कर्णाली राजमार्ग : भनिन्छ, कर्णाली विकासको मेरुदण्ड, गरिन्छ उपेक्षा

कर्णाली राजमार्ग : भनिन्छ, कर्णाली विकासको मेरुदण्ड, गरिन्छ उपेक्षा

कर्णाली राजमार्ग छेउमा व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका टहरा, राजमार्गबाट देखिने कर्णाली नदि र करिडोर । तस्विर : सौजन्य भक्तबहादुर शाही ।

दैलेख : बर्खाको समय। साँघुरो सडक। जताततै हिलो र खाल्डाखुल्डी। ठाउँ–ठाउँमा पहिरो। कर्णालीको राजधानी वीरेन्द्रनगर (सुर्खेत) बाट जुम्ला जोड्छ, कर्णाली राजमार्गले। यो राजमार्ग सुर्खेतबाट दैलेख, कालीकोट हुँदै कर्णाली नदीको किनारैकिनार जुम्ला पुग्छ। प्रसिद्ध पर्यटकीयस्थल रारा जोड्ने प्रमुख मार्ग पनि यही नै हो। तर, यो राजमार्गको स्तरोन्तरी नहुँदा बर्सेनि भयानक दुर्घटना भइरहन्छन्। बस चढ्नु अघि हरेक कर्णालीवासीको मुटु काप्छ। भगवान् भरोसामा सडक यात्रा गर्न बाध्य छन्। त्यसैकारण, स्थानीयवासीले ‘मृत्युमार्ग’ भन्ने गरेका छन्।

२०६३ चैतमा कालीकोटको हुल्मादेखि सुर्खेतका लागि प्रस्थान गरेको बस दुर्घटनामा पर्यो। बसमा साहु, चालक र सहचालकबाहेक ४७ जना थिए। दैलेखको आठबिस नगरपालिकाको किटुबाट अघि बढ्न नपाउँदै यात्रुवाहक बसको टायरले सडकको लिक छोड्यो। बस कर्णाली नदीमा खस्यो। ४२ जनाले ज्यान गुमाए। जो कर्णाली राजमार्ग सञ्चालनमा आएयताकै सबैभन्दा ठूलो र भयानक दुर्घटना थियो। त्यो कहालीलाग्दो दुर्घटनापछि राजमार्गमा यात्रा गर्ने जो कोहीलाई झस्काउँछ।

दुर्घटनामा परेको ना३ख ५८६८ नम्बरको काँक्रेबिहार यातायात समितिका बसचालक थिए, नवीन भण्डारा। उनी दुर्घटनालाई यसरी सम्झन्छन्, ‘राजमार्गको अवस्था नाजुक थियो, साघुँरो सडक, जम्मै खाल्डाखुल्डी, कालीकोटको हुल्मदेखि निरन्तर अघि बढ्दै बिहान ८ बजे किटु नजिक पुग्यौं। मोडमा बाटो साघुँरो र चिप्लो थियो। बिस्तारै बसलाई अगाडि हाँक्न खोज्दै थिएँ। बसले लिक छोडेर दायाँ भागको टायर बाहिर गइसकेको थियो। ब्रेक हान्न प्रयास गरेँ। जति प्रयास गर्दा पनि भएन। बस सडकभन्दा बाहिर गइसकेको थियो।’

बस दुर्घटना हुनबाट जोगाउने प्रयास असफल भएकोमा उनी भन्छन्, ‘बस सडकबाट कर्णाली नदीमा खसेपछि मुटुले ठाउँ छोड्यो, त्यसपछि के–के भयो थाहा पाइँन्, बस दुर्घटनापछि कसरी बाँचे थाहा छैन। मलाई उद्धार गरेर कोहलपुर लैजाँदा केहीबेर होस खुलेछ, बस दुर्घटना भयो भन्दा फेरि बेहोस भएर ढले।’

कर्णाली राजमार्गमा दुर्घटनाको क्रम यतिमै सीमित रहेन। यात्रुवाहक सवारीसाधन दुर्घटना हुने क्रम बढिरहेको छ। २०६८ मंसिरमा कालीकोटको सेराबाडामा भएको दुर्घटनामा २८ जना यात्रुले ज्यान गुमाए। २०७१ मा  जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा १८ जनाको ज्यान गयो। त्यसबीचमा भएका दुर्घटनामा जुम्लाको गाडगडेनीमा १३, दैलेखको खिड्कीमा १४ र सुर्खेतको कल्याणकाँधमा १५ को मृत्यु भएको थियो।

गत असोजमा नेपालगन्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको थियो। अघिल्लो सातामात्रै कर्णाली राजमार्गमा पुनः बस दुर्घटना भयो। कालीकोटबाट सुर्खेत जाँदै गरेको बस दुर्घटनामा ४ जनाले ज्यान गुमाए। म १ ख ६६० नम्बरको बस दैलेखको आठबिस नगरपालिका–२ सिस्नेस्थित कर्णाली राजमार्गमा दुर्घटना परेको थियो। यी राजमार्ग सञ्चालनमा आएपछि भएका केही ठूला दुर्घटना हुन्।  स–साना दुर्घटनाहरू दैनिकजसो भइ नै रहन्छन्। यो राजमार्गमा भएका दुर्घटनामा अहिलेसम्म दुई सय बढी कर्णालीवासीले ज्यान गुमाइसकेका छन्।

राजमार्गले अहिले मृत्युमार्गको रूपमा उपनामसमेत पाएको छ। राज्यले सडक निर्माणमा लापरबाही गरेकै कारण कर्णालीवासीले अनाहकमा ज्यान फाल्नु परेको स्थानीयको भनाइ छ। कालीकोटका रामबहादुर बुढाले राजमार्गमा यात्रुहरू कष्टपूर्ण यात्रा गर्न बाध्य भएको बताए। ‘दुर्घटनाको जोखिम उच्च छ, राजमार्ग भनेर तोकिए पनि सडकको अवस्था बेहाल छ,’ उनले भने, ‘सडकको अवस्था दयनीय हुनुमा राजनीतिक नेतृत्वको कमजोरी छ। राजमार्गको स्तरोन्नति गर्नेभन्दा पनि नेताहरू पद र कुर्चीकै लागि लडाइँ गरिरहेका छन्।’ कालोपत्र गरिएको ठाउँ पनि एक वर्षमै भत्किने गरेको उनको भनाइ छ।

साँधुरो राजमार्ग भएका कारण दुर्घटनामा परेको ट्रकहरु । तस्विर सौजन्य : विशाल सुनार ।

साँघुरो र अप्ठ्यारो सडक, क्षमताभन्दा बढी यात्रु चढाउने, पुराना गाडी, ट्राफिक नियमको बेवास्ताले दुर्घटना हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोला बताउँछन्। ‘कर्णाली राजमार्गको भूगोग कठिन छ, त्यसमाथि सडक साँघुरो छ। मोडहरू धेरै छन्। त्यसले दुर्घटनाको जोखिम बढी छ,’ बाँस्तोलाले भने। सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु हुनु र सवारीसाधन तीव्र गतिमा चलाउनु दुर्घटनाको अर्को कारण रहेको एसएसपी बाँस्तोलाको भनाइ छ। ‘राजमार्गमा पुराना गाडीहरू चल्छन्, यात्रुवाहक सवारीसाधनले ट्राफिक प्रहरीलाई छलेर होस् या ट्राफिक नियम तोडेर क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटना भइरहेका छन्, अर्कोतर्फ राजमार्ग जीर्ण हुँदा दुर्घटना रोक्न चुनौती छ,’ बाँस्तोलाले भने।

कर्णाली राजमार्ग विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको हो। २०६३ चैत्र महिनाको ३० गते सञ्चालनमा आएको कर्णाली राजमार्गको लम्बाइ २ सय ३२ किलोमिटर छ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा शिलान्यास गरेको कर्णाली राजमार्गको निर्माण सशस्त्र द्वन्द्व र बजेट अभावको समस्या भोग्दै १५ वर्षपछि मात्र सकिएको थियो। चट्टानै चट्टानका कारण निर्माणमा समस्या भएपछि सरकारले नेपाली सेनालाई सडक निर्माणको जिम्मा लगाएको थियो। नेपाली सेनाले २०६३ चैत ३० गते ट्र्याक खोलेको सडकमा २०७२ मा ओटासिल प्रविधिको कालोपत्र गरिएको थियो। तर, अधिकांश ठाउँमा कालोपत्रे उप्किएको छ।

राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ। सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। सडक एक लेनको मात्र हुँदा पनि यात्रा जोखिमपूर्ण बनेको छ। दुर्घटना परेर बर्सेनि यात्रुले ज्यान गुमाउनु परेको छ। सुर्खेतको बांगेसिमलदेखि दैलेख हुँदै कालीकोटको दहीखोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ। राजमार्गअन्तर्गत दहीखोलादेखि जुम्ला खलंगासम्म सडक डिभिजन कार्यालय जुम्ला खलंगाले हेर्दै आएको छ। सडक डिभिजनमार्फत पटके मर्मत सम्भारका कामहरू हुँदै आएका छन्। तर राजमार्ग सुधार हुन सकेको छैन। अवस्था उस्तै छ।

सरकारले सुन्दैन कर्णालीको आवाज

कर्णाली राजमार्गको दुरवस्थाबारे संघ तथा प्रदेश सभाका सांसदहरूले आवाज उठाउँदै आएका छन्। तर, उनीहरूको आवाज सरकारले सुन्दैन। दैलेखबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद राजबहादुर बुढा, पार्वती विशुंकेलगायतले कर्णाली राजमार्गलाई स्तरोन्नति गर्न पटकपटक माग गर्दै आएका छन्। सांसद बुढाले संसद्मा भनेका छन्, ‘सुर्खेत जुम्ला सडकमा दुर्घटनामा परी सयौं नागरिकले ज्यान गुमाएका छन्। यस्तो सडकलाई सरकारले कर्णाली राजमार्गको नाम दिएको छ, यो मृत्यु मार्गलाई कहिले राजमार्गमा परिणत गर्ने हो ?’ कर्णाली राजमार्गलाई सरकारले उपेक्षा गरेको सांसद बुढाको भनाइ छ। घाइतेले समयमै उपचार पाउने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए।

साँघुरो र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छन्। राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे वर्ष दिनसम्म पनि टिक्दैन। नागरिक अगुवासमेत रहेका इन्जिनियर महेन्द्र उपाध्यायले कर्णाली राजमार्ग इन्जिनियरिङ मापदण्डअनुसार नै नभएको बताउँछन्। सडक एक लेनको मात्र हुँदा पनि यात्रा जोखिमपूर्ण बनेको उपाध्यायको भनाइ छ। ‘राजमार्ग एक लेनको छ, मोडहरू दुर्घटना बढाउने रिस्की खालका छन्, माटोको परीक्षण नभई खनिएका कारण पहिरो जाने समस्या उत्तिकै छ,’ उनले भने, ‘सडक फराकिलो बनाउन सकिने ठाउँहरू भए पनि त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन।’ सडकलाई कम्तीमा दुई लेनको बनाउनुपर्ने उनको माग छ।

कर्णाली राजमार्गमा गन्तव्यतर्फ जाँदै गरेका यात्रुवाहक जीपहरु । तस्विर : हिक्मतबहादुर नेपाली ।

राजमार्गमा खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उच्च रहेको सवारीचालक जीवन सुनारले बताए। पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कर्णाली राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको सुनारले बताए। ‘साँघुरो सडकका कारण गाडी क्रस गर्न पनि ब्याक गरेर साइड दिनुपर्ने बाध्यता छ’, उनले भने, ‘एक मोडबाट अर्को मोडमा गाडी देख्न सकिँदैन।’

ट्र्याक ओपन भएको डेढ दशक पुग्दा पनि सडकको अवस्था सुधार हुन नसकेको दुल्लु नगरपालिका–३ सियाँलाकी सुर्जा साँवदले बताइन्। ‘राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूले असाध्यै दुःख पाएका छन्, घरै छेउको राजमार्गलाई दिनहुँ नियाल्दै आएकी सुर्जा भन्छिन्, ‘सडक गुणस्तरीय र दिगो रूपमा स्तरोन्नति भए कर्णालीका जनताले सुख पाउँथे कि।’

कर्णाली राजमार्ग मृत्यु मार्गमा परिणत भइसकेको दैलेखका रूपलाल विश्वकर्मा बताउँछन्। ‘यही बाटो भएर हिँड्ने कर्णालीका दुई वटा मुख्यमन्त्री बन्नुभयो, तर राजमार्ग सुधार हुन सकेन। यही मार्ग भएर यात्रा गर्ने कर्णालीवासीहरू गन्तव्यमा नपुग्दै अकालमै ज्यान गुमाइरहेका छन्’, उनले भने। कर्णाली राजमार्गमा जोखिमपूर्ण यात्रा गर्ने यात्रुको कथा र व्यथा नागरिकका वियोगान्त र कर्णालीवासीको आवाज सुन्ने कोही नभएको उनको गुनासो छ। ‘सरकारले वास्तविक आवश्यकताको पहिचान गरेर सुर्खेत जुम्ला जोड्ने सडकलाई मृत्यु मार्ग नभई साँच्चिकै राजमार्ग बनाउनुपर्छ,’ उनले भने।

३ वर्षमा प्रदेशभर २६२ को मृत्यु

कर्णाली प्रदेशभर सडक दुर्घटनामा परी २ सय ६२ जनाले ज्यान गुमाएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार कर्णालीका १० जिल्लामा आव २०७६÷०७७ मा सडक दुर्घटनामा परी ९७ जनाको ज्यान गुमाए। आव ०७७/०७८ मा ९८ र चालू आवको ११ महिनामा ६७ जनाको सडक दुर्घटनामा मृत्यु भएको कार्यालयको तथ्यांकमा छ।  साँघुरो, जीर्ण, कच्ची सडक तथा सिट क्षमताभन्दा दोब्बर तेब्बर यात्रु राखिनु र पुराना गाडीका कारण पहाडी जिल्लामा दुर्घटना बढ्दै गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बाँस्तोलाले बताए।

प्रतिक्रिया