नारायण नगरमा चुनावी घोषणाका कुराः ‘होलान कि पुरा, रहलान अधुरा’

नारायण नगरमा चुनावी घोषणाका कुराः ‘होलान कि पुरा, रहलान अधुरा’

प्रतिवद्धता एउटै, प्रस्तुत गर्ने शैली मात्रै फरक

दैलेख : आसन्न स्थानिय तहको निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ । राजनीतिक दल तथा उनिहरुले प्रतिस्पर्धामा उतारेका उम्मेदवारहरु भने आफ्ना घोषणापत्र सहित यतिबेला कार्यकर्ताको घर दैलोमा छन् । अधिकाँश पार्टीका घोषणापत्रहरुमा विकास निमार्णमा फड्को मार्ने, रोजगारीका अवसर सृजना गर्नेदेखि लिएर विविध कुराहरु समेटिएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गर्दै दैलेखको नारायण नगरपालिकामा नेकपा एमालले प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छ । यहाँ एमालेबाट नगरप्रमुखमा लोमन शर्मा र उपप्रमुखमा तप्ता कुमारी थापा खड्का प्रतिस्पर्धा गर्दैछन् । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा भ्रष्टाचार मुक्त नगरपालिका निर्माण गर्नेदेखि प्रत्येक वडाका २५ जना युवायुवतीलाई रोजगारी दिने कुरा उल्लेख छ ।

घोषणापत्रमार्फत मेयर र उपमेयरमा उम्मेदवारहरुले नारायण नगरपालिका भित्रका उपभोक्ताहरुले तिर्दै आएको खानेपानीको चर्को मूल्यलाई कटौती गरी न्यूनतम शुल्क मिनाहा गर्ने, न्यूनतम भन्दा माथिको शुल्क मात्र तिर्नपर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । खानेपानीका क्षेत्रमा बिशेषगरी भूमिहिन रातमाटे दलित बस्ती, नमुना बादी बस्ती लगायत अति विपन्न दलित परिवारको लागि खानेपानीको धारा जडान गर्न लाग्ने महसुल छुट गर्ने र सामग्रीहरू निःशुल्क प्रदान गर्ने उनिहरुको घोषणापत्रमा उल्लेख छ ।

यस्तै सुत्केरी र ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरू, अपाङ्गता भएका व्यक्ति र असहायलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, एकल पुरुषलाई यसै आर्थिक बर्षबाट मासिक भत्ताको सुरुवात गर्ने एमाले नारायण नगरका उम्मेदवारहरुको घोषणापत्रमा उल्लेख छ । नगरको बजार क्षेत्रमा मिनी स्टेडियम निर्माण, खेलकुद क्षेत्रको विकास गर्न प्रत्येक वडामा खेलकुद मैदान निर्माण, भारत लगायत वैदेशिक रोजगारीमा गएका युवाहरूलाई नगरभित्रै रोजगारी दिन रोजगार बैकको स्थापना गरी प्रत्येक वडामा २५ जनालाई रोजगारी प्रदान गरिने उनिहरुको प्रतिबद्धता छ ।

यसैगरी दैलेख सदरमुकामदेखि महावु, कालिकोट हुँदै रारा पुग्ने सडकलाई ३ वर्ष भित्र सम्पन्न गरी दैलेख सदरमुकामलाई कर्णाली प्रदेशकै प्रमुख व्यापारिक केन्द्रको रूपमा विकास गरिने प्रतिबद्धतामा उल्लेख छ । नगर देखि प्रत्येक वडाको केन्द्र सम्मका सडक २ वर्ष भित्र कालोपत्रे गर्ने र नगरवासीलाई यातायात सेवा प्रदान गर्न नगर बस सञ्चालन गर्नेसम्मका प्रतिबद्धताहरु घोषणापत्रमा उल्लेख छ ।

यता आशिंक गठबन्धनका रुपमा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखमा निर्मला कुमारी खड्का थापा र उपप्रमुखमा एकीकृत समावादी पार्टीका सावित्री मल्लले प्रतिस्पर्धा गर्दैछन् । शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगार सहित पुर्वाधार निर्माण र संंस्कृती तथा पर्यटन गठबन्धनको मुख्य प्राथमिकतामा छन् । नगरपालिकाका प्रत्येक वडाबाट उत्कृष्ट एक जनालाई उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने, शिक्षकलाई उचित तालिम तथा स्तरबृद्धिका लागी पहलकदमी, नगरपालिकामा सञ्चालित प्राविधिक शिक्षालयहरुको स्तरबृद्धि गर्ने लयायतका योजना सहित शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन काँग्रेस र एकीकृत समाजवादी पार्टीका उम्मेदवारको योजना छ ।

त्यस्तै निम्न आयस्तर भएका व्यक्ति र समुदायको पहिचान गरि उपचार सेवा र एम्बुलेन्स निशुल्क गर्ने, जिल्ला अस्पताललाई एक सय शैयामा स्तर बृद्धि गराउने प्रतिबद्धताका मुख्य मुद्धा हुन् ।

त्यो बाहेक तरकारी तथा फलफूल भण्डारणका लागी चिस्यान केन्द्र निर्माण गर्ने, महिलाहरुलाई सिप बिकास तथा क्षमता अभिबृद्धि तालिमहरुको व्यवस्थापन गरि अनुदान तथा ऋण उपलब्ध गराउने, नगर क्षेत्रभित्र खानेपानीको शुल्क घटाई एक घर एक धाराकोे उदेश्य पुरा गर्ने, दैलेख सदरमुकाम हुँदै महाबु जोड्ने सडकको स्तरबृद्धि तथा पुर्णता दिने लगायतका योजना प्रतिवद्धतामा उल्लेख छ ।

प्रतिबद्धतामा यसअघि नै नगरपालिकाले अघि बढाएको प्रसिद्ध तिर्थस्थल कोटिला (पञ्चकोशी ताल) सरोवर निर्माण, बिद्युत पहुँच नभएको ठाउँको पहिचान गरि बिद्युतिकरण, धार्मिक स्थल मठ मन्दिर तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन, उपयुक्त स्थानमा होमस्टे स्थापना, परम्परागत जात्रा तथा पर्वहरुको संरक्षण प्रवद्र्धन लगायतका बिषयहरु पनी उनका एजेण्डा बनेका छन् । साथै नगरपालिका भित्रका भुमिहिन समुदायलाई उचित स्थानमा जग्गाको प्रर्बन्ध गरिदिने पनि प्रतिबद्धतामा उल्लेख छ ।

निर्वाचनमा पतिस्पर्धा गर्ने सबै दल तथा उम्मेदवारहरु सबैका घोषणा पत्रमा उस्ता उस्तै कुराहरु समेटिएको पाईन्छ । आवश्यकताका आधारमा एजेण्डाको बिकास गर्नमा खप्पिस देखिएका यिनै पार्टी तथा उम्मेदवारहरुले निर्वाचनपछि भने आफ्ना एजेण्डा बिर्सीएलान की पुरा गर्ला ? त्यो भने निर्वाचनपछि देखिनेनै छ ।

 

प्रतिक्रिया