दैलेखमा भारी हिमपात : जनजीवन प्रभावित, यातायात अवरुद्ध

दैलेखमा भारी हिमपात : जनजीवन प्रभावित, यातायात अवरुद्ध

दैलेख : बिहीवार बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भईरहेको दैलेखमा भारी हिमपात भएको छ । यसअघि महाबु, तिनचुले हिमाल लगाएत दैलेखको उच्च भूभागमा मात्रै हिमपात भएको थियो । बिहीवार रातीदेखि भने गुराँस गाउँपालिकाको गुराँसे क्षेत्र, रानीमत्ता, महाबु गाउँपालिकाको महाबु लगाएत जिल्लाका ११ वटै स्थानीय तहको उच्च भूभागहरुमा भारी हिमपात भएको छ । नौमूले गाउँपालिकाको तोली, बालुवाटार, सल्लेरी, चौराठा, भगवतीमाई गाउँपालिकाको रुम, जगनाथ, कट्टी, मेहेल्तोली, मन्घर, वडाभैरब, डुङ्गेश्वर गाउँपालिकाको लाँकुरी, अवलपराजुलको माथिल्लो भूभाग, गुराँस गाउँपालिकाको गुराँसे, लाँलीकाडा, पिलाडी, घोडाबास लगाएतका क्षेत्रमा भारी हिमपात भएको छ ।

यस्तै महाबु गाउँपालिकाको काशिकाँध, गैडाबाज, रानीवन, भैरबी गाउँपालिकाको कुसापानी, चामुण्डाविन्द्रासैनी नगरपालिकाको काफलमेला, चापागाउँ, ठाटीकाँध गाउँपालिकाको विशाला, हिमपाईला, बिजारे, तोलीजैसी, आठबीस नगरपालिकाको सिंहासैन, पिपलकोट र तिलेपाटा र दुल्लु नगरपालिकाको मालिकाक्षेत्रमा हिमपात भएको छ । नारायण नगरपालिकास्थित दैलेख जिल्ला सदरमुकामसहित भवानी तथा आसपासका क्षेत्रमा हिमपात भएको छ । जिल्ला सदरमुकाममा भने झण्डै १२ बर्षपछि सामान्य हिमपात भएको छ । यसअघि दैलेख जिल्ला सदरमुकाममा २०६६ सालमा भारी हिमपात भएको    थियो ।

गुराँसे क्षेत्रमा भारी हिमपात हुँदा यातायात सेवा अबरुद्ध भएको छ । दैलेख देखि गुराँसे हुँदै सुर्खेतसम्मको यायातात सेवा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहले बताए ।

हिउँ परेसँगै जिल्लाभर अत्याधिक चिसो बढेको छ । रातिदेखि नै हिमपात सुरु भएपछि जनजीवन कस्टकर बनेको छ । हिमपातले एक्कासी बढेको चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् । दैलेखसहित कर्णालीका कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा लगाएतका जिल्लामा समेत भारी हिमपात भएको छ ।

प्रतिक्रिया