जो आफु कार्यरत स्कुलमा घाटी रेटिएको अवस्थामा मृत फेला परे

जो आफु कार्यरत स्कुलमा घाटी रेटिएको अवस्थामा मृत फेला परे

दैलेख: गुराँस गाउँपालिका–८ स्थित मालिका मावि छोटेपोखरामा कार्यरत शिक्षक नगेन्द्रबहादुर बिसी विद्यालयकै बरण्डामा घाँटी रेटिएको अवस्थामा मृत फेला परे । ४२ वर्षीय बिसी कार्यरत विद्यालयको कार्यालय अगाडि बरण्डामा मंगलबार बिहान साढे ७ बजेतिर मृत अवस्थामा भेटिएका थिए । मृतक बिसीको परिवारले हत्या भएको दावी गरेका छन्।

शिक्षक बिसी घटना घटेको दिन (सोमबार) बिहान विद्यालय गएका थिए । सोहि दिन बिसीको श्रीमती दैलेख सदरमुकामतर्फ गएकी थिइन् । घरमा कोही नभएका कारण विद्यालयबाट छिटो फर्किएका शिक्षक बिसी दिनभर घरायसी काममा व्यस्त    रहे ।

दिनभर बाख्रा चराउनेलगायतको घरकै काममा रहेका बिसी आफ्ना लागि खाना पकाएर साँझ ६ बजेतिर मालिका माविमै कार्यरत शिक्षक भीमबहादुर ओलीको घरमा पुगेका थिए । जेठान नाता पर्ने भीमबहादुरको घरबाट तरकारी लिएर बिसी घर फर्किएका थिए । ‘साँझ हाम्रो घरबाट तरकारी लिएर जानुभएको हो, मंगलबार बिहान एक्कासी मृत अवस्थामा भेटिएको खबर पायौँ, ‘भीमबहादुरले भने, ‘टोल छिमेकमा कसैसँग दुस्मनी भएको हामीले थाहा पाएका थिएनौं, मिलनसार हुनुहुन्थ्यो ।’

मृतक बिसी सोमबार राति १२ बजेसम्म छोटेपोखरास्थित विद्यालय नजिकै रहेको छिमेकीको घर (जहाँ पसल छ) मा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ईन्द्रजीत सुनारले बताए । त्यसपछि घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीले घटनास्थलबाट मृतक बिसीको मोबाइल, चप्पल बरामद गरेको थियो । प्रहरी निरीक्षक सुनारका अनुसार घटनामा संलग्न रहेको हुनसक्ने भन्दै पसल सञ्चालन गर्ने छिमेकीका परिवारसहित शंकास्पद् १० जनालाई मंगलबार नै नियन्त्रणमा लिएको थियो । तीमध्ये घटनामा २ जनाको प्रत्यक्ष संलग्न रहेको अनुमान प्रहरीले गरेको छ।

‘हामीले गरेको अनुसन्धानबाट घटनामा संलग्न व्यक्तिहरुको नजिक पुगिसकेका छौं,’ घटनामा संलग्न व्यक्तिहरु आजै सार्वजनिक गर्ने तयारी गरिरहेका छौं,’ प्रहरी निरीक्षक सुनारले भने । प्रहरीका अनुसार घटनास्थल नजिकैबाट धारिलो हतियार समेत फेला परेको छ ।

मृतकका परिवारले शिक्षक बिसीको हत्या भएको र निष्पक्ष छानविन गरेर दोषीलाई कारबाहीको माग गरेका छन् । बिसीको साला नाता पर्ने कर्णबहादुर थापा भन्छन्, ‘भिनाजुको रक्ताम्ये अवस्थामा शव फेला परेको छ, घाँटी रेटिएको अवस्थामा शव भेटिनु हत्या भएको पुष्टि हुन्छ ।’

घटनाको निष्पक्ष छानविन गरेर घटनामा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने थापाले माग गरे । मृतक बिसी विगत १३ वर्षदेखि राहत शिक्षकको रुपमा मालिका माविमा कार्यरत थिए । उनी सोहि विद्यालयका पूर्वविद्यार्थी समेत हुन् । मृतक बिसीका एक श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया