महामुखियाको परिवारलाई सहयोग

महामुखियाको परिवारलाई सहयोग

दैलेख (ज्वाला सन्देश) : कर्णालीमा फिरन्ते जीवनयापन गर्दै आएको लोपोन्मुख राउटे मुखियाको परिवारलाई सहयोग गरिएको छ । माघ ५ गते छोरा ३९ वर्षिय नारायण शाहीलाई गुमाएका महामुखिया शाहीको परिवारलाई खाद्यान्न र लत्ता कपडा सहयोग गरिएको हो । अन्नपूर्ण पोस्ट्का ‘क्रियटिभ एडिटर’ रामकृष्ण रानाले उक्त सहयोग गरेका हुन् । क्रियटिभ एडिटर रानाको सहयोगमा शुक्रवार बस्तीमै पुगेर सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

महामुखियाको परिवारलाई राउटे समुदायले छाप्रो छाउन प्रयोग गर्ने कपडाको पाल, बल्यांकेट सहयोग उपलब्ध गराईएको हो । महामुखिया महिनबहादुरको पत्नि र दुई बुहारीका लागि पछ्यौरा र लुंगीको कपडा उपलब्ध गराईएको छ । यस्तै खाद्यान्नहरु चामल, दाल, खुर्सानी र नुन उपलब्ध गराईएको हो । छोरा गुमाएका महामुखिया शाहीको परिवारलाई चिसोको समयमा दैनिक जीवनयापनमा सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग उपलब्ध गराएको अन्नपूर्ण पोस्ट्का ‘क्रियटिभ एडिटर’ रानाले बताए ।

महामुखिया शाहीका छोरा नारायण गत पुष १९ गते राती सुतिरहेको बेला आगोले जलेर गम्भिर घाइते भएका थिए । २० गते नारायणलाई उद्धार गरेर उपचारका लागि दैलेख अस्पतालमा ल्याईएको थियो । सोहिदिन प्राथमिक उपचारपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । प्रदेश अस्पतालमा पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो ।

राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयूमा राखेर उपचार भईरहेको थियो । निको हुने छाँट नदेखेपछि नारायणका बुबा महामुखिया महिनबहादुरले घरतर्फ हिडाएका थिए । ट्रमा सेन्टरबाट एम्बुलेन्समा राखेर दैलेखतर्फ ल्याउँदै गर्दा उनको बीचबाटोमै निधन भएको थियो । महामुखिया शाहीले गतवर्षमात्रै छोरा शिवराजलाई गुमाएका थिए । हाल महामुखिया दम्पति महिनबहादुर र दुनि सन्तान विहिन बनेका छन् । दुई बुहारी उनिहरुको साथमा छन् । दैलेखको नारायण नगरपालिका–९ चुप्रास्थित लोहोरे खोला किनारमा उनिहरुको बसोबास छ । उनिहरुको जनसंख्या १४२ जना छ ।

प्रतिक्रिया