हाम्रा लागि बहुमत भारी भयो : ज्ञवाली

हाम्रा लागि बहुमत भारी भयो : ज्ञवाली

दैलेख : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकार र पार्टी सञ्चालन गर्न नजानेकै कारण दुर्घटना भएको स्वीकारेका छन् । नेकपा एमाले दैलेख जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले भने ‘बहुमत हाम्रा लागि भारी भयो, सदुपयोग गर्न जानेनौं ।’

कर्णाली प्रदेशका संयोजक समेत रहेका उपाध्यक्ष ज्ञवालीले विगतका कमजोरी स्वीकार्दै आगामी दिनमा अघि बढ्नुपर्ने तर्क गरे । ‘विगतका कमजोरीबाट शिक्षा लिन आवश्यक छ, सुधार गर्नुपर्ने स्थानमा सुधार गर्न आवश्यक छ’, उनले भने, ‘बहुमत ल्याउनका लागि फेरि पनि अन्य पार्टीसँग मिल्न जरुरी हुनसक्छ ।’

सोहि भेलालाई सम्बोधन गर्दैै नेकपा एमालेका कर्णाली प्रदेश सहसंयोजक यामलाल कंडेलले विगत भूलेर नयाँ उर्जाका साथमा कम्युनिष्ट आन्दोलन बलियो बनाउने अभियानमा होमिन आह्वान गरे । एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले एमालेको प्रमुख प्रतिश्पर्धी नेपाली काँग्रेस नै रहेको बताए ।

पार्टीका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीको प्रमुख आतिथ्य, जिल्ला कमिटी अध्यक्ष रवीन्द्रराज शर्माको अध्यक्षता, उपाध्यक्ष प्रेमबहादुर थापाको स्वागत र उपसचिव तिलकप्रसाद रिजालको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रिय कमिटी सदस्यत्रय लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा र विष्णु रिजाल, नेता विनोदकुमार शाह, प्रदेशसभा सदस्यद्वय मिनासिंह रखाल र सुशील थापा, चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही र भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बोलेका थिए ।

दैलेखबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने तीनै जना केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभाका दुबैजना निर्वाचित सदस्य, प्रदेशसभाका दुबैजना सदस्य, पालिकाका सातमध्ये पाँच प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुखसहित नौ जना सदस्य, जिल्ला कमिटीका तीन पदाधिकारीसहित ९० प्रतिशत नेता–कार्यकर्ताको सहभागितामा सम्पन्न भेलाले पार्टीलाई सशक्त र एकताबद्ध बनाएर लैजाने अठोट गरेको एमाले केन्द्रिय कमिटी सदस्य विष्णु रिजालले बताए ।

 

प्रतिक्रिया