली, सोसेक नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापा, पूर्वअध्यक्ष सिता राना सहितको टोलीले राउटे बस्तीमै पुगेर खाद्यान्न र पाल सहयोग गरिएको हो ।

राकेश इन्टरप्राइजेज काठमाडौंको सहयोग र सोसेक नेपालको समन्वयमा १ लाख २ हजार बराबरको खाद्यान्नहरु चामल, नुन, दाल, खुर्सानी तथा तरकारीमा मुला सहयोग गरिएको हो । ४४ घरपरिवार रहेको राउटे बस्तीमा प्रतिपरिवार एक बोरो चामल दिईएको हो । जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे नागरिकलाई खाद्यान्न सहयोग गरेको राकेश इन्टरप्राइजेज काठमाडौंका राकेश जैनले बताए । ‘सोसेक नेपालको पहलमा जंगलहरुमा कठिनाईपूर्ण जीवन बिताउँदै आएको राउटेलाई खाद्यान्न उपलब्ध गराएका हौँ,’ जैनले भने ‘लोपोन्मुख नागरिकलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ ।
यसैबिच कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले पाल सहयोग गरेको छ ।

राउटे समुदायका ४४ घरपरिवारलाई प्रतिपरिवार एक वटा पाल सहयोग गरिएको हो । राउटे समुदायले आफ्नो परम्परा अनुसार बनाउने घरमा प्रयोग हुने कपडाको पाल प्रदान गरिएको हो । सोहि अबसरमा कर्णाली प्रदेश सरकारकार आन्तरिक मामिला तथा कानून मन्त्री सीता कुमारी नेपालीले कर्णाली प्रदेशभित्र फिरन्ते जीवनयापन गर्दै आएको राउटे समुदायको संरक्षण सम्र्बद्धनमा प्रदेश सरकार लागि परेको बताइन् । उनले राउटे समुदायको संरक्षण र सुरक्षाका लागि नीति निर्माणको क्रममा रहेको मन्त्री नेपालीको भनाई छ । ‘मदिरा सेवनले राउटेको स्वास्थ्यमा गम्भिर असर गरिरहेको बताउँदै मन्त्री नेपालीले भनिन् ‘राउटे समुदायमा अत्याधिक मदिरा सेवनलाई नरोक्ने हो भने राउटे समुदाय नै लोप हुने खतरा छ ।’

राउटे समुदायमा सोसेक नेपालले अहेव र जोडी शिक्षक परिचालन गरिरहेको छ । राउटे परियोजना अन्तरगर्त राउटे नागरिकहरुको उपचारका लागि अहेव र राउटे नागरिकहरुको स्वास्थ्य तथा सरसफाई, बालबालिकाको शिक्षामा जोड दिन जोडी शिक्षकलाई बस्तीमै परिचालन गरेको संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमन्ते जीवनयापन गरीरहेका राउटे नागरिक गुराँस गाउँपालिकाको स्थायी बासिन्दा हुन् । समुदायको ४४ परिवारमा १ सय ४२ जनसंख्या छ ।

प्रतिक्रिया