दैलेखको जनसंख्या घट्यो

दैलेखको जनसंख्या घट्यो

दैलेख : दैलेख जिल्लाको जनसंख्या २ लाख ५३ हजार ३ सय १९ मा झरेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ प्रारम्भिक नतिजा अनुसार दैलेख जिल्लाको जनसंख्या २ लाख ५३ हजार ३ सय १९ मा झरेको हो । यसअघि विस २०६८ सालमा गरिएको जनगणनामा दैलेखको जनसंख्या २ लाख ६१ हजार ७ सय ७० थियो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसारको जनसंख्या २०६८ सालको जनगणना अनुसारको जिल्लाको जनसंख्यामा ८ हजार ४ सय ५१ कम हो ।

प्रारम्भिक नतिजा अनुसार दैलेखमा पुरुषको जनसंख्या १ लाख २१ हजार ६ सय ७७ छ भने महिलाको जनसंख्या १ लाख ३१ हजार ६ सय ४४ छ । तथ्यांक अनुसार जिल्लाका ४८ हजार ७ सय ७६ घरधुरीमा जनगणना गरिएको विभागले जनाएको छ । जिल्लामा परिवार संख्या ५५ हजार ७ सय ८ छ । जिल्लाको लैंगिक अनुपात ९२.४३ छ । विभागका अनुसार जनघनत्व १६९ जना प्रतिवर्गकिलोमिटर छ । जिल्लामा परिवारको औषत आकार ४.५५ छ । जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । प्रारम्भिक तथ्यांक अनुसार जिल्लाको बार्षिक जनसंख्या बृद्धिदर–०.३१ छ ।

कुन स्थानीय तहको जनसंख्या कति ?

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ प्रारम्भिक नतिजा अनुसार दैलेखका ११ वटा स्थानीय तह मध्ये जिल्लाको दुल्लु नगरपालिकाको जनसंख्या सबै भन्दा धेरै छ । नतिजा अनुसार दुल्लु नगरपालिकाको जनसंख्या १८ हजार ५ सय ६ पुरुष र २१ हजार ७६ महिला गरी ३९ हजार ५ सय ८२ छ ।

यस्तै आठबीस नगरपालिकाको जनसंख्या १५ हजार ५सय ६५ पुरुष र १६ हजार २ सय ७४ गरी ३१ हजार ८ सय ३९ छ । भगवतीमाई गाउँपालिकाको १८ हजार ३ सय ६६, भैरबी गाउँपालिकाको १७ हजार ७ सय ८१, चामुण्डाविन्द्रासैनी नगरपालिकाको २६ हजार ५ सय ७५, डुङ्गेश्वर गाउँपालिकाको जनसंख्या १४ हजार ५ सय ९७ छ ।

प्रारम्भिक नतिजा अनुसार गुराँस गाउँपालिकाको २१ हजार २ सय ७८, महाबु गाउँपालिकाको १८ हजार ३७, नारायण नगरपालिकाको २५ हजार ८ सय ३, नौमूले गाउँपालिकाको २० हजार ५ सय ८९ र ठाटीकाँध गाउँपालिकाको जनसंख्या १८ हजार ६ सय ६६ छ ।

 

प्रतिक्रिया