बेहाल स्कुल : डराई–डराई पढ्न जान्छन् बालबालिका

बेहाल स्कुल : डराई–डराई पढ्न जान्छन् बालबालिका

दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिका–५ चादेगडाकी भुमिका घर नजिकैको विद्यालयमा दुई कक्षामा अध्ययनरत छिन् । घरबाट विद्यालय जान रहर लाग्छ तर विद्यालय पुगेपछि उनको मनमा डर र त्रास सुरु हुन्छ, विद्यालयको भवन कतिखेर भत्किन्छ भनेर । उनि डराई–डराई विद्यालय जान्छिन् । उनी मात्र होइन सोही विद्यालयमा अध्यनरत सोबिना शाहीलाईपनि विद्यालय जाँदा विद्यालय भत्किने डरले पिरोलिरहन्छ । त्यहि कारण विद्यालय जान मन नलाग्ने गरेको उनी बताउँछन् । उनी मात्र होइन यहाँ अध्यनरत अधिकांश बालबालिकालाई डरत्रासकैै बिच विद्यालय जानुपर्ने र शिक्षकलाई पढाउनुपर्ने बाध्यता छ ।

विद्यालय भनेको विद्यार्थीका लागि ढुक्कसँग ज्ञान आर्जन गर्ने विद्याको मन्दिर भएपनि कालकोठरी जस्तो लाग्ने गरेको प्रधानाध्यापक कलम शाही बताउँछन् । ‘विद्यालयमा विद्यार्थीलाई कुनै डर भयरहित वातावरणमा पठन पाठन हुनुपर्छ त्यो राज्यको दायित्व हो, तर यहाँ पढ्ने विद्यार्थी त्रासविच पढिरहेका छन् जसका कारण उनीहरुको पढाइमा असर गरिरहेको छ,’ उनले भने । बालविकास र कक्षा एकको अध्ययन गर्ने भवन पछाडीबाट भत्किएको छ । पानी परेको बेला पानी सिधै भित्र जाने गरेको प्रधानाध्यापक शाही बताउँछन् ।

चादेगडामा रहेको देउती आधारभुत विद्यालय बेहाल अवस्थामा छ । उक्त विद्यालय विद्यार्थीहरुका लागि शिक्षा आर्जन गर्ने नभई डर र भयको थलो बन्दै गएको छ । कारण विद्यालयको छाना भत्किने डर । अहिले पनि विद्यार्थीहरु ढुक्क मनले बसेर पढ्न पाउँदैनन् । कारण भत्किन लागेकोे भवन ।

विद्यालयको भवन भत्किने डरले आफ्ना छोराछोरीलाई घरबाट विद्यालय पठाउनै चिन्ता लाग्ने गरेको अभिभावक कल्पना शाही बताउँछन् । ‘विद्यालयको अवस्था देख्दा विद्यालय गएका बेला कुन बेला अप्रिय घटना घटेको सुनिन्छ भन्ने कुराले झस्काइरहन्छ । कतै केही भइपो हाल्यो कि भनेर मन ढुकढुक हुन्छ,’ उनले भनिन्, ‘विद्यालय नपठाउँ भने घरमा पढ्दैनन् ।’

विद्यालयको छाना एक छेउबाट भत्केको छ भने पानी परेको दिन कोठामा पानीको खाल बन्छ । भवन अभावका कारण पानीको खालमै बेन्च राखेर पढाउनु परेको विद्यालयका प्रधानाध्यापक कलम शाहीको भनाई छ । भवनको लागि गाउँपालिकासँग पटक–पटक हारगुहार गरेपनि कसैले हाम्रो कुरा सुनेनन्,’ उनले भने, ‘राम्रो भवन नभएकाले जोखिम मोलेर पढाउदै आएका छौँ, कुन दिन के हुन्छ थाहा छैन ।’

उक्त विद्यालय २०६४ सालमा स्थानीयको श्रमदानबाट स्थापना भएर २०६७/६८ सालमा अनुमति पाएको थियो । यतिका समयसम्म सरकारले विद्यालयका लागि बजेट नदिएको स्थानीयको गुनासो छ । बालबिकास देखि तीन कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा ४५ जना विद्यार्थी अध्यनरत रहेको प्रधानाध्यापक शाहीले बताए । उनका अनुसार बाल विकासमा १४ जना, एक कक्षामा १० जना, दुइ कक्षामा ६ जना र तीन कक्षामा ५ जना विद्यार्थी गरी जम्मा ४५ जना रहेको उनको भनाई छ ।

पानी परे विद्यालय बन्द गरेर घर पठाउनुपर्छ

जीर्ण रहेको विद्यालय भवनमा सरकारको ध्यान नजाँदा पानी पर्ने बित्तिकै विद्यालय बन्द गरेर विद्यार्थीलाई घर पठाउनुपर्ने बाध्यता रहेको छ । जसका कारण विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको छ । एउटा भवनको पछाडीबाट भत्केको र अन्य भवन पनि जिर्ण रहेका छन् । भवनको अवस्था जिर्ण हुँदा दुई र तीन कक्षालाई एउटै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक शाहीले बताए । विद्यालयका ठाउँ–ठाउँमा भत्केको छ,’ उनले भने, ‘स्थानीय सरकारसँग हारगुहार ग¥यौँ, निवेदनसमेत लेखेर पठायौँ हाम्रो केही लागेन उस्तै छ ।’

यता ठाटीकाँध गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नेत्र बहादुर थापा अहिले पालिकामा बजेट नभएकाले केही गर्न नसकिएको बताउँछन् । पालिकामा शिक्षाको लागि हामीसँग बजेट छैन,’ उनले भने, ‘शैक्षिक सुधारको तयारीमा छौँ, व्यक्तिगत र सामुहिक रुपमा अनुगमनमा गएर हेरेर अघि बढ्ने निर्णय भएको छ । विद्यालयको भवन भत्केको विषयमा छलफल र कुनै पनि निर्णय भएको छैन । हामीकहाँ निवेदन पनि आएको छैन ।’

प्रतिक्रिया