करार कर्मचारी निकालिएपछि…

करार कर्मचारी निकालिएपछि…

दैलेख : गुराँस गाउँपालिकाको असार २९ गते सम्पन्न गाउँसभाको १० औँ अभिवेशनले करार कर्मचारीको म्याद नथप्ने निर्णय ग¥यो । अधिवेशनको निर्णय नं. ८ अनुसार गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गतेबाट नविकरण नहुने उल्लेख छ । उक्त निर्णय विहिबार सार्वजनिक भयो । जागिर गुमाएका कर्मचारीहरु शुक्रवारबाट आन्दोलित बने । कर्मचारीको माग अनुसार गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी, उपाध्यक्ष शिवाकुमारी खड्का, प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापा, सहायक सिडियो गणेशप्रसाद कोइराला तथा आन्दोलित करार कर्मचारीका प्रतिनीधिहरु समस्या समाधानमा छलफल थाले । गाउँपालिकाबाहिर नाराबाजी भईरह्यो ।

छलफलको निस्कर्ष ननिस्कदै आन्दोलित कर्मचारीहरु उग्र बन्न थाले । कर्मचारीहरुको शान्तिपूर्ण आन्दोलनले झडपकै स्वरुप लियो । आन्दोलित कर्मचारीको उग्र बनेपछि प्रहरीले लाठी चार्ज ग¥यो । प्रहरीले लाठी चार्ज गरेपछि आन्दोलित कर्मचारीहरुले समेत ढुंगामुढा प्रहार गरेका थिए । गाउँपालिकाको विभिन्न भौतिक संरचनामा क्षती पुग्यो । अन्नतत् प्रहरीले गोली चलायो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नरेश विकले प्रहरीले तीन राउण्ड हवाई फायर मात्रै गरेको बताए । ‘हामीले धेरै सम्झाई बुझाई ग¥यो, तरपनि जनप्रतिनीधिमाथी आक्रमण हुने र गाउँपालिकामा तोडफोड हुने अवस्था आईसकेपछि हवाई फायर खोल्नुप¥यो,’ उनले भने ।

आन्दोलित कर्मचारीहरुले भने प्रहरीले गोली चलाएको बताउँछन् । आन्दोलनमा उत्रिएका श्यामसुन्दर खड्काले आफुहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले आन्दोलित कर्मचारीमाथी नै आक्रमण गरेको बताए । प्रहरीले गोली चलाउँदा आफुहरु भागेर ज्यान जोगाएको उनको भनाई छ । प्रहरीको गोली लागेर बखतबहादुर खत्री र भवानीप्रसाद भट्टराई घाइते भएका छन् । उनिहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको छ । दैलेखका डिएसपी भुवनेश्वरप्रसाद शाहले ६ जना नेपाल प्रहरी, दुई जना शसस्त्र प्रहरीसमेत घाइते भएको बताए । आन्दोलनमा सहभागीहरु उग्र बनेपछि प्रहरीले गोली चलाएको डीएसपी शाहले बताए ।


प्रहरीको गोली लागेर घाइते भएका आन्दोलित कर्मचारी । 

आन्दोलनमा राजनीति घुस्यो : गाउँपालिका

करार कर्मचारीहरुको शान्तिपूर्ण आन्दोलनलाई राजनीतिकरण गरिएको गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले बताए । कर्मचारीहरुले आफ्ना मागहरु विधिवत् ढंगबाट राखेको र कर्मचारीहरुको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर छलफल हुँदा हुँदैपनि आन्दोलनलाई राजनीतिकरण गरिएको उनको भनाई छ । ‘कर्मचारीहरुमो माग कसरी पुरा गर्न सकिन्छ भनेर छलफल भई सहमती भईसकेको अवस्थामा करार कर्मचारीहरुको मागलाई राजनीतिकरण गरि शान्तिपूर्ण वातावरणलाई थप उत्तेजित बनाईइयो, उनले भने ।

स्थानीय तह निर्वाचनको प्रतिसोध साध्न काँग्रेस दैलेखका सचिव एवं गाउँपालिकाका पूर्व अध्यक्ष खेमराज ओली, काँग्रेस पूर्व सभापति कृष्णकुमार विसी लगाएतको नेतृत्वमा पालिकाको सम्पती तोडफोड र अत्यावश्यक सेवालाई प्रभावित पारेको अध्यक्ष बिसीको भनाई छ । अध्यक्ष विसीले घटनामा संलग्न सबैलाई कानुन अनुसार कारबाही गरिने बताए ।

आन्दोलनमा उत्रिएका करार कर्मचारीहरूले गरेको ढुंगामुडा र कार्यालयमा गरिएको तोडफोडबाट पालिकाको भौतिक संरचनामा क्षति पुगेको छ । सो क्षति मर्मतका लागि करिब २० लाख बढी रकम लाग्ने वडा नं. ८ का वडाध्यक्ष एवं गाउँपालिका प्रवत्ता दीपेन्द्र ओलीले बताए । गाउँपालिकामा कार्यरत कर्मचारीको करार सम्झौता पालिकाको कार्यबोझ, राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता, सेवा करारमा नियुक्त कर्मचारीहरुको कार्य सम्पादन सन्तोषजनक नभएको र कर्मचारी समायोजन तथा लोकसेवा आयोगबाट समेत स्थायी कर्मचारीहरु सिफारिस भई रित्तः दरबन्दीमा स्थायी पदपुर्ती भईसकेको र केहि हुने क्रममा रहेका कारण नविकरण गर्न नसकिने निर्णय गरिएको प्रवत्ता ओलीले बताए ।

छानविन समिति गठन

गुराँस गाउँपालिकामा भएको घटनाको छानविन गर्न समिति गठन गरिएको छ । शनिवार सिडियो हरि प्याकुरेलको अध्यक्षमा बसेको सर्वदलिय बैठकले समिति गठन गरेको हो । घटनाको सत्यतथ्य छानविन गर्न दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालको संयोजकत्वमा पाँच सदस्यीयसमिति गठन गरिएको सिडियो प्याकुरेलले बताए । समितिमा निमित्त जिल्ला समन्वय अधिकारी, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलबहादुर चौधरी, पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा र जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भुपेन्द्र थापा सदस्य छन् ।

समितिले अनुसन्धान कार्यविधि निर्धारण गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउने उनले बताए । समितिले प्रतिवेदन दिएपछि सोही आधारमा कानूनी कारवाही हुने सिडियो प्याकुरेलको भनाई छ । समितिले घटनाको छानविन थालिसकेको सदस्य यज्ञराज थापाले बताए । आइतवार घाइतेहरुसँग भेट गरिएको उनले बताए । जिल्लाको गुराँससहित डुङ्गेश्वर र ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया