एम्बुलेन्सको ढिलाईले शिशुको मृत्यू

एम्बुलेन्सको ढिलाईले शिशुको मृत्यू


दैलेख : प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रले प्रदेश अस्पताल सुर्खेत रिफर गरेको निमुनियाले थलिएको नवजात शिशुलाई थप उपचारका लागि सुर्खेत लैजान गाउँपालिकाको एम्बुलेन्सले उधारोमा लिन इन्कार गर्दै ढिलाई गरेको कारण मृत्यू भएको छ ।
विहानैदेखि स्वास्थ्यकर्मीहरुले प्रयत्न गर्दा पनि निको नहुने देखेपछि मंगलवार दिउँसो २ बजेतिर प्रदेश अस्पताल लैजान रिफर गरे लगतै गाउँपालिका अध्यक्षलाई अनुरोध गर्दा पनि एम्बुलेन्स भाडा नगद भुक्तानी बिना पठाउन नकिने भन्दै ढिलाई गरेको कारण शिशुको मृत्यू भएको पीडित परिवारको गुनासो छ ।

ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीकी २० वर्षीया मञ्जू बिककी डेढ महिनाकी छोरी अकस्मात श्वासप्रश्वासमा समस्या देखिएपछि स्वास्थ्य केन्द्र पु¥याएको २ घण्टामै रिफर गरेपछि गाउँमा ऋणकर्ज पनि नपाएको र अध्यक्ष शाहीले सदासयता नदेखाएको पीडित पक्षको आरोप छ ।

ठाँटीकाँध–सुर्खेतका लागि तोकिएको नौ हजार रुपैंयाँ जम्मा नभई गाउँपालिकाले एम्बुलेन्स पठाउन नमानेको र शिशुलाई राति झनै गाह्रो भएपछि ठाँटीकाँध प्रहरी चौकीको पहलमा बिरामी शिशुलाई मंगलवार राति १०ः३० बजे उधारोमै एम्बुलेन्स पठाइएको तर प्रदेश अस्पताल नपुग्दै शिशुको मृत्यू भएकोे मञ्जूले दुखेसो पाखिन् ।
गुहार मागेको ८ घण्टापछि त्यो पनि प्रहरीको जोडबलले उधारोमै पठाइएको एम्बुलेन्स प्रदेश अस्पताल पुग्न करिव आधा घण्टा मात्र बाँकी रहँदा सुर्खेतको बड्डीचौर क्रस गरेपछि बुधवार विहान ४ः३० बजे नवजात शिशुको ज्यान गएको पीडितका आफन्त जीबन बिकले बताए ।

मंगवार दिउँसो समयमा पठाइदिएको भए संभवतः उपचार सुरु भएर ज्यान बच्न सक्थ्यो, परिवारको गरिबी र गाउँपालिकाको असहयोगी व्यवहारले शिशुको मृत्यू भएको ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीकी तीतु कामीले प्रतिक्रिया दिइन् ।
यस बारे ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको ध्यानाकर्षण गराउँदा गर्भवती र सुत्केरीहरुको हकमा निशुल्क एम्बुलेन्स सेवा दिइएको तर अरु बिरामीहरुका लागि निशुल्क गर्न नसकिने भएको कारण आफूले अह्राउन नसकेको टिप्पणी गरे ।

अध्यक्ष शाहीँले अगाडि भने पठाउन त उधारोमै पठाइयो समयमा पठाएको भए शिशुको ज्यान जोगिन पो सक्थ्यो कि ? भन्ने अहिले पछुतो लाग्यो । एम्बुलेन्सको डिजेल किन्ने रकम उठाउनलाई कडाईका साथ एम्बुलेन्सको भाडा उठाउने गरिएको अध्यक्ष शाहीको भनाई छ ।

ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीमै माइती भएकी मञ्जूले २ वर्ष अघि उतिबेला १८ समान उमेरका मानबहादुर बिकसंग विवाह गरेकी थिइन् । गएको असार ३० गते जन्मेकी छोरीको नाम हेराउन ज्योतिषलाई भेट्न समय पाइनन् ।
मजदूरीका लागि मानबहादुर ६ महिनादेखि भारतको अल्मोडामा भएको कारण पहिलो सन्तान ती छोरीको मुखाकृत समेत देख्न पाएनन् । मञ्जूका ससुरा दानबहादुर पनि एक वर्षदेखि अल्मोडामा छन् । सासु डिलसरा, एक नन्द र साना दुई देवरहरु मात्र भएकोले खेतीवाली र घरायसी काम पनि मञ्जूलाई बोझ छ ।

प्रतिक्रिया