राउटेले मनाए संविधान दिवस

राउटेले मनाए संविधान दिवस

दैलेख–संविधान दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य सहर वीरेन्द्रनगरको खुल्ला मञ्चमा विशेष समारोह आयोजना गरियो । समारोहमा प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी लगायत अन्य मन्त्रीहरू, प्रदेश सांसद, राजनीतिक दलका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, विद्यार्थी लगायत विभिन्न पेशा व्यवसायका संस्था तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
उक्त समारोहमा यीनका अलवा आफूलाई जंगलको राजा भनेर चिनाउनेहरू पनि गणतन्त्र नेपालको संविधान दिवस मनाउन आएका थिए । उनीहरू थिए राउटे समुदायका प्रतिनिधिहरू ।

फिरन्ते जाति भनेर पनि चिनिने राउटेहरू संविधान दिवसमा आफ्नो परम्परागत सांस्कृतिक झाँकी सहित सहभागी भएका थिए ।दैलेखको गुराँस गाउँपालिका–८ झ्याजेमा बसोबास गर्दै आएका राउटे समुदायले पहिलो पटक गुरासँ गाउँपालिका र समाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको पहलमा संविधान दिवस मनाएका हुन् । कर्णालीको राजधानी विरेन्द्रनगर सुर्खेतमा तेस्रो संविधान दिवसमा सहभागि हुन वीरेन्द्रनगर सुर्खेत पुगेका उनीहरूले उभिएर मौन धारण पनि गरेका थिए ।

हाल गुरासँ गाउँपालिका र सोसेक दैलेखको पहलमा गुराँस गाउँपालिका –८ झ्याजेस्थित राउटे वस्तिमा राउटे परियोजना नै लागु भएको छ । जस अन्तरगत राउटे वस्तिमा स्वास्थ्य उपचारका लागि एक जना डाक्टर बस्छन् । दुई जना सहयोगीहरूले उनीहरूलाई सरसफाइ र जीवनशैैली बदल्न आवश्यक सल्लाह दिने गर्छन् । उनीहरू अहिले हप्तामा कपडा धुने, नुहाउने, मोबाइल प्रयोग गर्ने, खानपानमा ध्यान दिन थालेको सोसेक दैलेखका अध्यक्ष हिरासिंह थापाले बताए ।
समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघरसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो साथमा राउटेहरूको पनि झाँकीको प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया